प्रतिष्ठित संगीतकार, गायक प्राज्ञ शान्तिराम राईको एकल सांगीतिक कार्यक्रम राजधानीको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लवको सगरमाथा हलमा हालै भव्य रूपमा भएको छ।
कार्यक्रममा आयोजकको तर्फबाट गायक रुपकुमार राईले उपस्थित सबैलाई र सहयोगीहरूलाई स्वागत र धन्यवाद मन्तव्य राखेका थिए।
त्यस्तै संगीतकार महेश खड्काले रुद्राक्षको माला जडित श्रीपेजको ताज र पुष्पगुच्छा सहित प्रतिष्ठित संगीतकार शान्तिराम राईलाई संगीत सिर्जनाका संगीत महाराजाको उपाधि दिएर सम्मान अर्पिएका थिए।
आफ्नो पहिलो संगीत ‘तिमीतारे भिर म त लहरा’ सुनाएर कार्यक्रमको सुरुआत गरेका शान्तिराम राईले आठ गीत गाएका थिए। लाेकप्रिय गायिका स्मिता प्रधानले उनलाई साथ दिएकी थिइन्। कार्यक्रम अवधिभर विभिन्न कालखण्डका प्रतिनिधि २१ वटा कालजयी अमर संगीतहरु सुनाइएको थियो।
प्रसिद्ध गायकगायिकाहरू शम्भु राई, उदय सोताङ, मनिला सोताङ, सत्यकला राई, रोशन राई, कन्काइष्ट राई, रुपकुमार राई, बेनुका राई, अशोक मुकारुङ हुँदै पछिल्लो पुस्ताकी लोकप्रिय गायिका जुनु प्रसाइँ र मनमाबी राईले शान्तिराम राईका सदाबहार संगीतहरू गाएर कार्यक्रम भव्य बनाउन मद्दत गरेका थिए।
बिनुशा राई, एलिना राई र एलिना उदाशले सबै गीतमा कोरस गाएका थिए। नेपाल एयरलाइन्सको मुख्य प्रायोजन र प्याब्सन काठमाडौंको सहकार्यमा दर्जनौं देश तथा विदेशी संघसंस्था, व्यक्ति र स्थानिय सरकारहरू दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका सहित डेढ दर्जन गाउँपालिकाको साथ रहेको कार्यक्रमलाई खोटाङ कलाकार समाज काठमाडौंले आयोजना गरेको हो।
प्रकाशित: १४ माघ २०८२ ०८:१७ बुधबार





