१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

विराटनगरमा फैलिएको महामारीको अन्तर्य

सीमाक्षेत्रमा चल्ने तस्करीधन्दा निरन्तर चलेकै छ। उद्योगमा काम गर्न आउने भारतीय मजदुरको अनियन्त्रित हिँडडुल रोकिएको छैन। दैनिक सयौंको संख्यामा भारतबाट भित्रने यातायातकर्मी सुरक्षा सतर्कताबिनै नेपालका गाउँसहर चहारिरहेका छन्। आश्चर्य के छ भने तीनवटै तहका सरकार यी सबै दृश्यका लाचार दर्शक बनेका छन्।  

प्रदेश १ को राजधानी विराटनगर र आसपासका क्षेत्रमा कोरोना संक्रमण दर भयावह बन्नुका मुख्य कारण यिनै हुन्। भारतबाट बेरोकटोक भित्रिएकालाई बेलैमा परीक्षणको दायरामा ल्याउने, क्वारेन्टिनमा लैजाने उपाय अपनाउने विकल्पतिर ध्यान नै गएन। फलतः संक्रमण तीव्र हुन पुग्यो। यो काम गर्ने जिम्मेवारी लिएको प्रदेश सरकार भने प्रहरीलाई दोष दिएर पन्छिन खोजिरहेको छ।  

‘सीमाक्षेत्रमा कडाइ गरिएको’ सरकारको तयारी अभिव्यक्तिभन्दा विल्कुल फरक दृश्य सीमामा छ। स्थानीयका अनुसार सीमाक्षेत्रका गतिविधिले मुलुक पहिले झैं सामान्य अवस्थामा रहेको झल्को दिन्छ। झापा काँकडभिट्टाका हरि तिम्सिना ह्ुन् अथवा विराटनगर रानीका जगदिश साह, उनीहरूले सीमाक्षेत्रमा देखेको दृश्यले सरकारले भनेको ‘कडाइ’ को धज्जी उडाइरहेका छन्। यसका साक्षी उनीहरू निरूपाय छन्।  

‘सीमामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति छ तर हरेक रात सामान ओसारपसार निर्वाध चलेको छ,’ सत्तारुढ नेकपा मेचीनगरका नेतासमेत रहेका झापाका हरि तिम्सिना भन्छन्, ‘यसले सीमाक्षेत्रमा कडाइ छ, सरकारी निकाय गम्भीर छन् भनेर कसरी पत्याउनु ?’ उनको जस्तै तितो अनुभूति विराटनगरका जगदिश साहको पनि छ। ‘माल बोक्ने गाडीमा उद्योगको मजदुर ओसारेको हामीले देखेका हौं,’ उनले भने, ‘प्रहरीले नदेखेको हो कि देखे पनि नदेखे जस्तो गरेको कुरो बुझिएन।’  

‘सीमामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति छ तर हरेक रात सामान ओसारपसार निर्वाध चलेको छ । यसले सीमाक्षेत्रमा कडाइ छ, सरकारी निकाय गम्भीर छन् भनेर कसरी पत्याउनु ?

अत्यधिक संक्रमण रहेका भारतीय राज्य बिहार र पश्चिम बंगालबाट हुने निस्फिक्री आउजाउले प्रदेश १ मा कोरोनाको फैलावट समुदायसम्म तीव्र पारेको छ। भारतीय मजदुर ल्याएर सुरक्षा मापदण्डबिनै उद्योग सञ्चालन गरेको विराटनगरको ठूलो उद्योगमध्येको मानिने आरती स्ट्रिप्स प्रालिमा ५१ जना कर्मचारी र कामदारलाई कोरोना संक्रमण देखिएको छ। सुरुवातामा २ जना मजदुरमा कोरोना देखिएपछि उद्योग शिलबन्दी गरेर अन्य मजदुरलाई क्वारेन्टिनमा राख्नुपर्ने भए पनि जबरजस्ती उद्योग सञ्चालन गर्दा अन्य मजदुरमा पनि कोरोना mैलियो। यही उद्योगका दुईजना संक्रमित कामदार फरार छन्। यो अर्को चिन्ताको विषय बनेको स्वास्थ्यकर्मी बताउँछन्। विराटनगर मात्रै होइन, कटहरी, रंगेली जस्ता विभिन्न उद्योगधन्दा भएका मोरङका अन्यत्र पनि भारतीय मजदुर छ्याप्छ्याप्ती छन्। झापाका भद्रपुर, मेचीनगर क्षेत्रका उद्योगमा भारतीय मजदुरकै बाहुल्य छ, जहाँ अहिले पनि काम निर्वाध चलिरहेको छ।  

प्रदेश सरकारका उच्च तहका अधिकारी, जनस्वास्थ्य विज्ञ, चिकित्सक र जनप्रतिनिधिको यतिबेलाको साझा निष्कर्ष सीमामा नियन्त्रण गर्न नसक्दा नै भयावह अवस्था आएको हो भन्ने छ। ‘हामीले बोर्डरमा जति कडा गर्नुपर्ने हो गरेनौं,’ प्रदेश सरकारका एक उच्च अधिकारी भन्छन् ‘तर, यसमा प्रदेशको दोष छैन। केन्द्रको प्रहरीले यसमा बढी जिम्मेवार हुनुपथ्र्यो।’ उनीहरू सबै यस्तो जटिल बेलामा यो कुरा सुनाउँदैछन् कि, प्रदेशमा संक्रमित राख्ने आइसोलेसन बेड अभाव पेचिलो बन्दैछ। कोरोना नियन्त्रणको मुख्य अस्त्र मानिएको ‘कन्ट्याक्ट ट्रेसिङ’ नै लगभग असम्भव बनेको चिकित्सकहरू बताइरहेका छन्।  

‘सीमामा भनेजस्तो सकर्तकता नहुँदा यो अवस्था आयो,’ जनस्वास्थ्य विज्ञ डा. बालकृष्ण साह भन्छन्, ‘अनियन्त्रित आउजाउ चल्यो। आन्तरिक रूपमा पनि उत्तिकै भीड र आवागमन भयो, यसले समुदायसम्म यसरी भाइरस फैलायो कि अब कन्ट्याक्ट ट्रेसिङ नै असम्भव जस्तो भइसक्यो।’ उनका अनुसार पोजिटिभ रिपोर्ट आएकाहरूले तरकारी बजार चहारेका छन्। परिवारसँग, नातेदारसँग भोजभतेर भ्याएका छन्। चिकित्सकहरू धमाधम संक्रमणमा पर्दैछन्। ‘अब कहाँ जाने टे«ेस गर्न ?’, मोरङ सहकारी अस्पतालका चिकित्सकसमेत रहेका उनी भन्छन्, ‘बेलैमा क्वारेन्टिनको प्रबन्ध गरेको र ट्रेस गरेको भए यो अवस्था नआउन सक्थ्यो।’  

प्रदेश १ मा कोरोना संक्रमण दर उच्च छ। शुक्रबार मात्रै ९५ जना थपिएका छन्। हालसम्म १ हजार ८ सय २१ जना संक्रमित भइसकेका छन्। त्यसमा पनि विराटनगरमा सबैभन्दा धेरै संक्रमण दर छ। विराटनगरमा मात्रै हालसम्म ६ जनाको ज्यान गइसकेको छ। प्रदेश २ का ३ सहित प्रदेश १ मा कूल १२ जनाले ज्यान गुमाइसकेका छन्। समुदाय तहमा देखिएको संक्रमणले अवस्था यस्तो भएको छ कि सयभन्दा धेरै संक्रमित अझै पनि घरैमा छन्।  

विराटनगर महानगर प्रमुख भीम पराजुलीको अनुभवमा सहरमा क्षेत्रमा महामारी झन्झन् फैलिनुको मुख्य कारण नै सीमामा हुन नसकेको कडाइ हो। ‘आवागमन कहिल्यै कडा भएन,’ उनले भने ‘अर्कातिर आइसिपीमा दैनिक सयौंको संख्यामा भारतबाट आउने गाडी र तिनका मजदुर कुनाकुनासम्म पुगे। अहिले यस्तो अवस्था आएको छ।’ चिकित्सकहरूका अनुसार त स्वास्थ्य सेवा लिन पनि भारतीय साउन ८ यता ठूलो संख्यामा नेपाल आएका छन्। तर त्यही समयमा पनि आवतजावत रोकिएको सरकारी दाबी आइरहेकै थियो। सर्वसाधारण, जनस्वास्थ्य विज्ञ, सरकारी अधिकारी र जनप्रतिनिधिले सीमाक्षेत्रमा भएको लापरबाहीपूर्ण व्यवहारलाई कारक माने पनि नेपाल प्रहरी यो स्वीकार गर्दैन। 

प्रकाशित: ३१ श्रावण २०७७ ०२:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App