५ आश्विन २०८३ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘इरानलाई ध्वस्त पार्ने’ ट्रम्पको चेतावनीपछि तेहरानले दियो कडा जवाफ

अमेरिका र इरानबिच आइतबार फेरि कडा चेतावनी आदानप्रदान भएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता नगरे इरान आर्थिक रूपमा कमजोर हुने वा नेतृत्व गुमाउनुपर्ने चेतावनी दिएका छन्। जवाफमा इरानले अमेरिकाबाट नयाँ आक्रमण भए त्यसको कडा प्रतिकार गर्ने बताएको छ।

तेहरानले अमेरिकाले नयाँ चरणको आक्रमणको योजना बनाएको हुन सक्ने जानकारी आफूले पाएको बताएको छ। इरानी सेनाले वासिङ्टनले नयाँ आक्रमण गरे ‘बिना कुनै सीमा’ जवाफ दिने चेतावनी दिएको हो। इरानी सैन्य केन्द्रीय कमान्डले अमेरिकी अड्डा र हितविरुद्ध निरन्तर जवाफी कारबाही गर्ने बताएको छ। अमेरिकाका क्षेत्रीय सहयोगीलाई पनि द्वन्द्वको पक्ष मानिने इरानी सेनाले चेतावनी दिएको छ।

अमेरिका र इरानबिचको द्वन्द्व महिनौँदेखि गतिरोधमा छ। यसले विश्वव्यापी ऊर्जा आपूर्तिमा असर पारेको छ भने इरानको अर्थतन्त्रमा समेत ठुलो दबाब परेको छ। क्षेत्रीय तनाव पनि थप फैलिएको छ। तर, दुवै पक्षले तत्काल पछि हट्ने संकेत देखाएका छैनन्।

ट्रम्पले युद्धका विषयमा तीन विकल्प रहेको बताएका छन्। उनका अनुसार इरानलाई ध्वस्त पार्ने, आर्थिक रूपमा कमजोर हुन दिने वा सम्झौतामा पुग्ने विकल्प छन्। उनले इरानका नेताहरूले सम्झौता गर्नुपर्ने बताएका छन्।

इरानी राष्ट्रपति मसूद पेजेश्कियान संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन यसै साता न्युयोर्क जाने अपेक्षा गरिएको छ। ट्रम्पले पेजेश्कियानसँग भेट्न आफू खुला रहेको बताएका छन्।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि ट्रम्पले पटक पटक थप ठुलो सैन्य कदम चाल्ने संकेत दिँदै आएका छन्। तर, अहिलेसम्म ती धम्की कार्यान्वयन भएका छैनन्। आइतबार ट्रम्पले द्वन्द्वको अर्को चरणबारे आफू ‘निर्णय गर्ने मोड’मा रहेको बताएका हुन्। उनले आगामी दिनमा ‘धेरै ठुला कुरा’ हुन सक्ने संकेत पनि दिएका छन्।

कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीले खाडी क्षेत्रमा बढिरहेको तनावप्रति चिन्ता व्यक्त गरेका छन्। उनले यस क्षेत्रमा बढ्दै गएको तनावको चक्र रोक्नुपर्नेमा जोड दिएका छन्। खाडी क्षेत्रमा सबै देशको सार्वभौमसत्ताको सम्मान हुने सुरक्षा ढाँचा आवश्यक रहेको उल्लेख गर्दै उनले कुनै पनि राज्यले अर्को राज्यलाई खतरा दिन नहुने बताएका छन्।

यसैबिच, यमनमा हुथी विद्रोही र साउदी नेतृत्वको गठबन्धनबिचको लडाइँका कारण क्षेत्रीय तनाव थप बढेको छ। यमनको अल-जवफ प्रान्तमा हुथी विद्रोही र साउदी समर्थित सेनाबिच जारी लडाइँमा चार जनाको मृत्यु भएको अलजजिराले जनाएको छ। हुथी विद्रोहीहरूको सर्वोच्च राजनीतिक परिषद्का प्रमुख महदी अल-मशातले यमनमा गरिएको ‘अन्यायपूर्ण नाकाबन्दी’का लागि रियादले ‘क्षतिपूर्ति’ तिर्नुपर्ने बताएका छन्।

यमनमा जारी लडाइँ र हुथी समूहबाट बढिरहेको सुरक्षा जोखिमलाई कारण देखाउँदै इरानस्थित अमेरिकी भर्चुअल दूतावासले अमेरिकी नागरिकलाई देश छोड्न आग्रह गरेको छ। अमेरिकी विदेश विभागले पनि मध्यपूर्वमा अप्रत्याशित रूपमा तनाव बढ्न सक्ने चेतावनी दिँदै अमेरिकी नागरिकलाई थप सतर्क रहन आग्रह गरेको छ। सम्भावित उडान रद्द र हवाई क्षेत्र बन्द हुन सक्ने अवस्थाबारे पनि सचेत रहन भनिएको छ।

शनिबार हुथी समूहले साउदी राजधानी रियादतर्फ क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको थियो। साउदी नेतृत्वको गठबन्धनले रियादलाई लक्षित क्षेप्यास्त्रसहित साउदीका अन्य क्षेत्रमा भएका आक्रमण विफल पारेको दाबी गरेको छ। रियादको मुख्य अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट रातभर भएको विस्फोटपछि ठुलो धुवाँको मुस्लो देखिएको थियो।

यमनको तटीय क्षेत्रमा हुथी समूहको प्रभाव बढेसँगै लाल सागर (रेड सी) र एसियाबिचको समुद्री मार्गमा थप जोखिम बढेको छ। बाब अल-मन्देब जलमार्गमा हुथी समूहको प्रभाव बढेकाले महत्त्वपूर्ण समुद्री मार्ग प्रभावित हुन सक्ने अवस्था बनेको हो।

यसअघि नै इरानले होर्मुज जलमार्गमा अधिकांश ढुवानी रोकिसकेको छ। त्यसैकारण खाडी क्षेत्रबाट हुने ऊर्जा निर्यातमा असर परेको छ र तेलको मूल्यमा थप दबाब परेको छ। अमेरिकी नाकाबन्दीका कारण इरानलाई आफ्नो तेल बिक्री गर्नसमेत कठिन भएको छ। यसले इरानको अर्थतन्त्रमा थप दबाब सिर्जना गरेको छ।

जुनमा भएको अन्तरिम युद्धविराम सम्झौता जुलाईमा त्यसका सर्तबारे विवाद भएपछि टुटेको थियो। अहिले उक्त सम्झौतामा फर्किने संकेत कमै देखिएको छ। इरानले आइतबार पनि जुनको सम्झौताका सर्त पूरा नभएसम्म होर्मुज जलमार्ग नखोल्ने दोहोर्‍याएको छ।

इरानी संसद्का सभामुख मोहम्मद बाकर कालिबाफले आफ्ना विरोधीलाई पछि हटाउन इरानले संघर्षसँगै वार्ता पनि जारी राख्नुपर्ने बताएका छन्। कूटनीतिक माध्यमबाट प्राप्त उपलब्धिलाई बलियो बनाउन पनि वार्ता आवश्यक रहेको उनको भनाइ छ। एजेन्सीको सहयोगमा

प्रकाशित: ५ आश्विन २०८३ ०७:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App