२० पुस २०८२ आइतबार
image/svg+xml
समाज

सुब्बाको ‘स्वर्ग’ त्रिभुवन विमानस्थल

दुर्गम जिल्लाहरूमा सुब्बाको अभाव रहँदा त्रिभुवन विमानस्थलमा भने खचाखच कर्मचारी खटाउने गरिएको पाइएको छ। गृह मन्त्रालयले दुर्गम जिल्लाहरूमा सुब्बा पनि पठाउन नसक्दा विमानस्थल अध्यागमन कार्यालयमा भने दरबन्दीभन्दा बढी कर्मचारी खटाएको पाइएको हो।

गृह मन्त्रालयले यसरी दरबन्दीभन्दा बढी कर्मचारी खटाएको पाइएपछि प्रधानमन्त्री कार्यालयले गृहसचिव गोकर्णमणि दवाडीलाई सात दिने स्पष्टीकरणसमेत सोधेको छ। विमानस्थल अध्यागमन कार्यालयमा एक सय २१ दरबन्दी रहेकोमा यसअघि एक सय ४० भन्दा बढी अधिकृतहरू खटाइएका थिए। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव तीर्थराज भट्टराईलाई अनुसन्धानमा तानेपछि बढी भएको दरबन्दी कटौती गरिएको छ। हाल विमानस्थल अध्यागमन कार्यालयमा एक सय ९१ जना अधिकृत कार्यरत छन्। साथै नौ जना सुब्बाको दरबन्दी रहेकोमा भट्टराई कार्यालय प्रमुख रहेको बेला १८ जना कार्यरत थिए। अहिले नौ जना मात्रै राखिएका छन्। ६ जना उपसचिवको दरबन्दी रहेकोमा यसअघि आठ जना थिए। अहिले ६ जनामा झारिएको छ।

गृह मन्त्रालयले दुर्गमका आफ्ना कार्यालयहरूमा अधिकृत र सुब्बाको दरबन्दी पूरा गर्न नसकेका बेला विमानस्थल अध्यागमन कार्यालयमा भने दोहोर्‍याएर तेहेर्‍याएर जाने गरेको पाइएको छ। ‘दुई पटक तीन पटक अध्यागमनमा जाने कर्मचारीहरू पनि छन्। दुर्गममा जान कोही मान्दैनन्। धेरै जिल्ला प्रशासन कार्यालयले कर्मचारी नभएर काम गर्न कठिन भएको गुनासो गरिरहेका छन् तर अध्यागमन कार्यालयमा भएका कर्मचारी भने माथिल्लो तहको सोर्स लगाएर बसिरहेका हुन्छन्,’ गृह मन्त्रालयका एक अधिकारीले भने।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा दुरुपयोगमा मुछिएका भट्टराईसहित ट्राभल एजेन्सीका सञ्चालहरूलाई बयान लिन सुरु गरेपछि त्यहाँ खटाइएका दरबन्दीबारे पनि चासो राखेको थियो। त्यसक्रममा अख्तियारले प्रधानमन्त्री कार्यालयलाई गृह मन्त्रालयको दरबन्दीको विवरण र खटाइएको कर्मचारीबारे जानकारी मागेको थियो। अख्तियारकै पत्र आएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गृहसचिव दुवाडीलाई सात दिने स्पष्टीकरण सोधेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अध्यागमन कार्यालयमा दरबन्दीभन्दा बढी कर्मचारी पठाएको भन्दै सात दिने स्पष्टीकरण सोधेको हो। 

गृहसचिव दुवाडी हाल विदेशमा छन्। प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्कीले गृह सचिव दुवाडीलाई लेखेको पत्रमा दरबन्दी बढी कर्मचारी खटाउनुको कारण माग गर्दै त्यसको विवरण उपलब्ध गराउन आग्रह गरेका छन्। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीले प्रधानमन्त्री कार्यालयले दरबन्दीहरू चुस्तदुरुस्त राख्न निर्देशन दिनु सामान्य भएको बताए। ‘प्रधानमन्त्री कार्यालयले मातहतका मन्त्रालयलाई बेलाबखत निर्देशन दिनु सामान्य विषय हो,’ प्रवक्ता तिवारीले भने।

गृह मन्त्रालयअन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय र केही जिल्ला प्रशासन कार्यालयहरूमा दरबन्दीभन्दा बढी कर्मचारी राखिएको तथा दरबन्दी नभएका स्थानमा काजमा कर्मचारी खटाइएको विषयमा समाचार प्रकाशित भएपछि काजमा खटिएका कर्मचारीको सबै विवरण उपलब्ध गराउन आग्रहसमेत गरिएको छ।

विमानस्थल अध्यागमन कार्यालयमा दरबन्दीभन्दा बढी खटिएका कर्मचारीलाई केही दिनअघि फिर्ता गरिएको थियो। भिजिट भिसा दुरूपयोग प्रकरणमा गृहसचिव दुवाडीका विश्वासपात्र मानिएका सहसचिव तीर्थ भट्टराईलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धानमा तानेपछि विमानस्थलस्थित अध्यागमन कार्यालयमा दरबन्दीभन्दा बढी कर्मचारी खटाएको पाइएको थियो। 

अख्तियारले सो विषयमा जेठ १३ गते पत्र लेखी तत्काल छानबिन र कारबाही गर्न निर्देशन दिएसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गृहलाई पत्र पठाएको थियो। निजामती सेवा ऐन २०४९ को दफा १८ (क) को उल्लंघन भएको उल्लेख गर्दै काज खटाउने प्रावधानको पालना नगरे तलबभत्ता र सुविधा काज खटाउने पदाधिकारीबाट असुल हुने र विभागीय कारबाही हुने व्यवस्था सम्झाइएको छ। 

प्रधानमन्त्री कार्यालयका सचिव कार्कीले गृह सचिव दुवाडीलाई सात दिनभित्र दरबन्दीभन्दा बढी कर्मचारी कार्यरत निकाय र ती कर्मचारीको नामसहितको विवरण उपलब्ध गराउन निर्देशन दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गृहसचिव दुवाडीसँगै र संघीय मामिला तथा सामान्य प्रशासन सचिवलाई कारबाहीको चेतावनीसहितको पत्र पठाएको थियो। जेठ २१ गते गृह सचिव दुवाडी र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थलाई कारबाहीको चेतावनीसहितको पत्र पठाइएको थियो।

 ‘दरबन्दीभन्दा बढी कर्मचारी कार्यरत निकाय र कार्यरत कर्मचारीको नाम नामेसीसहितको विवरण यथाशीघ्र उपलब्ध गराउन र सात (सात) दिनभित्र अनिवार्य रूपमा दरबन्दीबमोजिम कर्मचारी व्यवस्थापन गरीगराई सोको जानकारी यस कार्यालयमा समेत उपलब्ध गराउन अनुरोध गर्छु,’ प्रधानमन्त्री कार्यालयका सचिव कार्कीले दुवै सचिवलाई पत्राचार गरेर भनेका थिए। 

विमानस्थलस्थित अध्यागमन कार्यालयमा उपसचिवहरू अञ्जन न्यौपाने, अच्युत श्रेष्ठ, खेमराज उपाध्याय, चूर्णबहादुर खत्री, सुरेश आचार्य, निराजन श्रेष्ठ, ईश्वरीदत्त पनेरू र फणीन्द्र पौडेल कार्यरत थिए। अहिले यो संख्या ६ मा झारिएको छ। भिजिट भिसामा सेटिङको उजुरीपछि अख्तियारले अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई जेठ ७ गते नियन्त्रणमा लिएको थियो भने लगत्तै गृहले दरबन्दीभन्दा बढी रहेका नायब सुब्बा र कम्प्युटर अपरेटरको सरुवा गरेको थियो।

प्रकाशित: २७ जेष्ठ २०८२ ०६:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App