नेपाली श्रमिकको लागि कुनै शुल्क नतिर्ने, शून्य लागतमा मलेसिया जाने अवसर खुलेको छ।
आकर्षण इन्टरनेसनल म्यानपावरले ८ सय जना नेपाली श्रमिकलाई रोजगारदाताले नै खर्च व्यहोर्ने व्यवस्था मार्फत मलेसियामा पठाउने भएको हो।
आकर्षण म्यानपावर र लाल धनुष इन्टरनेसनल सर्भिस प्रणालीको सहकार्यमा मलेसियास्थित बहुराष्ट्रिय कम्पनी वेस्टर्न टेक्नोलोजीले नेपाली श्रमिकलाई कुनै पनि शुल्क नलिई ९शून्य लागतमा० रोजगारीका लागि मलेसिया लैजान लागेको हो।
रोजगारदाताले नै सम्पूर्ण खर्च व्यहोर्ने व्यवस्था अन्तर्गत मलेसियाबाट ८ सय जनाको कोटा खुलेको हो। यसअघि पनि वेस्टर्न टेक्नोलोजी कम्पनीले विगत तीन–चार वर्षदेखि नेपाली श्रमिकलाई निरन्तर रूपमा शून्य लागतमा मलेसिया लगिरहेको छ।
आकर्षण म्यानपावरका अध्यक्ष विष्णु केसीका अनुसार वेस्टर्न टेक्नोलोजीले श्रमिक मलेसिया पुग्नु अघि नै प्रत्येक श्रमिकका लागि १ लाख २० हजार रुपैयाँ अग्रिम रूपमा पठाउने गर्दछ।
सोही रकमबाट श्रमिकले पासपोर्ट बनाउने, श्रम स्वीकृति लिने, भिसा, टिकट, मेडिकल परीक्षण, बिमा, पूर्व–प्रस्थान अभिमुखीकरण तालिम, रोजगार सम्झौता तथा सामाजिक सुरक्षासम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्नेछन्। यसरी श्रमिकले आफ्नो खल्तीबाट एक रुपैयाँ पनि तिर्नु नपर्ने व्यवस्था गरिएको उनले बताए।
उनका अनुसार यसअघि पनि वेस्टर्न टेक्नोलोजीले करिब ५ सयको हाराहारीमा नेपाली श्रमिकलाई शून्य लागतमा मलेसिया लगिसकेको छ। हालसम्म २ सय ५० जना नेपाली श्रमिक सोही कम्पनीमा काम गरिरहेका छन्।
वेस्टर्न टेक्नोलोजी बहुराष्ट्रिय कम्पनी भएकाले श्रमिकसँग कुनै पनि किसिमको शुल्क लिन नपाइने स्पष्ट नीति रहेको छ। कम्पनीमा जाने श्रमिकले आफ्नो पासपोर्ट आफैँ राख्न पाउने, साथै यदि कम्पनी मन नपरे १५ दिनभित्र नेपाल फर्किन सक्ने व्यवस्था पनि गरिएको छ।
‘वेस्टर्न टेक्नोलोजीले नै श्रमिकको सम्पूर्ण लागत तिर्ने हो,’ आकर्षण म्यानपावरका अध्यक्ष केसीले भने, ‘बहु राष्ट्रिय कम्पनीमा रोजगारदाताले नै श्रमिक बिदेसिँदा लाग्ने सबै शुल्क तिर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता छ। ८ सय जना नेपालीलाई शून्य लागतमा लैजानु वैदेशिक रोजगार क्षेत्रमा नेपालीका लािग खुसीको कुरा हो।’
नेपाली श्रमिकको इमानदारी, लगनशीलता र कार्यकुशलताका कारण कम्पनीले निरन्तर रूपमा नेपाली श्रमिकलाई प्राथमिकता दिँदै आएको अध्यक्ष केसीले बताए।
आकर्षण म्यानपावरले विगत १० वर्षदेखि शून्य लागतमा वैदेशिक रोजगारी उपलब्ध गराउँदै आएको छ। हाल मलेसियामा काम गर्न इच्छुक हजारौँ नेपालीले आवेदन दिइरहेका छन् र अन्तर्वार्ता प्रक्रिया जारी रहेको उनले बताए।
अध्यक्ष केसीले वैदेशिक रोजगारीमा देखिँदै आएको दलाल र ठगीको समस्याप्रति चिन्ता व्यक्त गर्दै भने, ‘हामीले नेपाली श्रमिकलाई वैध, सुरक्षित, पारदर्शी र जिम्मेवार प्रक्रियामार्फत विदेश पठाउन प्रतिबद्ध छौँ। श्रमिकलाई ठगीबाट जोगाउनु र उनीहरूको सीपअनुसार रोजगारीमा जोड्नु हाम्रो मुख्य उद्देश्य हो।’
मलेसियामा हाल न्यूनतम १ हजार ७ सय रिंगिट तलब तोकिएको छ। मलेसिया सरकारले आफ्ना नागरिक र आप्रवासी श्रमिकबिच न्यूनतम तलब समान रूपमा लागु गर्दै आइरहेको छ।
प्रकाशित: ७ माघ २०८२ २१:४७ बुधबार





