सुनसरीको रामधुनी नगरपालिका वडा नं. ७ मा दुई मोटरसाइकल ठोक्किँदा बाबुछोरासहित तीन जनाको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन्।
शनिबार राति ७ बजे चतरा–कान्छी चौक सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा रामधुनी वडा नं. ६ का ३४ वर्षीय इनर्चन चौधरी र उनको नौ वर्षीय छोरा प्रनिशको मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ।
दुवै जनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक लेखनाथ दाहालले बताए। सोही दुर्घटनामा इनर्चनकी श्रीमती ३२ वर्षीया प्रतिक्षा चौधरी घाइते भएकी छन्। तीनै जना प्रदेश १–०२–०५६ प ५८६४ नम्बरको मोटरसाइकलमा थिए।
यस्तै, दुर्घटनामा इनरुवा वडा नं. ६ का ५१ वर्षीय विन्दु यादवको मृत्यु भएको छ। कान्छी चौकबाट कालाबन्जारतर्फ जाँदै गरेको को ३३ प ९६०५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०५६ प ५८६४ नम्बरको अर्को मोटरसाइकल एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको हो। दुर्घटनामा को ३३ प ९६०५ मा सवार इटहरी ७ का ३६ वर्षीय रमेश चौधरी घाइते भएका छन्।
प्रकाशित: १५ असार २०८२ १०:२७ आइतबार





