जैमिनी नगरपालिकाले तीन वर्षदेखि चर्चामा सीमित बाँदर बगैंचाको काम सुरु गर्ने भएको छ। सत्रौं नगरसभा र आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख नरबहादुर पुनले कृषिको उत्पादकत्व बढाउन बाँदर नियन्त्रण जरुरी भएको नीतिमा उल्लेख गरे।
बाँदरका कारण किसानले बस्ती छाडेका, उत्पादकत्व घटेको र जमिन बाँझो छाड्न थालेपछि यो काम सुरु गर्ने नीतिमा नगरपालिका पुगेको हो। वडा नं ८ छिस्तीको पुरानो गाउँमा बाँदर बगैंचा निर्माणको काम सुरु गर्ने नीतिमा उल्लेख छ। वन ऐन र वन्यजन्तुसम्बन्धी कानुनले बाँदर बगैंचा निर्माणको काम रोकेको छ। बाँदरलाई संघ सरकारले कृषिको हानिकारक वन्यजन्तुमा राख्ने भएपछि बाँदर बगैंचा बनाएर किसानको बाली संरक्षण गर्ने जैमिनीको नीति आएको हो।
किसानलाई प्रोत्साहन गर्न जैमिनीले पशुपालनतर्फ बाख्रा जोन बनाउने र दूध उत्पादन बढाउने नीति लिएको छ। दुग्धजन्य परिकारलाई मूल्य शृंखलामा जोडेर बन्द भएका फार्म सञ्चालनमा प्रोत्साहन गरिने भएको छ। यसका लागि ‘निःशुल्क नश्ल सुधार, दूध उत्पादनको आधार’ भन्ने नारा तय गरिएको छ। दूध उत्पादन र बिक्रीमा नगरपालिकाले अनुदान दिने भएको छ।
कृषि क्षेत्रमा आकर्षण बढाउन र किसानलाई सम्मान गर्न नगरपालिकाले किसानलाई परिचयपत्र दिने भएको छ। सबै किसानलाई सूचीकरण गरेर परिचयपत्र दिने योजना छ। जैमिनीलाई सबै किसान सूचीकरण भएको पालिका बनाइने नगरप्रमुखको नीतिमा उल्लेख छ। ‘सेरा जाऔं केरा खाऔं’ को निरन्तरतासहित सुन्तला पकेट, बाख्रा जोनलगायत कार्यक्रम सञ्चालन गर्ने नीतिमा उल्लेख छ। कृषि र पशुपालनमा धेरै किसान जोडिएकाले उनीहरूलाई प्राविधिक सीप, अनुदान र बिक्रीका लागि किसान सूचीकरण जरुरी भएको पुनको भनाइ छ।
किसानका लागि नीतिमा धेरै बुँदा समावेश छन्। यसअनुसार अण्डा र मासुमा आत्मनिर्भर बनाउने, उत्पादन र बिक्रीमा आधारित अनुदान दिएर किसान प्रोत्साहन कार्यक्रम ल्याइएको उनले बताए। हलगोरु पाल्ने किसानलाई प्रोत्साहन गर्ने, राँगो र बंगुरको मासु बिक्रीमा जोड्ने, पाडापाडी उत्पादन बढाएर चीनसम्म मासु निर्यातको तयारी गर्ने जैमिनीको योजना छ।
गत वर्ष नै सुरु गर्ने भनिएको कृषि एम्बुलेन्स सञ्चालन गर्ने नीति आएको छ। उत्पादन बढाउन पशुको निःशुल्क नश्ल सुधार, खोप, औषधि र उपचारदेखि उत्पादन बजार पठाउने काममा नगरले किसानलाई साथ दिने भएको छ।
परम्परागत बालीको उत्पादन बढाउने नीति पनि नगरको छ। सिरिम्ले मकै, कोदो, फापर, सिस्नो, टिमुर, भांगो, आलु र निउरोलगायत उत्पादनको लेबलिङ र प्याकेजिङ गरिने नीतिमा उल्लेख छ। शिक्षाको गुणस्तर बढाउन लिड स्कूलमार्फत पढाइ सञ्चालन गर्ने, सुत्केरी महिला, आकस्मिक बिरामी र जटिल दुर्घटनाका बिरामीलाई हेलीउद्धार गर्न सबै वडामा हेलिप्याड बनाउने भएको छ। दस वडा रहेको जैमिनीमा अघिल्लो वर्ष तीनवटा वडामा पक्की हेलिप्याड बनाइएको छ।
छोरी जन्मेमा जन्मदर्ता गर्दा २ हजार ५ सय रुपैयाँको खाता खोलिदिने नीति पनि नगरले ल्याएको छ। बजेटमा सुनिश्चितता गरेर यो नीति ल्याइएको नगरउपप्रमुख हरिहर शर्माले बताए। नीतिमा १३ दिगो सडकलाई निरन्तरता दिने, बसपार्क निर्माण गर्ने, अलपत्र परेको प्रशासकीय भवन सक्ने, सबै वडा कार्यालय निर्माण गरेर आफ्नै भवनबाट सेवा दिने नीति पनि लिइएको छ। रासस
प्रकाशित: ९ असार २०८२ ०९:०३ सोमबार



-600x400-wm.jpg)

