८ माघ २०८२ बिहीबार
image/svg+xml
समाज

एकल महिला र पुरुषलाई पाँच हजारसहित सम्मान

रिब्दीकोट गाउँपालिका–१ ख्याहाले एकल महिला र पुरुषलाई सम्मान गरेको छ। वडा कार्यालयले समाजमा सम्मानजनक रूपमा जिउने वातावरण बनाउन १५ महिला र पुरुषलाई नगद रु पाँच हजारसहित सम्मान गरेको छ।

विवाह नगरेका ३५ वर्षमाथिका महिला, ४० वर्षमाथिका पुरुष, श्रीमान् गुमाएका ६० वर्षमुनिका एकल महिला र श्रीमती गुमाएका ७० वर्षमुनिका एकल पुरुषलाई सम्मान गरिएको वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताए।

जोगीथुमका केशव कुमालले भने, ‘श्रीमतीको १४ वर्षअघि मृत्यु भयो, छोराछोरीको हेरचाहका लागि दोस्रो विवाह गरिनँ, अहिले न छोराछोरीले हेरे, न त आफन्त र सरकारले नै, वडा कार्यालयबाट हामीजस्ता दुःख पाएका व्यक्तिलाई नगदसहित सम्मान गरेकामा खुसी लागेको छ।’

वडाले सम्मान गरेकामा बन्दना सुनारले खुसी व्यक्त गर्दै भने, ‘मेरा कुनै दाजुभाइ छैनन्, म बाबुआमालाई पालेर बसेकी थिएँ, बाबुआमाको मृत्युपछि म एकल जीवन बिताउँदै आएकी छु। एकल रूपमा भए पनि समाजमा आफ्नो काम गरेर जीविकोपार्जन गरेकी छु।’ उनले सम्मानबाट प्राप्त रकम औषधोपचार र आपत्–विपद्मा खर्च गर्ने बताइन्।

एकल महिला शारदा सुनारले वडा कार्यालयले गाउँका जनतासँग जोडिने काम गरेको बताइन्। उनले राज्यबाट कहीँकतै सम्बोधन नभएका एकल महिला र पुरुषलाई वडाले सम्मान गरेर हौसला बढाएको उल्लेख गर्दै सङ्घीय सरकारले पनि एकल महिला र पुरुषको विषयमा नीति सुधार गर्नुपर्ने बताइन्। रासस

प्रकाशित: २८ वैशाख २०८२ ०९:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App