१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

भेनेजुएलामाथि अमेरिकी हस्तक्षेप संयुक्त राष्ट्रसंघको वडापत्रको उल्लङ्घन : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले संयुक्त राष्ट्रसंघलगायत विश्व संस्थाहरूको औचित्यमाथि प्रश्न उठ्ने गरी कुनै एक देशका जननिर्वाचित राष्ट्र प्रमुखलाई अर्को देशको आदेशमा सैन्य हस्तक्षेपमार्फत नियन्त्रणमा लिने कार्य अस्वीकार्य भएको बताएका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले यस्तो कदम संयुक्त राष्ट्रसंघको वडापत्रको ठाडो उल्लङ्घन भएको उल्लेख गरेका छन्। 'संयुक्त राष्ट्रसंघलगायत विश्व संस्थाहरूको औचित्य नै समाप्त गर्ने गरी कुनै एउटा देशका जननिर्वाचित राष्ट्र प्रमुखलाई अर्को देशको राष्ट्र प्रमुखको आदेशमा सैन्य हस्तक्षेपमार्फत नियन्त्रणमा लिने र अभियोग लगाउने कार्य संयुक्त राष्ट्रसंघको वडापत्रको ठाडो उल्लङ्घन हो। यस्तो कदम आधुनिक विश्व र सभ्य समाजका लागि स्वीकार्य विषय हुन सक्दैन, हुनु पनि हुँदैन,' उनले लेखेका छन्।

उनले भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेप र राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिइएको भनिएको घटनाले अन्तर्राष्ट्रिय कानुन, राष्ट्रिय सार्वभौमिकता र लोकतान्त्रिक मूल्यहरूमाथि गम्भीर प्रश्न उठाएको समेत जिकिर गरे।

महासचिव पोखरेलका अनुसार यस प्रकारका विषयमा स्वयं संयुक्त राज्य अमेरिकाभित्रै गम्भीर, जिम्मेवार र खुला बहस आवश्यक छ। 'भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेप र राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिइएको सन्दर्भले अन्तर्राष्ट्रिय कानुन, सार्वभौमिकता र लोकतान्त्रिक मूल्यहरूमाथि गम्भीर प्रश्न उठाएको छ। यस प्रकारका विषयमा स्वयं अमेरिकी समाजभित्रै गम्भीर र जिम्मेवार बहस आवश्यक देखिन्छ,' उनले उल्लेख गरेका छन्।

प्रकाशित: २० पुस २०८२ ०९:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App