२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

हृदयन्द्र 'प्यारा' कि 'मोहरा’ ?

'बेबी किङ'को अवधारणा नयाँ होइन। २०६२/०६३ को जनआन्दोलनपछि राजालाई कुनै न कुनै स्पेस दिन तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नै 'बेबी किङ'को प्रस्ताव गरेका थिए। ज्ञानेन्द्र शाहले सो प्रस्ताव अस्वीकार गरेपछि नै राजासँग कुम जोडिएका भन्ने कोइराला नै गणतन्त्र घोषणाका नायक बने। २०६५ जेठ १५ मा पहिलो संविधानसभा बैठकले गणतन्त्रको घोषणासँगै समाप्ति भएको राजतन्त्रको अस्त्वि त्यति बेला ‘बेबी किङ’ राख्न खोजिएका भनिएका हृदयन्द्रसंगै जवान बनेको छ।

तिनै जवान छोरा हृदयन्द्रलाई बोकेर पूर्व अधिराजकुमारी हिमानी शाह शनिबार जुम्ला पुगिन्। जहाँ जुम्लाबाट चुनाव जितेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले हिमानी र हृदयन्द्रलाई राजावादी समर्थकहरूका साथ जुम्ला विमानस्थलमा पुगेर स्वागत गरे।

यो पहिलो होइन, पूर्व युवराज्ञी हिमानीले आफू सहभागी हुने पछिल्ला कार्यक्रममा हृदयन्द्रलाई पनि सँगै लैजाने गरेकी छिन्। हृदयन्द्रलाई हिमानीले मात्र हैन, आन्दोलनरत राजावादीहरूले काँध थापेर हिँडेका छन्। पारसको त कुरै छाडौँ, पूर्व राजा ज्ञानेन्द्र शाहका नाममा सहमत हुन नसके हृदयन्द्र पनि विकल्प हुन सक्ने प्रस्तावमा राजवादीकै अनेक समूह लागिपरेको छ।

यस्तोमा राजावादी आन्दोलनका सक्रिय राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि नवयुवराजको पक्षमा देखिएका छन्। राजतन्त्रका खेलाडी थापाले एक समय राजासँगको सम्बन्ध तोडेका थिए। उनले राजतन्त्र फर्कन नसक्ने भन्दै हिन्दु राज्यको मागमा मात्र केन्द्रित बने। तिनै थापाले अघिल्लो बुधबार नागरिकसँगको कुराकानीमा उनले ज्ञानेन्द्रपछि पारस नभएर हृदयन्द्र आउन सक्नेतर्फ आफ्नो धारणा राखे।

‘स्वाभाविक रूपले ज्ञानेन्द्र नै हो। शाह वंशीय राजपरम्पराको अहिलेको उत्तराधिकारी भनेकै ज्ञानेन्द्र नै हुन्,’ राजा आउने भए भने को हो अबको राजा? भन्ने नागरिकको प्रश्नमा थापाले भनेका थिए, ‘ज्ञानेन्द्र राजा भइसकेपछि सबै राजनीतिक दलहरूका बिचमा सहमति हुन्छ भने र स्वयं राजाको पनि सहमति हुन्छ भने नाति नवयुवराज हृदयन्द्रलाई उत्तराधिकारीका रूपमा कायम गर्न सकिन्छ।'  

उनी मात्र हैन, राजसंस्था र हिन्दु राष्ट्र पुनः स्थापनाका लागि घोषणा गरिएको संयुक्त जनआन्दोलनका संयोजक नवराज सुवेदी, राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पनि र पारसलाई बाइपास गरेर नाति हृदयेन्द्र शाहलाई राजा बनाउने पक्षमा उभिएका छन्।

‘राजसंस्था फर्कियो भने पूर्वराजा ज्ञानेन्द्र शाह नै राजा हुने हो,’ कमल थापाकै शैलीमा राजावादी आन्दोलनका संयोजक सुवेदी सुनाउँछन्, ‘ज्ञानेन्द्रपछि भने पारस नभएर हृदयेन्द्र शाहलाई राजा बनाउने कुरा हो।’

उनीहरूको ‘हृदयमोह’लाई लिएर टीकाटिप्पणी पनि चलेको छ। कसैले यसलाई हृदयन्द्र प्रति गरिएको मायाको सङ्केतको रूपमा बुझेका छन् भने कतिपयले हृदयन्द्रलाई मोहरा बनाएर राजतन्त्रलाई आकर्षक देखाउने प्रयास गरेको बुझिन्छ।

‘हृदयन्द्र अहिले सामाजिक सञ्जालमा युवायुवतीको आकर्षणका केन्द्र बनेका छन्,’ सामाजिक सञ्जालमा अनुप पुडासैनी लेख्छन्, ‘यही क्रेजलाई ‘भजाउन’ राजावादी लागेका छन्।'

राजतन्त्रलाई खासै मन नपराउने पनि हृदयन्द्रको पक्षमा वकालत गरेको देखिन्छ। ‘ज्ञानेन्द्र, पारसलाई त कहिल्यै राजा मान्न सकिन्न यिनका को कुरा छाडौँ,’ सविन लामा लेख्छन्, ‘हृदयन्द्रलाई राजा बनाएर अगाडि बढे सहमत छु।’ नेताहरूको कार्यंशैलीप्रति दिक्क भएका उनले मुलुकको अखण्डताको लागि हृदयन्द्रको पक्षमा उभिएको लेखेका छन्।

तर उनको यो प्रतिक्रियामा धेरैले टिप्पणी गरेका छन्। राजा मन नपराउनेले फेरि किन राजाको बखान गरेको भन्दै व्यङ्ग गरेका छन्। ‘बाघ मन नपराउनेले डमरु मन पराउन थालेको देखेर अचम्म लाग्छ,’ सुमन कार्की लेख्छन्, ‘तिनले किन नबुझेका होलान्। डमरु एक दिन बाघ बन्ने छ।’

प्रकाशित: २५ जेष्ठ २०८२ ०९:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App