२२ असार २०७७ सोमबार
समाज

अझै तुइनकै भर

जाजरकोट - नलगाड नगरपालिका–१, ठूलाबगरका पठवीर पुनले तुइनमा झुन्डिएर यात्रा गर्न थालेको वर्षाैं भयो। वर्षात्का बेला मात्र होइन, अरूबेला पनि भेरी तर्न तुइनकै भर पर्नु उनको बाध्यता हो। २०७२ असोजमा पहिलोपटक प्रधानमन्त्री हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका तुइन विस्थापन गर्ने घोषणा गरेका थिए। त्यो खबर सुनेर पुन निकै खुसी भएका थिए। तर तीन वर्षसम्म पनि त्यो वाचा पूरा हुन सकेको छैन। तुइनकै सहाराले बजार, मेलापात र सदरमुकामसम्म जानुपर्ने भएपछि उनी थप निरास बनेका छन्। ‘कहिले होला यो तुइनबाट छुटकारा पाउने ?’ उनले दुखेसो पोख्दै प्रश्न गरे, ‘कुन नेता र सरकारले तुइन चल्ने ठाउँमा गतिलो पुल बनाइदेलान् ?’

ठूलाबगरकै हस्तकली घर्तीको दुखेसो पनि पुनको भन्दा फरक छैन। गाउँमा आउने कर्मचारी, नेता र सामाजिक कार्यकर्तासँग उनी गुनासोसहितको प्रश्न तेस्र्याइरहेकी हुन्छिन्, ‘तुइनमा झुन्डिएर भेरीवारपार गर्ने दिन कहिले सकिएला ?’ आफू सानै हुँदादेखि तुइनमा झुन्डिएर भेरी तर्न थालेको बताउँदै उनले भनिन्, ‘अहिले ४१ वर्षकी भएँ, अझै तुइन नचढी उपाय छैन।’

पुन र घर्ती मात्र होइन, ठूलाबगरका सयौं दलित र मगर समुदायका सर्वसाधारणका लागि जीवन–मरणको विषय भएको छ दैनिक तुइन यात्रा। त्यहाँका स्थानीयलाई सदरमुकाम खलंगा, रिम्ना बजार, दिल्लीबजार, पश्चिम रुकुमको राडीबजार जान तुइन नचढी सुखै छैन। बजार, मेलापात र सदरमुकाममा जान भेरी नदी पार गर्न पुल नभएपछि आफूहरू तुइनको सहारा लिन बाध्य भएको उनीहरूको दुखेसो छ। लामो समयदेखि गरिँदै आएको झोलुंगे पुलको माग सुनुवाइ नभएपछि आफूहरू दैनिक रूपमा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको उनीहरू बताउँछन्। स्थानीय गुलाबी पुनले तुइन नचढे गाउँमै बन्धकजस्तो भइने गुनासो गरिन्। ‘सरकारले तुइन हटाउँछ भन्न थालेको तीन वर्ष भयो, अहिलेसम्म हामी तुइनकै भरमा छौं,’ उनले भनिन्। स्कुले बालबालिका, ज्येष्ठ तथा अशक्त नागरिक र भरिया सबैले तुइनकै भरमा नदी वारपार गर्नुपरेको पुनको भनाइ छ।

ठूलाबगर, खर्चा, दम्सिला, भित्रखोला, ओडारा, पालीलगायत गाउँका सय घरपरिवार स्थानीय प्रविधिबाट निर्मित तुइनकै भरमा वर्षाैंदेखि नदीवारपार गर्न बाध्य भए पनि यसतर्फ सरकारको ध्यान नगएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए। ‘विद्यार्थीहरू तुइनमा झुन्डिएर स्कुल जाने गरेको डरलाग्दो दृश्यले पनि कसैलाई छोएको छैन,’ उनले भने। नलगाड–१ माउरे ठूलाबगर र पश्चिम रुकुमको आठबीसकोट नगरपालिका–१४ छोटेतरा पश्चिम रुकुमको पिपलचौर, छोटेतरा, छेपारे, चाख्लेमेलालगायत ठाउँका सयौं सर्वसाधारण सोही तुइनको सहयोगले जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। स्थानीय प्रविधिबाट काठले बनेको ढुंग्रोमा बसी फलामको डोरीमा झुन्डिएर सय मिटर चौडा भेरी नदी जोखिमपूर्ण ढंगले वारपार गर्न सर्वसाधारण बाध्य भएका छन्। २० वर्षअघि बनेको उक्त तुइनकै भर दैनिक उपभोग्य वस्तुको आपूर्ति गर्न, औषधोपचार गर्न र अन्य कामकाजका लागि सदरमुकाम खलंगा आवतजावत गर्नुको विकल्पै छैन।

नलगाड–१ को ठूलाबगर र ८ वडाको मैदे मालुवातरामा पनि तुइन सञ्चालनमा छन्। यस्तै जिल्लाको शिवालय गाउँपालिकाको सालतरामा पनि स्थानीयले तुइनकै माध्यमबाट छेडागाड खोलावारपार गर्ने गरेका छन्। तुइन बन्नुअघि ठूला खोला र नदी डुंगा र चिह्नका सहायताले वारपार गर्ने गर्थे। उता नलगाड नगरपालिकाका मेयर टेकबहादुर रावलले तुइन हटाएर पुल निर्माणको बजेट र योजना माग गर्दै संघीय सरकारलाई दुईपटक आग्रह गरे पनि सुनुवाइ नभएको बताए। ‘जनता निकै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् तर नगरको बजेट र पहुँचले पुल बनाउन सम्भव छैन,’ उनले भने, ‘प्रधानमन्त्रीले सबै तुइन हटाउने घोषणा त गर्नुभयो तर जनता तुइनको विकल्प प्रयोग गर्नै पाएका छैनन्।’

प्रकाशित: २८ वैशाख २०७६ ०७:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App