२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

म्युजियममा दुई सय वर्ष पुरानो ‘कामुक’ कन्डम

यस्ताे पनि!

आम्स्टर्डमको विश्वप्रसिद्ध रिज्क्स म्युजियममा लगभग दुई सय वर्ष पुरानो एक दुर्लभ कन्डम प्रदर्शनमा राखिएको छ। यो संग्रहालय प्रख्यात चित्रकारहरू रेम्ब्रान्ट र भर्मियरका कलाकृतिका लागि प्रख्यात छ।

सन् १८३० मा बनाइएको यो गर्भनिरोधक कण्डम भेडाको आन्द्राबाट बनाइएको हुन सक्ने बताइएको छ। कण्डममा एक नन र तीन पादरीहरूको कामुक अवस्था अंकित गरिएको छ। यो फ्रान्सको एउटा वेश्यालयले आफ्ना लागि बनाएको विश्वास गरिएको छ यो दुर्लभ कण्डमका अहिले दुई वटा प्रति मात्र बचेको बताइन्छ। संग्रहालयले यसलाई ‘१९औँ शताब्दीको यौनिकता र वेश्यावृत्तिको झलक’ भनी चिनाएको छ।

रिज्क्स म्युजियमकी क्युरेटर जोयस जेलेनले भनेकी छिन्,‘इरोटिक कला मेरो मनपर्ने अनुसन्धान विषय हो। मैले जब यो कण्डम किन्न संग्रहालय प्रमुखलाई सोधेँ, शुरूमा त उहाँ तर्सनु भयो। वास्तवमा संग्रहालयको संग्रह डेटाबेसमा ‘कण्डम’ शब्द नै थिएन। यो कलात्मक प्रिन्ट गरिएको विशेष वस्तु हो, यो जसरी भए पनि संग्रहालयमा हुनुपर्छ भन्ने कर गरेपछि यसलाई किनिएको हो।’

यसमा एक जना ननले आफ्ना खुट्टा फैलाएर बसेको र तीन पादरीहरूले आफ्नो यौन उत्तेजना देखाइरहेका छन्। ननले एउटालाई देखाउँदै ‘यही मेरो छनौट हो’ भन्ने उद्धरण राखिएको छ। यो उद्धरण पादरीहरूको ब्रह्मचर्य र ग्रीक देवीहरूको पौराणिक न्यायको व्यंग्य हो।

यो कण्डम एक हजार यूरोमा किनिएको थियो। अब संग्रहालयको सात लाख ५० हजार प्रिन्ट, चित्र र फोटोग्राफसँगै यो कण्डमले पनि संग्रहालयको शोभा बढाउने छ। संग्रहालयले भनेको छ, ‘यसले यौन स्वास्थ्यको हाँसो र डर दुवैलाई देखाउँछ। यसले त्यो बेला कामुकताको शमन खोजी गर्दा अनिच्छित गर्भधारण र यौनरोग (विशेष गरी सिफिलिस) को डर थियो भन्ने कथालाई पुट दिन्छ।’

आउँदो नोभेम्बरसम्म चल्ने यस प्रदर्शनीको मुख्य आकर्षण नै अहिले यो कण्डम बन्न पुगेको छ। जेलेनले भनिन्, ‘यो फ्रान्समा बनाइएको हुन सक्छ। यो प्रयोगका लागिभन्दा वेश्यालयको महँगो स्मारिका जस्तो लाग्छ।’

कण्डमको प्रयोग प्राचीन इजिप्टमा छ हजार वर्ष पहिलेदेखि भएको मानिन्छ। जेलेनले भनिन्, ‘१५औँ शताब्दीपछि पशु तथा माछाका झिल्लीबाट बनेका कन्डम प्रयोग हुन्थे। १८३० मा रबरको आविष्कारपछि मात्र रबर कण्डमको प्रयोग शुरु भयो। यसअघि लिनन, माछाको  मूत्राशय वा छालाका कन्डम प्रयोग हुन्थे। ती असुविधाजनक त थिए नै, असुरक्षित पनि उत्तिकै थिए।’

प्रस्तुति: अच्युत कोइराला

प्रकाशित: २५ जेष्ठ २०८२ ०८:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App