८ वैशाख २०८१ शनिबार
समाज

अदालतलाई ढाटेर दोस्रो विवाह गर्ने जोडीलाई थुनामा राख्न आदेश

काठमाडौं - जिल्ला अदालतले मान्यता दिएको दोस्रो विवाहको एक मुद्दा उच्च अदालतबाट बदर भएको छ। काठमाडौं जिल्ला अदालतले गत भदौमा २ लाख पचास हजार धरौटीसहित सदर गरिदिएको नारायण महत र दुर्गा श्रेष्ठको दोस्रो विवाहको मुद्दा उच्च अदालत पाटनले बिहीबार बदर गर्दै पुर्पक्ष गर्न आदेश दिएको हो। काठमाडौं गोकर्णेश्वरमा बस्दै आएका उनीहरूले २०७१ सालमा ‘डिपेन्डेन्ट’मा जापान जान कानुनी विवाह गरेका थिए।

महतकी पहिली पत्नी सावित्री महतले आफूसँग विवाह सम्बन्ध कायम हुँदाहुँदै अर्को विवाह गरेको भन्दै जाहेरी दिए पनि काठमाडौं जिल्ला अदालतले भदौ ५ गते दोस्रो विवाहलाई नै धरौटीसहित सदर गरेको थियो। जिल्ला अदालतबाट  धरौटीमा सो बहुविवाहलाई सदर गरेपछि सावित्रीले पाटन उच्च अदालतमा जाहेरी गरेकी थिइन्। विदेश जाने बहानामा अदालतलाई नै ढाँटेर दोस्रो विवाह गरेको खुलेपछि उच्च अदालतले जिल्ला अदालतको फैसला बदर गर्दै थुनामा राख्न  आदेश दिएको हो।

मुलुकी अपराध ९संहिता० २०७४ मा विवाहित पुरुष वा महिलालाई बहुविवाह गर्न प्रतिबन्ध लगाइएको छ। यदि विवाह गरे त्यस्तो विवाह स्वतः बदर हुने व्यवस्था ऐनमा छ। मुलुकी देवानी ९संहिता० ऐन २०७४ मा महिला र पुरुष दुवैको विवाह सम्बन्ध कायम नरहेको अवस्थामा मात्र विवाह हुन सक्ने व्यवस्था छ। विवाहित पुरुषले आफ्नी पत्नी कानुनबमोजिम अंशबन्डा गरी भिन्न भएको अवस्थामा मात्र अर्को विवाह गर्न पाउँछ। यसलाई ख्याल नराखी बहुविवाह गर्ने पुरुष र विवाहित पुरुषसँग विवाह गर्ने महिलालाई एकदेखि पाँच वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

महत र श्रेष्ठले अघिल्लो विवाह सम्बन्धलाई लुकाएर कानुनी विवाह गरेको उच्च अदालतको ठहर छ। फैसलामा दुर्गा श्रेष्ठलाई महतले दोस्रो विवाह गरेको हो भन्ने थाहा हुँदाहुँदै पनि विवाह गर्न मञ्जुर भएकाले दुवैमाथि कारबाही हुने व्यहोरा उल्लेख छ। ‘प्रतिवादी महतले पहिली पत्नी र दुई छोराछोरी हुँदाहुँदै श्रेष्ठसँग कानुनी विवाह गरेको, अदालतलाई ढाँटेको र अघिल्लो विवाहको सम्बन्ध विच्छेद नगर्दै ढाँटेर कोर्ट म्यारिज गरेकाले काठमाडौं जिल्ला अदालतको आदेश बेरितको भएको हुँदा निर्णय धरौटीमा छाड्न मिल्दैन,’ फैसलामा भनिएको छ, ‘श्रेष्ठ र महतलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नूहोला।’

काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोख्रेलले उक्त बहुविवाहको पक्षमा उभिएर धरौटीसहित छाड्न फैसला गरेका थिए। धरौटीमा छाड्नेगरी भएको उक्त फैसला कुनै तरिकाले ठीक नभएको ठहर गर्दै उच्च अदालतका न्यायधीशद्वय लोहितचन्द शाह र वासुदेव आचार्यले बिहीबार पुर्पक्ष गर्न आदेश दिए। महतकी पहिली पत्नी सावित्रीले आफूसँग वैवाहित सम्बन्ध कायम रहेको बेला अर्कैसँग लागेकाले कारबाहीका लागि अदालतमा जाहेरी दिएकी थिइन्। ‘हाम्रो सम्बन्ध कायमै थियो। २०६३ मा विवाह भएको हो,’ पीडित सावित्रीले दिएको जाहेरीमा भनिएको छ, ‘पछि उहाँ अर्कैसँग लागेको थाहा पाएँ। फेसबुकमा फोटो पनि देखें।’ सावित्रीले दिएको जाहेरीअनुसार पति महतसँग विदेश जान तम्सिएर कानुनी विवाह गरेकी श्रेष्ठको भिसा नलागेपछि २०७१ मा महत एक्लै जापान गएका थिए। केही महिनाअघि पति विदेशबाट फर्किएर मनमैजुकी दुर्गा श्रेष्ठसँग गोकर्णेश्वरमा बस्दै आएको जानकारी पाएपछि सावित्रीले बहुविवाहअन्तर्गत कानुनी कारबाही होस् भनी जाहेरी दिएकी थिइन्।

ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले नयाँ मुलुकी संहीता ऐन सञ्चालनमा आएपछि बहुविवाहका घटनामा कम भए पनि वैदेशिक रोजगारले सामाजिक विकृति निम्त्याइरहेको बताए। उनका अनुसार विदेश लैजाने आशा देखाएर अदालती विवाह गरेका उजुरी प्रहरीमा फाट्टफुट्ट आइरहेका छन्। त्यसमा पत्नी नै बढी पीडित देखिएको उनको भनाइ छ। ‘पहिलो विवाह नै अदालती हो भने समस्या हुँदैन तर घरमा पत्नी हुँदाहुँदै अर्कीसँग विवाह गरेर विदेश जान खोज्नु आफैंमाथि कारबाही निम्त्याउनु हो,’ उनले भने, ‘यद्यपि पछिल्लो कानुन बहुविवाहमा कठोर भएकाले यस्तो विकृति घट्दै जानेछ।’

प्रकाशित: २३ कार्तिक २०७६ ०२:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App