१५ माघ २०८२ बिहीबार
image/svg+xml
समाज

माओवादी सांसदको 'चरित्र हत्या'को आरोपमा राप्रपाका युवा नेता पक्राउ, ५ दिन म्याद थप

सामाजिक सञ्जालमा व्यक्तिको चरित्रहत्या हुने गरी अश्लील भिडियो निर्माण गरेको आरोपमा राप्रपाका एक युवा नेता पक्राउ परेका छन् ।

नेकपा (माओवादी केन्द्र) की समानुपातिक सांसद छिरिङल्यामु लामाको चरित्र हत्या गरेको आरोपमा राप्रपाका रमेशबहादुर बडु (बाग) पक्राउ परेका हुन् । नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरी  अदालतबाट उनलाई ५ दिन थुनामा राख्न अनुमति लिएको छ।

उनलाई प्रहरीको साइबर ब्युरोले आइतबार पक्राउ गरेको हो । बागले एआईको माध्यमबाट भिडिओ बनाएर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सांसद लामाको आरोप लगाई उजुरी गरेपछि प्रहरीले पक्राउ गरेको हो। 

बागलाई पक्राउपछि काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरेको साइबर ब्युरोले जनाएको छ। बागले गत असार १९ मा एउटा टिकटक भिडिओ आफ्नो फेसबुकमा सेयर गरेका थिए, जसमा लामा एक युवक (प्रेमी रु) सँग ओठमा चुम्बनरत रहेको देखाइएको छ । बागले भने यो भिडिओ लामा आफैंले बनाएर टिकटकमा राखेको र आफूले ‘के हो यस्तो ?’ भनेर सेयर मात्र गरेको प्रहरीलाई बताएका छन् । सांसद लामाको चुम्बनसहितको तस्बिर विभिन्न साप्ताहिक पत्रपत्रिकामा पनि प्रकाशित भएको थियो । 

राप्रपाले सञ्चारमाध्यममा प्रकाशित सामग्री सामाजिक सञ्जालमा सेयर गरेकै आधारमा पक्राउ गरिएको भन्दै विरोध जनाएको छ ।

पार्टीका प्रवक्ता मोहन श्रेष्ठले भनेका छन्, ‘नेकपा माओवादी केन्द्रको तर्फबाट प्रतिनिधिसभाको समानुपातिक सांसद जुम्लाकी छिरिङ्ग ल्यामु लामाका बारे राष्ट्रिय स्तरको साप्ताहिक पत्रिकामा प्रकाशित भएको समाचार र निज सांसद स्वयंले टिकटकमा पोस्ट गरेको सामग्रीलाई शेयर गरेको कसुरमा पक्राउ गर्ने, अनावश्यक दुस्ख दिने कार्यबाट विधिको शासन, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मूल्य मान्यताको उपहास गरेको छ। युवा नेता बागको अविलम्ब र बिना शर्त रिहाइका लागि राप्रपा सरकारसंग जोडदार माग गर्दछ ।’

 

प्रकाशित: २३ असार २०८२ १७:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App