१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

निर्मला हत्या प्रकरण : एसपी बिष्टलगायत ८ प्रहरीलाई सफाइ

कंचनपुर भिमदत्तपन्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया निर्मलालाई बलत्कारपछि हत्या गरेको प्रकरणमा यातनाविरुद्धको कसुर र प्रमाण नष्ट गरेको भन्दै सार्वजनिक न्यायविरुद्धको कसुरको मुद्दामा तत्कालिन प्रहरी उपरिक्षक डिल्ली बिष्ट लगायतका ८ जना प्रहरीलाई कंचपुर जिल्ला अदालतले सफाइ दिएको छ । अदालतका श्रेष्तेदार यदुराज शर्माका अनुसार न्यायधिश गोपाल प्रसाद वास्तोलाको ईजलासले बिहीबार ८ जना प्रहरीलाई सफाइ दिएको हो ।  

यातना दिएको फेला नपरेको र स्वास्थ्य जाँच प्रतिवेदनमा पनि नभेट्टिएकोले यातनाविरुद्धको कसुर र प्रमाण नष्ट गर्नुपर्ने कुनै कारण नभएकाले सार्वजनिक न्यायविरुद्धको कसुरमा सफाइ दिएको उनले बताए । फैसलाको पुर्ण पाठ भने आउन वाँकी रहेको उनको भनाई छ । सफाई पाउने अन्यमा डिएसपी ज्ञानबहादुर सेठी, सिआईवीका प्रहरी उपरिक्षक अंगुर जिसी, प्रहरी निरिक्षक जगदिश भट्ट,  प्रहरी निरिक्षक एकेन्द्र खड्का, प्रहरी नायव निरिक्षक हरि सिंह धामी, रामबहादुर धामी र प्रहरी जवान चादनी साउँद रहेका छन् ।  

२०७५ पुस महिनामा निर्मलाका आमा दुर्गा देवी पन्त तत्कालिन एसपी डिल्ली बिष्टसहित ८ जना प्रहरीविरुद्ध प्रमाण नष्ट गरेको भन्दै जाहेरी दिएकी थिइन् । भने दिलिप बिष्टका दाजु खडक बिष्टले तत्कालिन एसपी बिष्ट, सिआईवीका डिएसपी जिसी, डिएसपी सेठी र प्रहरी निरिक्षक ऐकेन्द्र खड्काविरुद्ध यतना दिएको भन्दै जाहेरी दिएका थिए । उनीहरुको जाहेरीका आधारमा सरकारी वकिलको कार्यालयले फौजदारी अपराध संहिता अनुसार २०७५ फागुन २२ गते ८ जना प्रहरीविरुद्ध कंचनपुर जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।

बिष्ट , जिसी, ज्ञानबहादुर सेठी र ऐकेन्द्र खड्काविरुद्ध यातना दिएको र प्रमाण नष्ट गरेको दुई मुद्दा दर्ता गरिएका थिए भने अन्य ४ प्रहरीविरुद्ध प्रमाण नष्ट गरेको एक मात्र मुद्दा दर्ता गरिएको थियो ।  

२०७५ चैत १० गते एसपी बिष्टले प्रमाण नष्ट गरेकोमा साढे ४ लाख र यातना दिएकोमा ६ लाख गरेर साढे १० लाख धरौटीमा छुटेका थिए भने सिआईवीका अंगुर जिसि चैत १३ गते प्रमाण नष्ट गरेकोमा ४ लाख र यातना दिएकोमा ५ लाख गरी ९ लाख धरौटीमा छुटेका थिए । यसैगरि  २०७५ फागुन ३० गते डिएसपी ज्ञानबहादुर सेठी र प्रहरी निरिक्षक ऐकेन्द्र बहादुर खड्कालाई यातना दिएकोमा ५ लाख रुपैयाँ र प्रमाण नष्ट गरेकोमा ४ लाख गरेर ९, ९ लाख रुपैयाँ, प्रमाण नष्ट गरेकोमा प्रहरी निरिक्षक जगदिश भट्टलाई ४ लाख रुपैयाँ,  प्रहरी नायव निरिक्षक हरिसिह धामीलाई ३ लाख ५० हजार र प्रहरी नायव निरिक्षक राम बहादुर धामीलाई ३ लाख र प्रहरी जवान चादनी साँउदलाई २ लाख ५० हजार रुपैयाँ धरौटीमा छुटेका थिए ।

२०७५ साउन १० गते बिहान साथी रोशनीको घरमा गृह कार्य गर्न गएकी निर्मला हराएकी थिइन् र दोश्रो दिन(साउन ११ गते ) उखुवारीमा घोप्टो परेको अवस्थामा उनी मृत फेला परेकी थिइन् ।

प्रहरीले भदौ ४ गते मानसिक सन्तुलन गुमाएका भनिएका दिलिप बिष्टलाई दोषी भनेर सार्वजनिक गरेपछि निर्मलाको हत्यारालाई बचाउन निर्दोषलाई फसाउन खोजेको भन्दै महेन्द्रनगरमा आन्दोलन चर्केपछि भदौ ७ र ८ गते गोली चलेको थियो भने शनि खुनाको ज्यान गएको थियो । पछि डिएनए म्याच नखाएपछि बिष्ट रिहा भएका थिए भने उनलाई यातना दिएर आरोप सर्कान लगाएको भन्दै उनका दाजु खडकले उजुरी दिएका थिए ।

गृहमन्त्रालयले सह सचिव हरि प्रसाद मैनालीको संयोजकत्वमा गठन गरेको छानबिन समितिले बुझाएको अध्ययन प्रतिवेदनमा प्रमाण नष्ट गरेको र गोली चलाउनु पर्ने अवस्था नभएको उल्लेख छ । प्रमाण नष्ट गर्नुको कारणबारे बिस्तृत अध्ययन गर्न एआईजी धिरु बस्नेतको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । मन्त्रीपरिषदको बैठकले एसपी बिष्ट र प्रहरी निरिक्षक जगदिश भट्टलाई भविस्यमा अयोग्य नहुनेगरि बर्खास्त गर्ने नर्णय गरेको थियो भने डिएसपी जिसि र सेठी लगायत ६ जनालाई निलम्बन गरेको थियो ।

दुई वर्ष भईसकेपनि निर्मलाको बलत्कार र हत्या गरेको व्यक्ति प्रहरीले पत्ता लगाउन सकेको छैन । निर्मलाकी आमा दुर्गादेवी पन्तले गत भदौमा दिलिप बिष्टविरुद्ध किटानी उजुृरी दिएकी थिइन् । प्रहरीले अहिले सम्म निर्मलाको हत्यारा यहि हो भनेर पत्ता लाग्न नसकेको बताएको छ ।‘हामी हत्यारा चाडै पत्ता गर्न आतुर छौं तर अहिले सम्म यो व्यक्ती हत्यारा हो भनेर हामी निचोडमा पुग्न सकेको अवस्था छैन’ नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायव महानिरिक्षक उत्तम सुवेदी उत्तम सुवेदीले भने,‘इमान्दारी पुर्वक अहोरात्री खटेर हामी अनुसन्धान गरिरहेका छौं ।’ 

निर्मलाको बलत्कार र हत्या भएको उखुवारीमै हो वा अन्यत्र भन्ने पनि अहिले सम्म एकिन भैनसकेको उल्लेख गर्दै पत्ता लागेपछि एकैपटक सवैकुरा सार्वजनिक गर्ने उनको भनाई छ ।

प्रकाशित: १५ श्रावण २०७७ १३:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App