२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

टोकन प्रणालीबाट सहज सरकारी सेवा पाएपछि नगरवासी हर्षित

जुम्लाको चन्दननाथ नगरपालिका–४, भारतीबाडाका प्रकाश उपाध्याय भेटघाटका लागि नगरपालिका कार्यालय पुगे। त्यहाँ उनले ठूलो अक्षरमा ‘एकीकृत सेवा प्रवाह सञ्चालन केन्द्र’ लेखिएको देखे। 

अचम्म मान्दै सहयोगी कर्मचारीसँग सोधे, ‘म हाकिमलाई भेट्न आएको छु, हुनुहुन्छ कि?’ कर्मचारीले जवाफ दिए, ‘हाकिम कार्यकक्षमा छन्, तर टोकन लिनुपर्छ।’ उपाध्यायले टोकन लिए, दर्ता गराए र हाकिमसँग भेटे। सामान्य भेटघाटपछि उनी घर फर्के।

प्रकाश मात्र होइन, चन्दननाथ नगरपालिकामा पुग्ने सबै सेवाग्राहीले यही तरिकाले सेवा लिन्छन्। पहिले जस्तो कोठा–कोठा धाउनुपर्ने बाध्यता अब छैन। टोकन लिएर एकीकृत सेवा प्रवाह सञ्चालन केन्द्रमा पुगेपछि कर्मचारीले काम सकेर खबर गर्छन्। काम कति समय लाग्छ वा कति भयो भन्ने जानकारी प्रतीक्षा कक्षको स्क्रिनमा हेर्न सकिन्छ।  

नगरपालिका–३ की रमा उपाध्यायलाई मूल ढोकामा कर्मचारीले काम सोधेर टोकन लिई केन्द्रमा जान सुझाए। टोकन प्रणालीबाट बसेर सेवा लिएपछि उनी खुसी भइन्। उनले भनिन्, ‘काम सक्दा ढिलो हुन्छ होला सोचेको थिएँ। तर, एकैछिनमा भयो। कोठा–कोठा धाउनु परेन, एकै ठाउँमा सेवा पाइयो।’ 

सेवाग्राहीलाई सहज र कम समयमा सेवा दिन चन्दननाथ नगरपालिकाले एकीकृत सेवा प्रवाह सुरु गरेको छ। सुरुमा सोधपुछ कक्षमा सहजीकरण गरिन्छ। त्यसपछि सेवाग्राहीले भेटघाट वा कामको टोकन लिन्छन्। जनप्रतिनिधि वा कर्मचारी भेट्न पुगेकाले १० मिनेटभन्दा बढी कुर्नु पर्दैन। अन्य कामका लागि पुगेकाहरू केन्द्रमा जान्छन्। त्यहाँ कार्यालय स्वचालन प्रणालीमार्फत सेवाको प्रकृतिअनुसार दर्ता हुन्छ। फाइल दर्तापछि कर्मचारीले वर्गीकरण गरी सम्बन्धित शाखालाई समय तोकेर काम पठाउँछन्।  

हरेक शाखाले सिस्टममार्फत कामको जानकारी पाउँछ र तोकिएको समयमा सक्छ। कागजात नपुगेमा सुरुमै सेवाग्राहीलाई प्रमाण जुटाउन भनिन्छ। गुनासोका लागि पेटिकाको व्यवस्था पनि छ।  

स्थानीय सूर्य थापाले सहज सेवा पाउँदा खुसी लागेको बताए। उनले भने, ‘पहिले कसैले के पुगेन, कसैले के भन्थे, सेवा लिनै मन लाग्दैनथ्यो। अहिले एकै ठाउँमा बसेर सेवा पाइन्छ।’ योजना सम्झौता, रकम भुक्तानी, प्रस्तावना पेस गर्न टोकन लिनुपर्छ, जसले सेवा सहज भएको छ।  

पहिले टोकन नहुँदा सेवाग्राही घण्टौँ लाइनमा बस्नुपर्थ्यो। हल्ला र विवादले पालो पाउन कठिन हुन्थ्यो। पहुँचवालाको काम छिटो र पहुँच नहुनेले हप्तौँ कुर्नुपर्थ्यो। तर, टोकन प्रणालीले सबैको आवाज सुनिन्छ। थापाले भने, ‘अहिले हरेक कोठामा फाइल पुर्‍याउनु पर्दैन। दर्ता भएको फाइल कर्मचारीले सम्बन्धित फाँटमा पुर्‍याउँछन्।’  

उपप्रमुख रामदेवी खड्काले एकीकृत सेवा प्रवाहले नागरिकलाई सेवा दिन सहज भएको बताइन्। नियमित र अत्यावश्यक सेवासँगै समावेशी योजना र बजेट निर्माणमा पनि सजिलो भएको उनको भनाइ छ। प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले भने, ‘टोकनले कर्मचारी पनि नियमित छन्। सेवाग्राहीले दुख पाएका छैनन्।’ हालसम्म एक हजार २४८ जनाले टोकनमार्फत सेवा लिएको तथ्याङ्क छ। अन्य सात गाउँपालिकामा पनि यो अभ्यास आवश्यक रहेको बताइएको छ।

प्रकाशित: ५ जेष्ठ २०८२ १९:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App