१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जम्मुमा सेलायो, प्रेमको बुलेट बाइक चढ्ने सपना

भारतको जम्मुमा हमलामा परि मृत्यु भएको तुलसीपुरका प्रेम केसी।

२ वर्षदेखि भारत पाकिस्तान सीमा क्षेत्र जम्मुमा खटिएका भारतीय सेना दाङको तुलसीपुरका प्रेम केसी मंसिर २१ गते (डिसेम्बर ६ तारेख)मा घर आउने तयारीमा थिए। १० महिनाअघि विदामा आएर फर्किएका उनले यसपालि घर आउँदा नयाँ मोटरसाइकल (बुलेट) चढ्ने सपना बुनेका थिए। त्यसका लागि उनले उक्त बाईक बुक गर्न परिवारलाई अनुरोध समेत गरे परिवारले मंसिर ९ गते प्रेमकै लागि उक्त मोटरसाइकल खरिद गरिदिए।

घरमा आएर बुलेट मोटरसाइकल चढ्ने प्रेमको सपना भने जम्मुमै खरानी बन्यो। मोटरसाइकल किनेको तीन दिनपछि उनको जम्मुमा आतंककारी हमलामा परि निधन भयो। ‘घरमा भएको पल्सर मोटरसाइकल बेचेर बुलेट मोटरसाइकल चढ्ने हो भनेको थियो र उसले भने अनुसार उक्त मोटरसाइकल किनेर ल्याइदिएको थिएँ,’ उनका बाबु लालबहादुरले भने, ‘बाइकको फोटो खिचेर पनि पठाइदिएँ, तर छोराले बाइक चढ्न नपाएरै संसार छाड्नुप-याे।’

११ गते बेलुका प्रेमको परिवारका सदस्यसंग भिडियो संवाद भएको थियो। उनले २१ गते (६ तारेख)मा आफू घर आउने खवर सुनाएर परिवारलाई खुसी बनाएका थिए। बुलेट मोटरसाइकल खरिद गर्न लगाएका प्रेमको भविष्यको ईच्छा भने कार खरिद गर्ने थियो। उनले ११ गतेको भिडियो संवादमा परिवारका सदस्यलाई घरको गेट फराकिलो पार्न सुझाएका थिए। ‘अब गाडी किन्ने हो, सानो गेटमा गाडी छिर्दैन,’ उनको भनाइ उदृत गर्दै उनका बाबु लालबहादुरले भने। तर अर्को दिन बिहान साढे ५ बजे उनको ड्युटिमा खटिएका बेला गोली लागी मृत्यु भयो।

१२ गतेको बिहान करिब ५ बजे प्रेम खटिएको पोष्टमा आक्रमण सुरु भयो। ड्युटीमा खटिएका प्रेम आक्रमणकारीको निशानामा परे। उक्त आक्रमणमा प्रेम र अर्का एकजनाको मृत्यु भएको थियो।

२०६५ मा भारतीय सेनामा भर्ना भएका प्रेम यसअघि कस्मीरमा थिए। उनी त्यहाँबाट सरुवा भएर जम्मु खटिएको २ वर्ष पुगेको थियो। यो बीचमा प्रेमले दोहोरो भिडन्त हुने गरेका खबर सुनाइरहन्थे। ‘दोहोरो भिडन्त भइराख्छ भनेर छोराले सुनाउँथ्यो,’ लालबहादुरले भने, ‘छोरालाई केही भइहाल्छ कि भन्ने डरले सताइरहन्थ्यो।’ तर प्रेमले आफूलाई केही नहुने भन्दै परिवारलाई सम्झाउँथे।

१२ गतेको बिहान पनि प्रेम खटिएको पोष्टमा गोलाबारी भएको रहेन्छ। अन्य पोष्टतिर भने बिहान २ बजेदेखिनै दोहोरो भिडन्त चलिरहेको थियो। बिहान ५ बजे प्रेम बसेको पोष्टमा पनि आक्रमण सुरु भयो। उनी आक्रमणकारीको निशानामा परे। उनीसहित दुईजनाको त्यहीँ निधन भयो। ‘त्यहाँ राति दुई बजेदेखीनै गोली चल्न सुरु भएको रहेछ, तर मेरो छोरा भएको पोष्टमा सुरुमा गोली हानेका रहेनछन्,’ लालबहादुरले भने, ‘बिहान पाँच बजेतिर छोरा बसेको पोष्टतिर पनि हानेछन्, त्यहीँ बेला प्रेम र अर्का एकजनालाई गोली लागेछ।’

भारतका असुरक्षित मानिएका कस्मीर पछि जम्मु सरुवा भएका प्रेमको पल्टन जम्मुमा खटिने अवधि दुई महिना थियो। त्यसपछि उनको पल्टन पञ्जाव सर्ने भनेर प्रेमले सुनाइरहन्थे। ‘दुई महिनापछि पञ्जाव सर्ने भनेर खबर सुनाउँथ्यो, खुसी लाग्थ्यो,’ लालबहादुरले भने, ‘तर त्यहीँ दुई महिना पनि अपराधिहरूले बाँच्न दिएनन्।’ दाङको तुलसीपुर– ९ बेलुवामा प्रेमका पत्नी ८ वर्षीया छोरी र ४ वर्षीय छोरा छन्। प्रेमको आइतबार तुलसीपुरमा दाहसंस्कार गरिएको छ।

प्रकाशित: १६ मंसिर २०७७ ०३:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App