नेपाली कांग्रेसका केन्द्रीय सदस्य कर्ण बुढाले युवाहरूलाई नेतृत्व हस्तान्तरण नगरेसम्म मुलुकको समृद्धि नहुने बताएका छन्।
नेपाल विद्यार्थी संघद्वारा शनिबार अनामनगरमा आयोजित ‘कर्णालीदेखि काठमाडौंसम्म युवाको आवाज’ नामक कार्यक्रममा प्रमुख अतिथि रहेका बुढाले कर्णालीमा विकासका लागि प्रचुर सम्भावना रहेको बताए। यहाँ भएका हिमाल, जडिबुटी, गुफा, गुम्बा, मठ्मन्दिर, नदी, तालतलैया जस्ता सम्पदामा लगानी गरेर राज्यले ठुलो फाइदा लिन सक्ने उनको भनाइ छ।
बुढाले कर्णालीको विकासका लागि सबै एकजुट हुनुपर्ने जिकिर गरे। अहिले कांग्रेसमाथि चौतर्फी आक्रमण भइरहेको र यस्ता समूहलाई परास्त गरेर अघि बढ्न सके मात्र विकास र समृद्धि सम्भव हुने उनले स्पष्ट पारे।
यस्तै कार्यक्रमका संयोजक रहेका नेविसंघका केन्द्रीय सदस्य कविराज शाहीले विकासका अथाह सम्भावना भएको कर्णालीमा सरकारले उचित ध्यान नदिएको बताए। यस कार्यक्रममार्फत आफूहरूले कर्णालीतर्फ सरकारको ध्यानकेन्द्रित गराउने जमर्को गरेको शाहीको भनाइ छ।
उनले यो कार्यक्रम सुरुवात मात्रै भएको र आगामी दिनमा यस्ता गतिविधिहरूलाई निरन्तरता दिँदै जाने स्पष्ट पारे। साथै कर्णालीको विकासका लागि सरोकारवाला सबै निकायको ढोका ढक्ढक्याउने शाहीको भनाइ छ।
इ.सन्तोष आचार्यले संचालन गरेको कार्यक्रममा गत चैतमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेविसंघबाट निर्वाचित भएका कर्णालीका युवा विद्यार्थीहरूलाई सम्मान गरिएको थियो।
कार्यक्रममा कांग्रेसका महासमिति सदस्य कृष्ण रिजाल, नेविसंघ केन्द्रीय सदस्य तथा विधान समिति संयोजक एन पि आचार्य, कर्णाली स्वास्थ विज्ञान प्रतिस्ठानका पूर्वरजिस्ट्रार इ. विश्वराज काफ्ले, युवा नेता इ.नवराज त्रिपाठी र कर्णालीका स्थानीयहरू लगायतको उपस्थिति थियो।
कार्यक्रमको अन्तमा कर्णालीका कला संस्कृति झल्काउने देउडा नाच समेत गरिएको थियो।
प्रकाशित: १५ असार २०८२ १३:२५ आइतबार





