७ माघ २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्प सवार विमान बिचबाटै फर्कियो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विमान एयर फोर्स वानमा समस्या आएको छ। स्थानीय समय अनुसार मंगलबार साँझ स्विट्जरल्याण्डतर्फ उडान भरेको करिब एक घण्टापछि संयुक्त बेस एन्ड्रयूजमा फर्किएको हो।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटका अनुसार चालक दलले ‘सानो विद्युतीय समस्या’ देखेपछि अत्यधिक सावधानी अपनाउँदै फर्कने निर्णय गरेको थियो।

एपीका अनुसार विमानमा रहेका एक पत्रकारलाई उद्धृत गर्दै उडान सुरु भएको केही समयपछि प्रेस क्याबिनको बत्ती निभेको उल्लेख गरेको छ। तर तुरुन्तै कुनै स्पष्टीकरण दिइएन। उडान सुरु भएको करिब आधा घण्टापछि पत्रकारहरूलाई विमान फिर्ता हुने कुरा भनियो।

ह्वाइट हाउसका अनुसार ट्रम्प अर्को विमान चढेर डाभोसमा हुने विश्व आर्थिक मञ्चको यात्रा जारी राख्नेछन्।

हाल एयर फोर्स वानको रूपमा प्रयोग हुने दुई विमानले करिब चार दशकदेखि उडान भर्दै आएका छन्। बोइङले प्रतिस्थापन विमानमा काम गरिरहेको छ। तर कार्यक्रममा निकै ढिलाइ भएको छ। यी विमानहरूमा विकिरण संरक्षण, क्षेप्यास्त्र प्रतिरोधी प्रविधि, आपतकालीन बाँच्ने क्षमता र विश्वभरबाट आदेश दिने सञ्चार प्रणाली जडान गरिएका हुन्छन्।

गत वर्ष कतारको शाही परिवारले ट्रम्पलाई एयर फोर्स वान फ्लीटमा थप्न बोइङ ७४७–८ जेट उपहारमा दिएको थियो। सुरक्षा आवश्यकता पूरा गर्न त्यो विमान अहिले परिमार्जन भइरहेको छ।

मंगलबार राति एयर फोर्स वानमा पत्रकारहरूसँग लेभिटले ठट्टा गर्दै कतारी जेट अहिले ‘धेरै राम्रो’ सुनिरहेको छ भनिन्।

गत फेब्रुअरीमा विदेशमन्त्री मार्को रुबियोलाई जर्मनी लैजाँदै गरेको वायुसेनाको विमानमा पनि यान्त्रिक समस्या देखिएपछि वाशिंगटन फर्कनुपरेको थियो। अक्टोबरमा युद्धमन्त्री पिट हेग्सेथलाई लिएर गएको सैन्य विमानको विन्डशिल्ड क्र्याक भएपछि बेलायतमा आपतकालीन अवतरण गर्नुपरेको थियो। एजेन्सी

प्रकाशित: ७ माघ २०८२ १२:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App