पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले मौलिक पर्वले समाजमा शान्ति, सामाजिक न्यायको भावना सुदृढ गर्दै लोकतान्त्रिक मूल्य र राष्ट्रिय एकताको प्रवर्द्धनमा सकारात्मक योगदान पुर्याउने बताएका छन्।
तमु ल्होसारका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले नेपालका विविध सांस्कृतिक सम्पदा, चाडपर्व र संस्कृतिले नेपालीको राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे। नेपाली विविध भाषा, संस्कृति, चाडपर्व र परम्परामा धनी भएको बताउँदै पूर्वप्रधानमन्त्री नेपालले विविधताले सजिएको मुलुकका फरक संस्कृतिले विश्वमा नेपालको विशिष्ट पहिचान स्थापित भएको बताए।
सबै नेपालीबीच आपसी समझदारी, सहकार्य र एकताले समुन्नत, न्यायपूर्ण र समावेशी समाजको निर्माणमा जोड दिँदै उनले आपसी सहिष्णुता, बन्धुत्वको भावना विकास गर्नुपर्ने विचार व्यक्त गरे।
उनले बहुधार्मिक, बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधताले सम्पन्न मुलुकमा धार्मिक तथा सांस्कृतिक पर्वहरूले सामाजिक–सांस्कृतिक ऐक्यबद्धता, सद्भाव र भ्रातृत्वको विकासमा योगदान गर्ने बताए।
स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा प्रगतिका लागि शुभकामना व्यक्त गर्दै उनले संविधानले सुनिश्चित गरेको सांस्कृतिक अधिकार, स्वतन्त्रता र समानताको मर्मअनुसार सबै जाति समुदायबीच समन्वय र सहकार्यको खाँचो औँल्याए।
प्रकाशित: १५ पुस २०८२ ११:३५ मंगलबार





