१५ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

अध्यागमनबाटै भट्टराईले छाडेका थिए ‘मोष्ट वाण्टेड’

त्रिभुवन विमानस्थलबाट भिजिट भिसाको दुरुपयोग मात्र होइन अन्तर्राष्ट्रिय रुपमा  यात्रा गर्न रोक लगाइएका व्यक्तिहरू सहजै पार गरेको खुलेको छ । तीन महिना पहिला दुई भारतीय नागरिकलाई विना रोकटोक कालो सूचीको पासपोर्ट प्रयोग गरेर उडेका थिए । उनीहरु भारतीय प्रहरीको ‘मोष्ट वाण्टेट’ सूचीमा रहेका थिए ।

कालो सूचीमा रहेका व्यक्तिहरू तेस्रो मुलुक पुगेपछि मात्रै अध्यागमन विभागले थाह पाएर विमानस्थल कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई स्पष्टीकरण सोधेको थियो । ‘तीन महिना पहिला दुई भारतीय नागरिकलाई दुबई उडाइएको पाइयो, उनीहरूको पासपोर्ट कालोसूचीमा थियो भारत सरकारले खोजी गरिरहेको र नेपाल प्रहरीसँग सहयोग मागिरहेको अवस्थामा उनीहरु नेपालको विमानस्थल प्रयोग गरेर बाहिरिएको सूचना सत्य थियो’, अध्यागमन विभागका एक कर्मचारीले भने । त्यसबेला भट्टराईमाथि छानबिन गरिएको थियो । ती व्यक्तिहरू भारतमा अपराध गरी नेपाल आएका थिए । उनीहरुलाई भारतीय प्रहरीले खोजी गरिरहेको थियो ।

तर मन्त्रालयले यसलाई गम्भीर रुपमा नलिएको पाइएको छ । ‘अन्तर्राष्ट्रिय रुपमै कालो सूचीमा परेका व्यक्तिहरुले नेपालको विमानस्थल प्रयोग गरेर बाहिरिएको र त्यसलाई रोक्न नसक्ने अध्यागमन कार्यालयका प्रमुखलाई माफी किन दिइयो भन्ने प्रश्न गम्भीर रहेको छ’, विभागका ती अधिकारी भन्छन् । तर यो विषयमा विभागका कुनै पनि अधिकारीहरू बोल्न चाहेका छैनन् । गृह मन्त्रालयका सहायक प्रवक्ता रविन्द्र आचार्यले यो विषयमा आफूलाई जानकारी नभएको बताए । उनले कर्मचारी प्रशासनलाई जानकारी हुनसक्ने बताएका थिए । कर्मचारी प्रशासन महाशाखाका प्रमुख छवि रिजालसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

त्यसबेला भट्टराई सर्भरमा समस्या आएको देखाएर उम्केका थिए । कालो सूचीमा रहेको पासपोर्टलाई रातो बत्ती देखाउने र कालो सूचीमा नभएको पासपोर्टलाई हरियो देखाउने भएकाले ती दुई भारतीय नागरिकको पासपोर्टमा रातो बत्ती नबलेको भन्दै भट्टराई उम्केका थिए।

तर स्रोतका अनुसार त्यसदिन सर्भरमा कुनै पनि समस्या आएको थिएन। उनलाई माथिल्लो तहबाटै संरक्षण रहेका कारण विमानस्थलमै फिर्ता गरिएको थियो । ‘त्यतिबेला कुनै पनि कारबाही गरिएन, अहिले पनि भिजिट भिसा दुरुपयोगमा जोगाउने प्रयास भइरहेको छ’, मन्त्रालयका एक अधिकारीले भने । ती अधिकारीका अनुसार अध्यागमन विभागले कारबाही गर्न खोज्दा मन्त्रालयले जोगाएको थियो ।

प्रकाशित: १२ जेष्ठ २०८२ १४:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App