१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

पाटनमा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकिल कार्यालय, पाटनको भवन शिलान्यास गरेका छन्।

बुद्धजयन्तीको अवसरमा आज बडालले भवन शिलान्यास गर्दै सरकारी वकिल कार्यालयको भवन निर्माण सुरु हुनु महत्वपूर्ण उपलब्धि भएको बताए।

‘पाटनको भवन निर्माण महत्वपूर्ण उपलब्धि हो, कामकाजमा सहज हुनेछ,’ उनले भने, ‘कार्यालयको भवन निर्माण समयमै गुणस्तरीय रूपमा सम्पन्न गर्न जरुरी छ।’

उच्च अदालत पाटनका कामु मुख्यन्यायाधीश लालबहादुर कुँवरले कार्यालयको कामको बोझलाई ध्यानमा राख्दै नयाँ भवन निर्माणले कार्यमा सहजता ल्याउने विश्वास व्यक्त गरे।

पाटनका सहन्यायाधिवक्ता शङ्कर खत्रीले भवन शिलान्यासको चरणसम्म पुग्न जग्गा प्राप्ति, भवनको डिजाइन, डिपिआर र स्रोत सुनिश्चिततामा सहयोग गर्ने सबै सरोकारवाला निकाय, पदाधिकारी र महान्यायाधिवक्ताको कार्यालयलाई धन्यवाद दिए।

लगभग २६ करोड रुपैयाँ लागतमा निर्माण सुरु भएको यो आधुनिक साततले भवन उच्च सरकारी वकिल कार्यालय, पाटनको हुनेछ। कार्यक्रममा महान्यायाधिवक्ताको कार्यालयका नायब महान्यायाधिवक्ता, सहन्यायाधिवक्ता, उपन्यायाधिवक्ता, सहायक न्यायाधिवक्ता, ललितपुरका प्रमुख जिल्ला अधिकारी, उच्च अदालत पाटनका न्यायाधीश, रजिष्ट्रार, जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख, उच्च अदालत पाटन बार इकाईका अध्यक्षलगायत उपस्थित थिए। रासस

प्रकाशित: २९ वैशाख २०८२ १३:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App