२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

रौतहट प्रहरीले कुटपिटको घटनामा जाहेरी लिन मानेन, मिलापत्र गर्न पीडित पक्षलाई दबाब

रौतहट प्रहरीको ध्यान तस्करीतर्फ केन्द्रित हुँदा पीडितहरू भने झन् पीडित बन्न पुगेका छन्। तस्करी गराउने र तस्करीको सामान समात्ने काममा रौतहट प्रहरीको ध्यान केन्द्रित भएको देखिएको छ। नेपाल-भारत सीमा क्षेत्रमा व्यापक तस्करी मौलाइरहँदा सर्वसाधारण पीडितहरू भने झन् पीडित बन्नु परेको छ।  

रौतहट प्रहरीले धमाधम तस्करीको सामान समातेर सम्बन्धित निकायमा बुझाउने गरेको छ। तस्करी रोक्ने काम पनि प्रहरीकै हो तर तस्करीमा संलग्न व्यक्ति र सामान समातेर भन्सार तथा राजस्व कार्यालयमा बुझाउने काम भने धमाधम भइरहेको छ । तस्करीको सामान समातेर बुझाउँदा प्रहरीले कमिसन पाउने र अन्य सुविधा पाउने गरेका छन्। 

रौतहटको कटहरिया नगरपालिका-७ बगहीका लालबिहारी साहलाई गाउँका केही मानिसहरूले मरनासन्न हुने गरी कुटेको घटनाले प्रहरीको काम र उद्धेश्यप्रति आशंका उत्पन्न भएको छ । साहलाई जमिन विवादमा ६ जनाले मरनासन्न हुने गरी कुटेको घटनालाई पटकपटक जाहेरी लिएर जाँदा लिनै नमानेको पीडितको भनाइ छ।  

इलाका प्रहरी कार्यालय गरुडाबाट करिब सात किलोमिटर रहेको बगही गाउँमा साह र किताब मियाँ धोबीबिच जमिनको विषयमा गत बिहीबार विवाद हुँदा धोबीका आफन्तहरूले निर्घात कुटपिट गरेको थियो। अपाङ्गता भएका साहको हात र खुट्टाको हड्डी ६ टुक्रा भएको डा. सुनिलकुमार साहले बताए । उपचार गराइरहेका साहको पीडा अलिकति पनि प्रहरीले सुनेको छैन।

घटना भएको दिन गरुडा प्रहरीले अली हुसेनलाई समातेर ल्याएको थियो। साहलाई कुटपिट गरी गम्भीर घाइते बनाएको हुँदा हुसेनलाई प्रहरीले एक रात हिरासतमा राखेर छोडिदियो। घटनाको भोलिपल्ट प्रहरीले मियाँ पक्षको पनि मानिस घाइते भएको भन्दै साहको बारेमा चासो राख्नै छाडेको छ। पीडित भन्छन्, ‘गरुडा प्रहरीले नक्कली घाइते खडा गराएको छ।’  

साहका आफन्तहरू इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी लिएर जाँदा प्रहरीले सुन्दै सुनेको छैन। कुटाइ पनि खाने र प्रहरीको उपेक्षाको व्यवहार पनि भोग्ने गरी पीडित झन् पीडित बन्ने गरेको पाइएको छ।  

पीडित साह अस्पतालको बेडबाट न्यायको गुहार मागिरहेका बेला गरुडा प्रहरी भने पीडकको पक्षमा वकालत गर्दै दुई पक्ष बसाएर छलफल गराउने एकोहोरो रटान लागिरहेको छ। बगहीका वडाध्यक्षको कुरोमात्र प्रहरीले सुनिरहेको पीडित साहको आरोप छ।  

पीडित साह न्यायको लागि सबैतिर हार गुहार गरिरहेका छन्। साहको अवस्था देखेर गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले प्रहरीले न्याय गर्नबाट चुकेको र जिम्मेवारीबाट पन्छिन खोजेको बताउँछन्। वास्तविक पीडितको कुरा सुन्दै नसुन्ने अवस्था देखेपछि आफूले मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी उमा चतुर्वेदीसित कुरा गरेको बताउँदै नगर प्रमुख साहले पीडितको कुरा प्रहरीले सुन्नुपर्ने बताउँछन्।  

द्वन्द्वकाल २०५८ सालमा इलाका प्रहरी कार्यालय गरुडाको प्रमुख हुँदा नेपाल प्रहरीका आइजीपी दीपक थापा यस क्षेत्रको जनजनको मनमनमा बसेका व्यक्ति हुन्। स्थानीयले आइजीपी थापालाई भगवान् सरह मान्ने गरेको र इप्रका गरुडाको कार्यक्षेत्रको नुनदेखि सुनसम्मको जानकारी राख्ने गरेका छन्। जसमाथि सबैले शिर ठाडो पार्ने गरेका छन्, उनै व्यक्ति नेपाल प्रहरीको प्रमुख हुँदा उनकै पुरानो कार्यक्षेत्रमा प्रहरीले पीडितको कुरा नसुन्नु गज्जब भएको स्थानीय बताउँछन्।

पीडित साह स्वयं आइजीपी थापासित द्वन्द्वकालमा पटकपटक भेट गरेको बताउँछन्। आफूले पनि भगवानजस्तो न्यायप्रेमी मानेको व्यक्ति प्रहरी प्रमुख हुँदा आफू ठाडो अन्यायमा पर्दा पनि प्रहरीले आफ्नो कुरा नसुन्नु परम पीडाको विषय भएको साह बताउँछन्।

प्रकाशित: १६ असार २०८२ १६:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App