भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई न्यूयोर्कको मेट्रोपोलिटन डिटेन्सन सेन्टर (एमडीसी) मा राखिएको छ।
यो जेललाई ‘घृणित’ र ‘डरलाग्दो’ मान्ने गरिएको छ। कैदी हिंसा, कर्मचारी अभाव, बिजुली अवरुद्ध र खराब अवस्थाका लागि कुख्यात मानिन्छ।
सिएनएनका अनुसार यसअघि यो जेलमा गायक आर केली, ‘फार्मा ब्रो’ मार्टिन श्क्रेली, घिसलेन म्याक्सवेल, साम बैंकम्यान-फ्राइड र सीन ‘डिडी’ कम्ब्सजस्ता हाई प्रोफाइल कैदी राखिएका थिए। लागूऔषध कार्टेल नेता इस्माइल ‘एल मेयो’ जाम्बाडालाई पनि यहाँ राखिएका थिए।
‘कैदी हुनु धेरै गाह्रो ठाउँ हो,’ कम्ब्सका वकिल मार्क अग्निफिलोले अदालतमा भनेका थिए।
जेलमा हिंसा बारम्बार हुन्छ। सन् २०२४ मा एक कैदी छुरा प्रहारबाट मारिएका थिए भने अर्का एक जना झगडामा मरेका थिए। सन् २०१९ मा बिजुली बन्द हुँदा कैदीहरू एक हप्तासम्म अँध्यारो र चिसोमा बस्न बाध्य भएका थिए।
यौन अपराधी जेफ्री एपस्टाइनको मृत्युपछि म्यानहट्टनको जेल बन्द भएकाले एमडीसी न्यूयोर्कको एक मात्र संघीय जेल हो।
जनवरी ३ मा अमेरिकी विशेष फौजले काराकसमा अपरेशन गर्दै मादुरो दम्पतीलाई आवासबाटै पक्राउ गरी अमेरिका लगेको हो। उनीहरूमाथि लागूऔषध तस्करी, आतंकवाद षड्यन्त्र र हतियारसम्बन्धी आरोप छन्। मुद्दाको सुनुवाइ चाँडै हुनेछ।
यता, मादुरो पक्राउपछि भेनेजुएलाको सर्वोच्च अदालतले उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई कार्यवाहक राष्ट्रपतिको सबै अधिकार दिन आदेश दिएको छ। आदेशमा मादुरो ‘भौतिक र अस्थायी रूपमा कार्य गर्न असमर्थ’ भएको उल्लेख छ।
राज्य टेलिभिजनमा न्यायाधीश तानिया डीुअमेलियोले पढेको आदेशमा रोड्रिगेजले सबै राष्ट्रपतिको शक्ति प्रयोग गरी प्रशासनिक निरन्तरता र राष्ट्रको रक्षा गर्ने उल्लेख गरिन्। भेनेजुएलाको संविधानअनुसार राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिले पद सम्हाल्ने व्यवस्था छ। एजेन्सी
प्रकाशित: २० पुस २०८२ १०:०१ आइतबार





