८ वैशाख २०८१ शनिबार
समाज

आरडिटीको प्रयोग बढी, विश्वास कम

दिप्रुङ चुइचुम्मा गाउँपालिकामा आरडिटीका लागि आइतबार भेला भएका स्थानीय । फोटो ः नागरिक

 खोटाङको साकेला गाउँपालिका–२ रतन्छामा आरडिटी टेष्ट गर्दा दुई जनाको रिपोर्ट पोजिटिभ देखिएपछि गत वैशाख २९ गते हल्लीखल्ली मच्चियो । गाउँपालिका आफैले दुई सय थान किट खरिद गरेर ल्याएपछि आरडिटी टेष्ट गर्ने क्रममा दुई जनाको रिपोर्ट पोजिटिभ देखिएको थियो । किटको रिजल्टको विश्वसनीयतामाथि आशंका गरियो र जिल्ला अस्पतालबाट लगिएका किट प्रयोग गरेर दोश्रो टेष्ट गर्दा भने दुवै जनाको रिपोर्ट नेगेटिभ देखायो । 

पुःन तत्काल गाउँपालिकाले नै खरिद गरेर ल्याएकामध्येको किट प्रयोग गरेर तेश्रो पटक टेष्ट गर्दा पोजिटिभ नै देखियो । गाउँपालिकाको किटमार्फत गरिएको दुईदुई पल्टको टेष्टले पोजिटिभ र जिल्ला अस्पतालबाट लगिएको किटले नेगेटिभ रिपोर्ट देखाएपछि रतन्छामा अन्योल नै सिर्जना भएको थियो ।

 प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा स्वाब पठाएर पिसिआर टेष्ट गर्दा दुवै जनाको रिपोर्ट नेगेटिभ आएको थियो । त्यही भएर आरडिटीको विश्वसनीयतामाथि शंका गर्नुपर्ने देखिएको साकेला गाउँपालिकाका अध्यक्ष अर्जुन खड्काले बताए । ‘आरडिटी किट भरपर्दोचैं होइन,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘कोरोनाको संक्रमण भएनभएको यकिन गर्ने अन्य विकल्प नभएकाले यसको प्रयोग गर्नु बाध्यता हो । अबका दिनमा पिसिआरलाई प्राथमिकता दिने तयारी गरेका छौं ।’  

यस्तै, हलेसी तुवाचुङ नगरपालिकाका ५८ जनाको आरडिटी गर्दा ८२ जनाको पिसिआर गरिएको छ । आरडिटीको रिजल्ट भरपर्दो नहुने भएकाले पिसिआरलाई प्राथमिकतामा राखिएको नगरपालिकाका स्वास्थ्य शाखाका सहसंयोजक प्रकाश घिमिरेले बताए । पिसिआर गरिएकामध्ये हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका २० वर्षीय युवालाई संक्रमण भएको पुष्टि भएको छ । उनको जेठ ६ गतेदेखि कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचार भइरहेको छ ।  

हालसम्म खोटाङका १० स्थानीय तहमा ५२० जनाको आरडिटी र १०५ जनाको पिसिआर परीक्षण भइसकेको छ । त्यसमध्ये दुई जनाको आरडिटी रिपोर्ट पोजिटिभ र एक जनाको पिसिआर रिपोर्ट पोजिटिभ देखिएको जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. शैलेस श्रेष्ठले बताए । हाल आरडिटीको विश्वसनीयतामाथि भने जताततै प्रश्न उठिरहेको छ । आरडिटीले दिने परिणामका बारेमा शंका गर्ने गरिए पनि हरेक स्थानीय तहमा आरडिटी परीक्षण जारी छ । 

साकेला गाउँपालिकासँगै दिप्रुङ चुइचुम्मा गाउँपालिकाले पनि आफ्नै खर्चमा १५० थान आरडिटी किट खरिद गरेको छ । आरडिटी किट औसतमा प्रतिवटा दुई हजारका दरले खरिद गरेर ल्याउने गरिएको स्थानीय तहले बताएका छन् । तर, आरडिटी टेष्टबाट स्थानीयलाई तत्कालका लागि आत्मसन्तुष्टि दिनेबाहेकका उपलब्धि भएको देखिन्न । आरडिटीले उपलब्धिभन्दा बढी खर्च र जनशक्तिलाई हैरानी मात्र गराइरहेको छ । 

हाललाई आरडिटी गरे पनि संक्रमण भएनभएको यकिन गर्न पिसिआरमै भर पर्नुपर्ने अवस्था छ । कोरोना परीक्षणमा पिसिआर नै भरपर्दो भनिए पनि स्थानीय तहले यसको दायरा फराकिलो बनाउन सकेका छैनन् । सबै ठाउँमा पिसिआरको पहुँच सहज बनाउने हो भने भीडमा लुकेर रहेका संक्रमित चाँडो फेला पर्ने कोरोना रोकथाम तथा नियन्त्रणका लागि योजना बनाउन पनि सहज हुने बताइन्छ ।  

हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ११३ जना, हलेसी तुवाचुङ नगरपालिकाका ५८ जना, दिप्रुङ चुइचुम्मा गाउँपालिकाका १८१ जना, साकेला गाउँपालिका ११८ जना,  खोटेहाङ गाउँपालिकाका ६२ जना, जन्तेढुंगा गाउँपालिकाका ५८ जना, रावाबेंसी गाउँपालिकाका २६ जना, बराहपोखरी गाउँपालिकाका २६ जना, ऐसेलुखर्क गाउँपालिकाका १० जना र केपीलासगढी गाउँपालिकाका ५ जनाको आरडिटी गरिसकिएको छ । ‘सबै परीक्षणले सतप्रतिशत रिजल्ट दिँदैन, यसको भरै हुन्न भन्न सकिन्न,’ डा. श्रेष्ठले भने, ‘कहिलेकहीं फल्स नेगेटिभ र फल्स पोजिटिभ देखिने चान्स हुनसक्छ ।’  

जिल्लामा १ नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयबाट चार चरणमा ५५० थान र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागबाट ५ सय थान आरडिटी किट आइसकेको छ । यस्तै, विभागबाट पिसिआरका लागि स्वाब संकलन गर्नेक्रममा उपयोग गरिने ५ सय थान भिटिएम र सामाजिक विकास मन्त्रालयबाट तीन चरणमा १२५ थान भिटिएम प्राप्त भएको स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए । पिसिआरका लागि स्वाब संकलन गर्ने दक्ष जनशक्ति एक जना मात्र छन् । 

प्रकाशित: १२ जेष्ठ २०७७ ०९:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App