coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

जुम्लामा ९६ जनाको परीक्षण गर्दा ५१ मा कोरोना संक्रमण

जुम्लाको हिमा गाउँपालिकाका ९६ जनामा कोरोना परीक्षण गर्दा ५१ जनाको रिपोर्ट पोजेटिभ आएको छ। बिहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणका क्रममा ५१ जना कोरोना पोजेटिभ देखिएका हुन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लेले समुदायमा गरिएको परीक्षणका क्रममा एकै पटक धेरै संख्यामा कोरोना संक्रमित फेला परेको कर्णालीमा यो पहिलो घटना हो।  

‘दुई दिनको अवधिमा एउटै गाउँपालिकाका ५९ जना संक्रमित फेला परेका छन्’ रजिष्टार काफ्लेले भने, ‘समुदायस्तरमा कोरोना फैलिसकेको यसले पुष्टि गर्छ।’ उनले स्थानीय जात्रा र मेलामा सहभागी भएकाहरुको परीक्षण गरिएको बताए।

‘समुदायमा कोरोनाको अवस्था बुझ्नका लागि जात्रा र मेलामा सहभागी भएकाहरुको परीक्षण गरेका थियौ्रं,’ उनले भने, ‘यति धेरै संख्यामा एकै पटक कोरोना संक्रमित फेला पर्छन् भन्ने सोचेका थिएनौं।’ उनले कोरोना संक्रमितहरुको सम्पर्कमा रहेकासँगै घर–घरमा चिकित्सकहरु पठाएर स्वाव संकलन सुरु गरिने बताए।

‘स्थिति नियन्त्रणबाहिर जाने अवस्था आइसक्यो,’ उनले भने, ‘एकै पटक धेरै संख्यामा कोरोना संक्रमित फेला पर्दा उनीहरुका लागि आइसोलेसन बेड पाउन पनि समस्या हुने अवस्था आएको छ।’ जुम्लामा एक सय ६० जना क्षमताको आइसोलेसन बेड छ।  

गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, व्यापारी सबैमा कोरोना देखिएको बताए। वडा नं. ३ को जोगीबाडा र वडा नं. ५ को भुगोलपाटामा कोरोना संक्रमितको संख्या धेरै देखिएको उनले बताए।

‘गाउँमा स्थिति भयावह बन्दै गएको छ,’ उनले भने, ‘कसरी नियन्त्रण गर्ने हामीले सोच्नै सकेका छैनौं।’ बिहीबार फेला परेका ५१ जना कोरोना संक्रमित मध्ये पाँच जना सुरक्षाकर्मी, आठ जना कर्मचारी, पाँच जना ब्यापारी, वडाध्यक्षसहित केही जनप्रतिनिधि र अरु स्थानीय छन्।

 

 

प्रकाशित: ५ भाद्र २०७७ ०६:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App