coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

रित्तिदै कर्णालीका क्वारेन्टाइन

कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा वीरेन्द्रनगरको खुल्ला मञ्चमा नेपाली सेनाले निर्माण गरेको क्वारेन्टाइन। तस्बिर: नगेन्द्र उपाध्याय/नागरिक

सुर्खेतको बराहताल गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा अघिल्लो सातासम्म भारतलगायत देशका विभिन्न जिल्लाबाट आएका करिब १५ सय नागरिक थिए। गाउँपालिकाका विभिन्न १५ वटा क्वारेन्टाइनमा उनीहरूलाई राखिएको थियो। अहिले त्यो संख्या घटेर ५४ जनामा पुगेको छ। क्वारेन्टाइनहरू खाली हुँदैछन्। ‘भारतबाट आउने नागरिकको संख्यामा कमि भएसँगै क्वारेन्टाइन रित्तिदै छन्,’ स्वास्थ्य शाखाका सिनियर अनमी विष्णु गुरुङले भनिन्, ‘प्रदेश अस्पतालको पीसीआर मेसिनमा समस्या नआएको भए क्वारेन्टिनमा बस्नेको संख्या अझै कम हुन्थ्यो।’

जेठको पहिलो साता भारतमा रेल सेवा सुरु भएसँगै कामका लागि त्यहाँ गएका कर्णालीवासी फर्कनेक्रम ह्वात्तै बढेको थियो। कर्णालीमा एकैदिन पाँचदेखि आठ हजारसम्म नागरिकहरू गाउँ फर्केका थिए। ‘अहिले दिनमान तीन–चार जना मात्रै आउनुहुन्छ,’ गुरुङले भनिन्, ‘त्यसैले १५ वटा क्वारेन्टाइनबाट घटाएर तीन वटामा पु¥याएका छौं।’  

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार भारतबाट लकडाउन सुरु भएदेखि ४७ हजार दुई सय ८० जना नागरिक कर्णालीमा भित्रिएका छन्। ती मध्ये सबैभन्दा बढी दैलेख जिल्लाका रहेका छन्। दैलेखमा १४ हजार आठ सय ४८ जना नागरिक भारतबाट भित्रिएको प्रहरीको तथ्यांकमा उल्लेख छ। ती मध्ये एक हजार ९८ जना व्यक्ती मात्रै अहिले आइसोलेशन र क्वारेन्टाइनमा छन्। दैलेखमा कोरोना संक्रमणका कारण हालसम्म तीन जनाको मृत्यु भएको छ। दैलेख कर्णालीमा पहिलो कोरोना संक्रमण फेला परेको जिल्ला हो।  

जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थीरबहादुर रेग्मीले क्वारेन्टाइन र आइसोलेशनहरू खाली हुँदै गएको बताए। ‘भारतबाट एकै पटक ठूलो संख्यामा आएका नागरिकको व्यवस्थापन नहुँदा आन्दोलन पनि भयो’, रेग्मीले भने, ‘अहिले भारतबाट आउने नागरिक कम हुँदै गएका छन्, आएका अधिकांश उपचारपछि घर फर्केका छन्।’ कर्णाली प्रदेशमा भारतबाट आएका मध्ये आइसोलशनमा पाँच सय १४ जना र क्वारेन्टाइनमा पाँच हजार दुई सय दुई जना रहेका छन्।

परीक्षण ठप्प

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा जडान गरिएको पीसीआर मेसिनमा समस्या आएपछि तीन दिनदेखि परिक्षण ठप्प भएको छ। कर्णालीका सुर्खेतसहित जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै पीसीआर परीक्षण हुन्छ। प्रदेश अस्पतालका डाक्टर डम्बर खड्काले पीसीआर मेसीनको हार्टवेयरमा खराबी आउँदा कोरोना परीक्षण ठप्प भएको बताए।

त्रिभुवन विश्वविद्यालयमा थन्किएर रहेको पीसीआर मेसिन चैतको अन्तिम साता ल्याएर प्रदेश अस्पतालमा जडान गरिएको थियो। यो पीसीआर मेसिनको २८ लाख २५ हजार रूपैयाँ उद्योगी विनोद चौधरीले विश्वविद्यालयलाई तिरेका थिए। मेसिनले काम नगर्दा सुर्खेतका ९ सय १८ जनाको स्वाब ल्यावमै थन्किएको छ।  

१४ सय २८ संक्रमित,६ जनाको मृत्यु

कर्णाली प्रदेशमा कोरोना संक्रमतिको संख्या एक हजार चार सय २८ पुगेको छ। आइतबार कर्णालीका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। सामाजिक विकास मन्त्रालय अन्र्तगतको स्वास्थ्य सेवा महाशाखाका अनुसार रुकुम (पश्चिम)को चौरजहारी नगरपालिका–३ का २३ वर्षीय पुरुष र सल्यानको बनगाड–कुपिण्डे नगरपालिका–३ का २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। कोरोना संक्रमणका कारण दैलेखमा तीन, सुर्खेतमा दुई र डोल्पाका एक जना व्यक्तिको मृत्यु भएको थियो।

स्वास्थ्यकर्मी र सुरक्षाकर्मी संक्रमित

कोरोना संक्रमणको उपचारमा खटिएका स्वास्थ्यकर्मी, क्वारेन्टाइन र आइसोलेशनको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण भएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतमा १३ जना स्वास्थ्यकर्मी, चार जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ।  

यस्तै दैलेखमा चार जना स्वास्थ्यकर्मी, ३३ जना सुरक्षाकर्मी, जाजरकोटमा एक सुरक्षाकर्मी, सल्यानमा एक जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। जुम्लामा चार स्वास्थ्यकर्मी, २७ सुरक्षाकर्मी, रुकुम (पश्चिम)मा एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए। ‘२३ जना स्वास्थ्यकर्मी, ५३ जना सुरक्षाकर्मी र तीन जना जनप्रतिनिधि कोरोना संक्रमण देखिएको छ,’ उनले भने, ‘ती मध्ये केही सन्चो भएर घर फर्किनु भएको छ।’

प्रकाशित: १५ असार २०७७ ०४:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App