गैरआवासीय नेपाली संघ एनआरएनएका उपाध्यक्ष डा. हेमराज शर्माले १२ औं महाधिवेशमा सहमति र सहकार्यका साथ आफूले टिम बनाउने प्रष्ट पारेका छन्। फेब्रुअरी २३–२५ मा हुने लागेको महाधिवेशनका लागि अध्यक्ष पदमा चुनावी प्रतिस्पर्धा गर्ने तयारीमा रहेका शर्माले जापानको चौथो ठूलो सहर नायोगामा आयोजित एनआरएनए अभियन्ताहरूसँगको भेटमा यस्तो बताएका हुन्।
संस्थाभित्रको वैचारिक र राजनीतिक विभाजनलाई ‘ट्रान्जिसन पिरियड’ को रूपमा स्वीकार्दै सहमति र सहकार्यको टिम बनाउने प्रतिबद्धता व्यक्त गर्दै एनआरएनएलाई अब पुरानो शैलीबाट बदलेर स्मार्ट एनआरएनए बनाउन जरुरी भइसकेको उल्लेख गरे।
स्मार्ट एनआरएनए हुँदा आफूहरूले भन्दै आएको पारदर्शिता कायम हुने विश्वास पनि व्यक्त गरे। अब सीमित प्रतिनिधिमा मात्रै सीमित नभई संसारभरका सबै सदस्यहरूले सिधै भोट हाल्न पाउने प्रणालीको पक्षामा रहेको प्रष्ट पार्दै निर्वाचनमा हुने चलखेल अन्त्य हुने विश्वास व्यक्त गरे।
यसैगरी नेपाल र एनआरएनएको भविष्य दोस्रो पुस्तामा निर्भर रहेको चर्चा गर्दै अनलाइन माध्यमबाट संसारभरका नेपाली बालबालिकालाई एउटै पाठ्यक्रममा आधारित नेपाली भाषा शिक्षा दिनु पर्नेमा जोड दिए। बिदाको समयमा दोस्रो पुस्तालाई नेपालका गाउँघरमा स्वयंसेवा गर्न वा शैक्षिक भ्रमणमा जान प्रोत्साहन गर्ने प्याकेज बनाउने पनि उल्खेख गरे। नेपालको खेलकुद क्षेत्रमा पनि एनआरएनएले सहयोग गर्ने गरी विदेशमा रहेका नेपाली खेलाडीहरूलाई एकीकृत गरी राष्ट्रिय खेलकुदमा जोड्ने योजना पनि सार्वजनिक गरेका छन्।
संसारभर लाखौँ नेपालीहरू रहेको चर्चा गर्दै अब डिजिटल नेभिगेसनको जमाना अनुसार चल्नु पर्नेमा जोड दिए। उनले भने, ‘एउटै एपमार्फत संसारभरका नेपाली व्यवसाय (रेस्टुरेन्ट, होटल, स्टोर) खोज्न सकिने र एनआरएनए सदस्यलाई विशेष छुटको व्यवस्था गर्नु पर्छ।’
संसारभर नेपालीहरू उच्च तहमा पुगेको तर्फ इंगित गर्दै उपाध्यक्ष शर्माले विदेशमा सेवानिवृत्त भएका विशेषज्ञ र प्रोफेसनल नेपालीहरूको ज्ञानलाई नेपालको विकासमा स्वयंसेवामार्फत जोड्नु पर्ने र त्यसका लागि नेपाल सरकारले पनि रणनीति बनाउन पहल गर्ने बताए।
अध्यक्ष भएमा नेपालमै बसेर राजनीति नगर्ने प्रष्ट पार्दै उनले भने, ‘अध्यक्ष हुनु भनेको नेपालमै बसेर राजनीति गर्नु होइन, बरु विश्वभरका एनसीसीहरूलाई सुपरिवेक्षण र म्यानेजमेन्ट गर्नु हो।’
प्रकाशित: २० पुस २०८२ १०:१६ आइतबार





-600x400-wm.jpg)