२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

निर्वाचन गराउन आएकाहरू नै चुनाव लड्नु चरम अवसरवाद: अभियान्ता पाण्डे

जेन-जी आन्दोलनकी अभियान्ता तनुजा पाण्डेले आन्दोलनको बलमा बनेको नागरिक सरकारमा सहभागी मन्त्रीहरूले अहिले पदबाट राजीनामा दिई दलीय राजनीतिमा लाग्नु चरम अवसरवाद भएको बताएकी छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पाण्डेले निर्वाचन गराउन वा संक्रमणकालीन व्यवस्थापनका लागि स्वतन्त्र र विज्ञका रूपमा सरकारमा गएका व्यक्तिहरू नै पछि निर्वाचनमा सहभागी हुनु आन्दोलनको मर्मविपरीत भएको बताएकी हुन्।

अभियान्ता पाण्डेले पुर्वमन्त्री कुलमान घिसिङ, बब्लु गुप्ता, जगदीश खरेल र महाविर पुन चरम अवसरवादको जिउँदो उदाहरण भएको आरोप लगाइन्।

‘प्रश्न केवल उहाँहरूको राजीनामासँग सम्बन्धित छैन, समस्या त उहाँहरूको नियुक्ति स्वयंबाट सुरु हुन्छ। त्यो नियुक्ति नै आन्दोलनको नैतिक पूँजी लुट्दै, जेन-जी आन्दोलनको रगत, आक्रोश र भरोसामाथि टेक्दै गरिएको सचेत नैतिक द्रोह र आन्दोलनको अपहरण थियो।’

पाण्डेले वर्तमान सरकार सडकमा गोली खाएका युवाहरू र परिवर्तनका लागि ज्यान जोखिममा राख्ने नागरिकहरूको बलिदानबाट उभिएको नागरिक सरकार भएको स्मरण गराइन्।

यस्तो ऐतिहासिक क्षणमा मन्त्री हुनु भनेको केवल पद प्राप्ति नभई आन्दोलनप्रतिको प्रतिबद्धता र सत्ता संयमको परीक्षा पास गर्नु रहेको उनको भनाइ छ।

‘सत्ता हात परेपछि पार्टीको झण्डा बोकेर निस्कनु, संगठन निर्माणमा लाग्नु र अन्ततः दलीय राजनीतिमै विलय हुनु विश्वासघात हो,’ पाण्डेले प्रश्न गरेकी छन्, ‘यदि अन्त्यमा दलकै शरणमा जानु थियो भने गैरदलीय, स्वतन्त्र र विज्ञको मुखौटा किन लगाइयो ?’

उनले सहिदको रगतलाई राजनीतिक करियर सुरक्षित गर्ने भर्‍याङ मात्र बनाइएको भन्दै आक्रोश व्यक्त गरिन्।

आन्दोलन बेचेर सत्तामा पुग्ने र सत्तामा पुगेपछि फेरि आन्दोलन नै बेचेर राजनीतिमा प्रवेश गर्न खोज्नेहरू परिवर्तनका संवाहक नभई परिवर्तन बेच्ने दलाल भएको उनको जिकिर छ।

‘यस्ता द्वैध चरित्रहरूले जेन-जी आन्दोलनको आत्मामाथि प्रहार गरेका छन्,’ उनले भनिन्, ‘सडकमा उभिएका हजारौं युवाहरूलाई फेरि एकपटक राज्यबाट ठगिएको अनुभूति गराइएको छ।’

पाण्डेले यस्ता अवसरवादी प्रवृत्तिलाई समर्थन गर्नुअघि जेन-जी सम्झौता, सहिदलाई न्याय र इतिहास जलाउने विनाशकारीलाई कारबाहीको विषयमा प्रश्न गर्नुपर्नेमा जोड दिएकी छन्।

प्रकाशित: ७ माघ २०८२ २२:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App