१६ चैत्र २०८० शुक्रबार
समाज

सेनाको रेखदेखमा जुम्लाको जिल्लास्तरीय एकीकृत क्वारेन्टिन

जुम्लाको कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको क्वारेन्टिनको सुरक्षा जिम्मेवारी नेपाली सेनालाई दिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले जिल्लास्तरीय क्वारेन्टिनको सुरक्षा जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको हो । स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टिन निकै अव्यवस्थित र सुरक्षाका हिसावले निकै चुनौति पुर्ण भएकोले एकीकृत क्वारेन्टिनको व्यवस्था गरेर सुरक्षा जिम्मेवारी सेनालाई दिइएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिइन् ।  

प्रमुख जिल्ला अधिकारी बञ्जाडेले भनिन्‘ यसअघि स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टिनमा सुरक्षा अभाव देखियो । भारतबाट भित्रिएका नागरिक बस्न नमान्ने अवस्था आयो, बसेका पनि १४ दिन अगावै घर जाने परिपार्टी निम्तिएकोले जिल्लामै एकीकृत क्वारेन्टिन निर्माण गरी सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिएको हो  ।’

एक नगरपालिका र सात गाउँपालिकाका नागरिक बाहिरबाट आएपछि अनिवार्य जिल्लास्तरीय एकीकृत क्वारेन्टिनमा राखिएको हो । देश भित्र र बाहिर भारतबाट आएका १४ जना नागरिक एकीकृत क्वारेन्टिनमा थपिएका छन् । भारतको पिथौँरागढ देखि बाजुरा जिल्ला हुम्ला, मुगु भएर कनकासुन्दरी गाउँपालिकामा आएका ६ जना नागरिकलाई एकीकृत क्वारेन्टिनमा राखिएको प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले बताए । उनका अनुसार तिलाका ३ जना र सिंजाका ५ जना गाउँपालिकामा आएपछि उनीहरुलाई एम्बुलेन्समा ल्याएर क्वारेन्टिनमा राखिएको हो ।

अहिले सबैको एकीकृत क्वारेन्टिन निर्माण गरिएपछि सेनाले सुरक्षा जिम्मेवारी लिएको छ । गाउँतिर जोखिम कम हुने गरेको छ । यसअघि भारतको रुपैडिहा नाकाबाट आएका २९ जनालाई क्वारेन्टिनमा राखिएको छ । रुपैडिहा नाकाबाट उद्धार गरी ल्याएका २९ जना नागरिकलाई कर्णाली प्राविधिक शिक्षालय जुम्लाको एकीकृत क्वारेन्टिनमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले जानकारी दिए ।

सहायक प्रमुख जिल्ला अधिकारी देवकोटाका  अनुसार भारतबाट सरकारको निगरानीमा आएकामध्ये हिमा गाउँपालिकाका २५, कनकासुन्दरीका एक, तिलाकाका एक, हुम्लाका एक र मुगुका एक गरी २९ जना नागरिकलाई क्वारेन्टाइनमा राखिएको हो । 

लकडाउन अवधिभर जिल्लामा ११ हजार २ सय ११ जना नागरिक भित्रिएका छन् । जिल्ला भित्रिएका नागरिक मध्ये ३५ जना क्वारेन्टाइनमा रहेका छन् भने एक हजार २ सय २४ जना नागरिक १४ दिनपछि घर फिर्ता भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ । एक हजार ५ सय ५४ जनाको पिसिआर र २ सय ६३ जनाको आरडिटी परीक्षण रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।

प्रकाशित: ७ जेष्ठ २०७७ ११:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App