८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

आनीको जिन्दगी गुफामै

सिमकोट- लामा समुदायको जीवनशैली  र रहनसहन फरक छ। सानै उमेरदेखि लामा समुदायका युवतीले आनी अर्थात् टोपेनी बनेर जिन्दगी गुम्बा अथवा गुफामै बिताउने गरेका छन्। नाम्खा गाउँपालिका वडा ४ याङ्गगारस्थित नाम्ख्वुँङ्ग पेमा होत्साल छ्योलिङ गुम्बामा १४० आनी अध्ययन गर्दै बसिरहेका छन्। सिमकोट र नाम्खा गाउँपालिकाका  ७० भन्दा बढी आनी गुम्बाभन्दा बाहिर रहेर गुफामा बस्दै आइरहेका छन्।  जिल्लाभरि जम्मा २१०  आनीले लामा पुस्तक (छ्यो) अध्ययन गरिरहेका छन्।

सिमकोट गाउँपालिका-३ की ७० वर्षीया आनी छिरिङ्ग डोमा लामाले ‘बौद्धधर्ममा पाप गर्नु हुँदैन, पाप गरे अर्को जुनीमा नराम्रो हुने भएकोले आफ्नो जीवनकाल नै आनी बनेर बिताउने गरेको बताइन्। 'मैले १३ वर्षको उमेरदेखि आफ्नो परम्पराअनुसार ठूलो लामाकहाँ पुगी कपाल काटेँ, उसैलाई चढाएर त्यस दिनदेखि जीवनभरि बिहा नगर्ने र  ज्ञान लिएर गुफाभित्रै बस्ने निर्णय गरेँ ', आनी लामाले भनिन्। उनी १५ वर्षसम्म ठूलो लामासँग ज्ञानका पुस्तक अध्ययन गरेर गाउँ नजीकको गुफामा बस्छन्।

लामा समुदायका छोरीहरु टोपेनी बनेपछि जीवनभर बिहा नगर्ने परम्परा छ। उनी जस्तै धर्म र कर्ममा विश्वास गर्ने हुम्ला जिल्लाका कैयौंँ युवती आनी बनेका छन्। छोरा मान्छे टावा अर्थात् टोप्या बनेमा इच्छानुसार विवाह गर्न पाउने र आनी बनेका टोपेनीले विवाह गर्न नपाउने र पवित्र भएर बस्नुपर्ने संस्कार छ। 'आनी बन्नुको मुख्य उद्देश्य आफ्नो जीवनकालमा कुनै पनि पाप नहोस्, यदि भुलचुकमा पाप भएमा यस जुनीमा नै काटियोस् भन्ने हो', उनले भनिन्।

लामा समुदायका युवती आनी बनेपछि अन्य युवती जसरी खुलेर समाजमा हिँड्डुल गर्न नपाइने ७० वर्षीया आनी लामाले बताइन्। आनी बनेपछि पुस्तकमा रहेको ज्ञानार्जन गर्दै सीमा रेखाभन्दा बाहिर जान पाइँदैन। लामा समुदायका युवती गुरु रिम्पोछेसँग तीनदेखि छ वर्षसम्म अध्ययन गर्छन्। त्यसपछि आनीमा प्रवेश गरेपछि करिब १२ वर्षसम्म पैतोक पुस्तक अध्ययन गरेर ज्ञानमा परिपक्व बनेपछि गुफा पस्ने चलन छ।

छ महिनादेखि तीन वर्षसम्म ज्ञान साधनामा लाग्दा गुफाभित्र कोहीसँग पनि बोलचाल गर्न पाइँदैन। एक जना मात्रै खाना बनाउने, स्याहारसुसार गर्ने र पूजा गर्दा आफूभन्दा कान्छी वा सानी उमेरका आनीलाई सहयोगीका रुपमा राख्न पाइन्छ। 'हाम्रो काम पूजा गर्ने, पुस्तक पढ्ने, मन्त्र जप्ने मात्र हो, अन्य कुनै पनि काम गर्न मिल्दैन', उनले बताइन्।

प्रकाशित: १० पुस २०७६ १०:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App