जुम्लाको पातारासी गाउँपालिका–३ छुमचौर ज्युलामा २२औँ धान दिवस २०८२ मा रोपाइँ सुरु भएको छ। धान महोत्सव आयोजना गरी छुमचौर ज्युलामा रोपाइँ थालिएको हो।
काली मार्सी धान प्रवर्द्धन तथा संरक्षण केन्द्र पातारासी गाउँपालिकाको आयोजना र कृषि विकास कार्यालय जुम्लाको आर्थिक सहयोगमा यो कार्यक्रम भएको हो। ‘जुम्ली मार्सी धान रोपौँ, विश्वको उचाइमा खेती गरिने धानलाई संरक्षण गरौँ’ भन्ने नारा राखिएको छ। समुद्री सतहबाट २ हजार ८५० मिटर उचाइमा रहेको छुमचौरमा धानखेती भएपछि जिल्लामा विभिन्न ठाउँमा रोपाइँ सुरु भएको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले बताए।
संस्कार र संस्कृतिसँग जोडिएको मार्सी धान संरक्षणका लागि किसानमा उत्साह जगाउन रोपाइँ गरिएको उनको भनाइ छ। मार्सी धान खेतीमा रोग–कीरा लाग्ने, पानी धेरै चाहिने र मेहनत बढी लाग्ने तर उत्पादन कम हुने भएकाले किसानले विकल्प खोज्न थालेको उनले बताए।
सिंजा सभ्यतासँग जोडिएको जुम्लामा मार्सी धान लोप हुने अवस्थामा पुगेपछि किसान, स्थानीय सरकार र सरोकारवाला निकाय संरक्षणमा जुटेका छन्। बर्सेनि खेत बाँझो हुँदै गएकाले किसानले मार्सी धान खेती छोड्न थालेका छन्। कतिपयले खेत बाँझै राखेका छन्। सिँचाइ सुविधा पुगेमा थप ३४ हेक्टरमा रोपाइँ हुन सक्ने सम्भावना छ।
विश्वको उच्च स्थानमा कालीमार्सी धान फल्ने छुमचौर ज्युलामा कतिपय किसानले जौ, गहुँ, मकै र आलु रोपेका छन्। कृषिमा महिला मात्रै खटिनुपर्ने र धान खेतीमा धेरै परिश्रम गर्नुपर्ने भएकाले विगतदेखि नै किसानले मकै, गहुँ, कोदो र जडीबुटी संकलनमा ध्यान दिएको स्थानीय बताउँछन्।
छुमचौरकी ललिता बोहोराले मार्सी धानको पहिचान महत्वपूर्ण भएको तर मरुवा रोगले उत्पादन कम हुँदा किसानको जोस घट्दै गएको बताइन्। त्यस्तै, पुनी महताराले छुमचौर ज्युलालाई कृषि पर्यटन क्षेत्र घोषणा गरी रोपाइँ व्यवस्थित गर्न सरकारसँग माग गरिन्। विश्वको सबैभन्दा अग्लो स्थानमा धान फल्ने रेकर्ड गिनिजबुक अफ वर्ल्ड रेकर्डमा छ।
छुमचौर ज्युलामा वि.सं. २०२१ देखि रोपाइँ सुरु भएको थियो। बीचमा उत्पादन कम भएकाले रोपाइँ रोकिएको थियो। यो क्षेत्रमा सिमी, जौ, गहुँ, मार्सी धान र यार्सागुम्बा स्थानीयको प्रमुख आम्दानीका स्रोत हुन्। रोपाइँ र यार्सागुम्बा टिप्ने सिजन एकै समय पर्दा किसानको रोजाइ यार्सामा गएको वडा अध्यक्ष गोविन्द बुढाले बताए। उनले भने, ‘संसारको अग्लो ठाउँमा फल्ने धान खेती हेर्न पर्यटक आउन् र चामल यहीँबाट बिकोस् भन्ने हाम्रो चाहना छ।’
सहायक प्रमुख जिल्ला अधिकारी मीनबहादुर रावलले जुम्ली मार्सी धान पहिचान र आदर्श भएको बताए। उनले भने, ‘मार्सी धानको माग धेरै छ, मूल्य पनि उच्च छ। किसानले गुणस्तरीय धान उत्पादन गर्नुपर्छ। यसले गरिबी निवारणमा योगदान दिन्छ।’ कृषि विकास कार्यालय जुम्लाका अनुसार, जुम्लामा २ हजार ८०० हेक्टरमा धानखेती भइरहेको छ। रोपाइँमा भूमि आयोगका विज्ञ सदस्य सुमन आचार्य, सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिको सहभागिता थियो।
प्रकाशित: ५ जेष्ठ २०८२ २१:०० सोमबार





