coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भासिएको महिना पुग्दा पनि भएन मर्मत

चितवन – नारायणगढ–मुग्लिन सडकखण्डको सत्रकिलोमा सडक भासिएको एक महिना हुँदा पनि मर्मत सुरु गरिएको छैन । असारको तेस्रो सातादेखि हल्का चिरा पर्न थालेको सडक असार २६ गते रातिबाट एकतर्फी मात्र यातायात सञ्चालन गर्न मिल्ने गरी भासिएको हो।

नारायणगढबाट १७ किलोमिटर मुग्लिनतर्फ गाईघाटनजिक सडक भासिएको हो । दुई लेनको सडकको बीच भागमा झन्डै एक लेनजति भासिएको छ । करिब पाँच मिटर चौडाइ र २० मिटर लम्बाइ सडक भासिएको छ । सडक भासिएपछि सो क्षेत्रमा सवारीसाधन आवागमन एकतर्फी सञ्चालन भइरहेको छ।

सडकको चौडाइको आधाभन्दा बढी भाग भासिइसकेको नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार बिसुरालले बताए । सडक भासिने क्रम बढ्दै गएको उनले जानकारी दिए । सडक बीचबाट भासिएर नदीतर्फ लच्किएको छ । ‘वर्षाका कारणले सडक भासिएको पाइएको छ’, बिसुरालले भने, ‘पहिला त पुरेर मर्मत गरेर गाडी चलाउन सकिन्छ कि जस्तो थियो तर अहिले धेरै नै भासिइसक्यो।’

सडक धेरै भासिएकाले तत्काल मर्मत गरी भासिएको ठाउँमा दुईतर्फी सवारीसाधन सञ्चालन गर्न नसकिने उनले बताए । जमिन गलेको समय भएकाले कमजोर भएको ठाउँमा पानी बगेर सडक छुट्टिने समस्या आउने उनले जानकारी दिए । २०६० सालतिर पनि त्यस ठाउँमा सडक भासिने समस्या देखिएको उनले बताए । त्यस बेला पनि सडकको आधाजसो भाग दबिने समस्या देखिएको उनले बताए । ‘त्यो बेला जुन समस्या देखिएको हो, त्यही नै अहिले दोहोरिएको छ’, उनले भने, ‘त्यति बला अध्ययन गरेर, उचित संरचना बनाएर समाधान गरिएको थियो ।’ भासिएको सडक बनाउन सडकमुनि नदी किनारबाट त्यससमय ड्रिल गरेर १९ मिटर र २१ मिटर लम्बाइको रड एंकर गरेर राखेर समस्या समाधान गरिएको उनले बताए।

पहिले बनाएको संरचनाले काम गर्न छाडेर नै सडक भासिने समस्या फेरि देखिएको उनको भनाइ छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख वेदप्रसाद गौतमले भासिएको सडकका कारण नारायणगढ–मुग्लिन खण्डमा ट्राफिक व्यवस्थापन गर्न गाह्रो भएको बताए । पहिरो जाँदा सडकखण्डमा यातायात व्यवस्थापन गर्न गाह्रो भएको अनुभव उनको छ।

‘पहिरो हटाएर बाटो खुलाइसकेपछि पनि सडक एकतर्फी गराएर सञ्चालन गर्न कठिनाइ हुने गरेको छ’, उनले भने, ‘यातायात सञ्चालन सहज गराउन धेरै गाह्रो हुन्छ ।’ सत्रकिलोमा दबिएको सडक सडकखण्डको प्रमुख समस्याको बनिरहेको ट्राफिक प्रमुख गौतमले बताए । भासिएको ठाउँमा ठूला गाडी सञ्चालन गर्न समस्या हुने गरेको उनले जानकारी दिए । अहिले दुईतर्फ नै ट्राफिक प्रहरी खटाएर सवारी आवागमन सहज बनाउने काम कार्यालयले गरिरहेको उनले बताए।

भासिएको ठाउँमा विस्तृत अध्ययन नगरी समस्याको कारणबारे बताउन नसकिने बिसुरालले बताए । आयोजनाको परामर्शदाता कम्पनीका कन्सल्ट्यान्टले वर्षा सकिएपछि थप अध्ययन गरेर सडक बनाउनुपर्ने सुझाव दिएको उनले जानकारी दिए । सडक भासिएको क्षेत्रमा पहाड काटेर सडक विस्तार गर्ने ठाउँ समेत नरहेको उनले बताए।

‘चाँडै बनाउनु भनेको नोक्सान मात्र गर्नु हो’, उनले भने, ‘वर्षापछि अध्ययन भएर मात्र काम हुन्छ ।’ नारायणगढ–मुग्लिन सडकखण्डमा सडक विस्तारको कार्य ९८ प्रतिशत सकिएको छ । आयोजनाका अनुसार सडकखण्डमा तीन तहकै कालोपत्रे गर्ने काम सकिएको छ।

प्रकाशित: ३० श्रावण २०७५ ०३:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App