११ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

भोजपुर बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो

धरानबाट धनकुटा हुँदै भोजपुर आउँदै गरेको को १ ख २१७७ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ।

सोमबार धनकुटा नगरपालिका–६ औद्योगिक ग्राम नजिक भएको बस दुर्घटनामा तीन जनाको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते धनकुटा नगरपालिका–६ की ७३ वर्षीया कृष्णकुमारी भुजेलको धनकुटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। चालक सुनसरीको धरान उपमहानगरपालिका–१३ का ५१ वर्षीय रुद्र तामाङको पनि सोमबार बेलुका मृत्यु भएको थियो।

उपचाररत भोजपुर षडानन्द नगरपालिका–१३ का ५८ वर्षीय लीलाबहादुर श्रेष्ठको आज बिहान धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहान ४ बजे मृत्यु भएको धनकुटा प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अन्य घाइतेमध्ये दुई जनाको धनकुटा अस्पताल, एक जनाको नोबेल अस्पताल विराटनगर र बाँकीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। दुर्घटनामा १४ जना घाइते भएका थिए, जसमध्ये तीन जनाको मृत्यु भइसकेको छ।

दुर्घटनामा घाइते हुनेमा षडानन्द नगरपालिका–१३ का सूर्यमणि तामाङ, अनमोल तामाङ, सुनसरी बराहक्षेत्र नगरपालिका–२ का कृष्ण राउत, भोजपुर पौवादुङमा गाउँपालिका–३ च्याङग्रेका गङ्गाप्रसाद सापकोटा, भोजपुर नगरपालिका–११ का सविना बराइली, देवी विक, धनकुटा साँगुरीगढी गाउँपालिका–६ का हंशबहादुर राई, षडानन्द नगरपालिका–११ की पूर्णमाया तामाङ, धनकुटा साँगुरीगढी गाउँपालिका–६ की दीर्घमाया राई, इटहरीका आयुष राई र धनकुटा–६ का धनकुमार बिक रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। रासस

प्रकाशित: २३ वैशाख २०८२ ११:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App