२५ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

६५ प्रतिशत जनसंख्या आर्थिक रूपमा सक्रिय

फाइल तस्बिर

राष्ट्रिय जनगणना २०७८ को तथ्यांकीय प्रतिवेदनले नेपालमा जति धेरै मानिस शिक्षित हुँदै गएको त्यति नै बेरोजगारको संख्या पनि बढ्दै गएको देखिएको छ। तथ्यांकअनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख छ। कुल जनसंख्यामध्ये दुई करोड ३९ लाख अर्थात् ८२.२ प्रतिशत जनसंख्या १० वर्ष वा सोभन्दा माथिका छन्।

तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको ‘नेपालमा श्रमशक्ति र आर्थिक क्रियाकलाप प्रतिवेदन’मा नेपाल हाल ६५ प्रतिशत जनसंख्या कुनै न कुनै हिसाबले आर्थिक क्रियाकलापमा संलग्न रहेको उल्लेख छ। प्रतिवेदनअनुसार एक करोड ५७ लाख अर्थात् ६५.५ प्रतिशत जनसंख्या आर्थिक रूपमा सक्रिय रहेको र जसमा ८२ लाख पुरुष र ७५ लाख महिला रहेको कार्यालयका जनसंख्या निर्देशक राजन सिलवालले जानकारी दिए।

कृषिले रोजागार बढायो तथ्यांक कार्यालयका उपप्रमुखसमेत रहेका तथ्यांक अधिकारी तथा प्रवक्ता ढुण्डिराज लामिछानेका अनुसार आर्थिक रूपले सक्रिय उमेर समूह (१५–६४ वर्ष) मात्र मानिएको खण्डमा कुल श्रमशक्ति एक करोड ३९ लाख रहेको देखिन्छ। त्यसमा ७३ लाख पुरुष र ६६ लाख महिला समावेश रहेको अध्ययनले देखाएको छ। आर्थिक रूपले सक्रिय एक करोड दुई लाख (६५.५ प्रतिशत) जनसंख्या रोजगार छ। सात लाख ६० हजार (४.९ प्रतिशत) बेरोजगार छन्। ४६ लाख (२९.७ प्रतिशत) आर्थिक रूपले सक्रिय छैनन्। आर्थिक रूपले सक्रिय जनसंख्या उमेरसमूह अनुसार २५–२९ वर्षका धेरै छन्, जसमा १९ लाख व्यक्ति छन्। त्यसपछि उमेर समूह २०–२४ वर्षका १८ लाख र उमेर समूह ३५–३९ वर्षका १७ लाख ८० हजार व्यक्ति छन्।

‘तथ्यांक अध्ययन गर्दा बेरोजगार कम देखिन्छ। लगभग ५ प्रतिशत जनसंख्या मात्र बेरोजगार देखिन्छ,’ प्रवक्ता लामिछानेले नागगरिकसँग भने, ‘धेरै जनसंख्या कृषिमा सहभागी रहेको देखिन्छ र ती सबैलाई रोजगार भनेर गणना गरिएको हो। बेरोजगार कम देखिनुको मुख्य कारण यही हो।’

बागमतीमा सबैभन्दा बढी आर्थिक सक्रियता 
जनगणनाको तथ्यांक विश्लेषण गर्दा सबैभन्दा धेरै अर्थात् ३४ लाख आर्थिक रूपमा सक्रिय जनसंख्या बागमती प्रदेशमा रहेको छ भने कर्णाली प्रदेशमा सबैभन्दा कम (९ लाख ५० हजार) मात्र छन्। भौगोलिक क्षेत्रअनुसार हेर्दा तराईमा सबैभन्दा धेरै (७८ लाख) आर्थिक रूपले सक्रिय जनसंख्या छ भने हिमाली क्षेत्रमा सबैभन्दा कम (१० लाख) छ। ‘सहरी तथा ग्रामीण वर्गीकरणका आधारमा हेर्दा आर्थिक रूपमा सक्रिय जनसंख्यामध्ये सबैभन्दा धेरै (५९ लाख) अर्धसहरी क्षेत्रमा छ,’ लामिछानेले भने, ‘ग्रामीण क्षेत्रमा ५८ लाख र सहरी क्षेत्रमा ३९ लाख छन्। १० वर्ष वा सोभन्दा माथिका कुल ८२ लाख (३४.२७ प्रतिशत) जनसंख्या आर्थिक रूपमा सक्रिय नरहेको पाइएको छ,’ उनले थपे, ‘जसले गर्दा नेपालमा श्रमशक्तिभन्दा बाहिर रहेको जनसंख्या धेरै देखिन्छ।’

श्रमशक्ति सहभागिता दर
नेपालमा १० वर्ष वा सोभन्दा माथिको जनसंख्याको श्रम सहभागिता दर ६५.५ प्रतिशत रहेको छ। जसमा पुरुषतर्फ ७१.३ प्रतिशत र महिलातर्फ ६०.४ प्रतिशत रहेको छ। श्रम सहभागिताको उमेर १५–६४ वर्ष मान्ने हो भने यो दर पुरुषका हकमा ८०.३ प्रतिशत र महिलाका हकमा ६७.१ प्रतिशत रहेको छ। श्रम सहभागिता दरलाई उमेर समूहअनुसार हेर्दा ४०–४४ वर्ष उमेर समूहमा सबैभन्दा उच्च (८५.४ प्रतिशत) छ। त्यसपछिको दोस्रो (८४.९ प्रतिशत) र तेस्रो (८४.४ प्रतिशत) ठुलो उमेर समूह क्रमश: ३५–३९ वर्ष र ४५–४९ रहेको देखियो तथ्यांकले उजागर गरेको छ।

कर्णालीमा उच्च श्रमशक्ति सहभागिता
‘प्रदेश स्तरमा पुरुष, महिला र ती दुवैको समग्रलाई तुलना गर्दा श्रमशक्ति सहभागिता दरमा उल्लेखनीय अन्तर देखिन्छ,’ निर्देशक सिलवालले भने, ‘सबैभन्दा उच्च श्रमशक्ति सहभागिता दर कर्णाली प्रदेशमा ७१.१ प्रतिशत देखिएको छ भने सबैभन्दा कम (५७.२ प्रतिशत) मधेस प्रदेशमा देखिएको छ। सहरी र ग्रामीण क्षेत्रमा श्रमशक्ति सहभागिता दरमा स्पष्ट अन्तर देखिन्छ।’ उनका अनुसार ग्रामीण क्षेत्रमा श्रमशक्ति सहभागिता दर सबैभन्दा उच्च (७४ प्रतिशत) छ, त्यसपछि अर्धसहरी क्षेत्रमा (६३.६ प्रतिशत) र सहरी क्षेत्रमा सबैभन्दा कम (५८ प्रतिशत) छ।

लैंगिक दृष्टिकोणबाट श्रमशक्ति सहभागिता दरको सबैभन्दा धेरै विषमता सहरी क्षेत्रमा विद्यमान रहेको उनले आफ्नो प्रस्तुतिमा बताए। जिल्लास्तरमा पनि श्रमशक्ति सहभागितादरमा व्यापक भिन्नता देखिन्छ। यस सूचकको मान सबैभन्दा उच्च (९१.३ प्रतिशत) संखुवासभामा रहेको छ भने सबैभन्दा कम (५२.८ प्रतिशत) महोत्तरी जिल्लामा देखिएको छ।

बालबालिकाका लागि श्रमशक्ति सहभागिता दर २८.७ प्रतिशत छ। आर्थिक रूपले ६५ वर्ष र सोभन्दा माथिको जनसंख्या पनि सक्रिय देखिन्छ र यो उमेर समूहमा श्रमशक्ति सहभागिता दर ४५.९ प्रतिशत रहेको छ (पुरुषतर्फ ५३.४ प्रतिशत र महिलातर्फ ३८.४ प्रतिशत)। शैक्षिक योग्यता अनुसार श्रमशक्ति सहभागिता दर तुलना गर्दा सामान्य अन्तर देखिए पनि उच्चतम शिक्षित जनसंख्याकै श्रमशक्ति सहभागिता दर अधिकतम (७५.७ प्रतिशत) छ। पुरुषतर्फ ८१.२ प्रतिशत र महिलातर्फ ६७.९ प्रतिशत रहेको छ। त्यसैगरी श्रमशक्ति सहभागितादरलाई घरपरिवारहरूको सम्पन्नताको तहअनुसार विश्लेषण गर्दा विपन्न वर्गमा पर्ने परिवारका व्यक्तिहरूमा श्रमशक्ति सहभागिता दर सबैभन्दा उच्च (७०.१ प्रतिशत) छ।

जति धेरै शिक्षित उति धेरै बेरोजगार
उमेर अनुसारको अक्सर बेरोजगारी दर विश्लेषण गर्दा खासगरी १५–१९ वर्ष समूहका युवामा उच्च (९.३ प्रतिशत) बेरोजगारी छ भने दोस्रो (७.६ प्रतिशत) र तेस्रो (६.७ प्रतिशत) मा क्रमश: २०–२४ र २५–२९ वर्ष उमेर समूह रहेका छन्। ग्रामीण क्षेत्रको (४.१ प्रतिशत) तुलनामा सहरी क्षेत्रको (५.६ प्रतिशत) बेरोजगारी दर अधिक देखिएको छ। ‘शैक्षिक बेरोजगारी भनिने शब्दावलीलाई पुष्टि गर्दै शिक्षाको स्तर जति उच्च छ, बेरोजगारी दर पनि त्यति नै उच्च रहेको देखिन्छ,’ लामिछानेले भने, ‘त्यस्तै राम्रो आर्थिक स्थिति भएका घरपरिवारका व्यक्तिहरूका माझमा पनि बेरोजगारी दर उच्च रहेको देखिन्छ।’ 

विश्लेषणबाट देखिएअनुसार आर्थिक रूपले सक्रिय नहुनुको पछाडि उमेर, लिंग, वैवाहिक स्थिति, प्रदेशगत विशिष्टता, बसाइँसराइ र शिक्षा आदि विविध कारक तत्वहरू रहेका देखिन्छन्। आर्थिक रूपले सक्रिय नरहेकामध्ये ४८.६ प्रतिशत मानिसहरूले विद्यार्थी हुनुको कारणले आर्थिक काम नगरेको देखिएको छ। त्यस्तै अन्य कारणमा घरधन्दा (२८.४ प्रतिशत) र वृद्धावस्था (११.८ प्रतिशत) छन्।

रोजगारीको स्थिति
जनगणना २०७८ अनुसार रोजगारको स्थितिलाई चार प्रमुख श्रेणीमा बाँडिएको छ। त्यसमा ४२ लाख (२८.६ प्रतिशत), अरूको काम गर्ने, २ लाख (१.४ प्रतिशत) रोजगारदाता, ८२ लाख (५५.३ प्रतिशत) आफ्नै काम गर्ने र २१ लाख (१४.५ प्रतिशत) परिवारलाई सघाउने छन्। जनगणना २०७८ ले १ करोड ४ लाख (६९.९ प्रतिशत) श्रमशक्तिलाई असुरक्षित रोजगारीमा संलग्न देखाएको छ, जसमा ४९ लाख पुरुष (६३.२ प्रतिशत) र ५४ लाख महिला (६३.२ प्रतिशत) छन्।

रोजगारीका सन्दर्भमा विद्यमान लैंगिक अन्तर, भौगोलिक क्षेत्र र प्रादेशिक स्तरमा रहेका भिन्नता, सामाजिक संरचनाजन्य विषमता आदिलाई दृष्टिगत गरेर यी अनिच्छित विषमताहरू न्यूनीकरणका लागि नीति तथा कार्यक्रम अगाडि सारिनुपर्ने सुझाव प्रतिवेदनको छ।

प्रकाशित: २४ असार २०८२ ०७:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App