१३ पुस २०८२ आइतबार
image/svg+xml
समाज

पर्यटक लोभ्याउँदै भिरचोक सामुदायिक घरबास

रूपा गाउँपालिका भिरचोक गाउँका भोजबहादुर गुरुङ र उनकी श्रीमती छलुको घरआँगन देख्दै चिटिक्क परेको छ । घरको मूल ढोकाको छेउमा भिरचोक सामुदायिक होमस्टे (घरबास) नं. ९ भनेर लेखिएको सूचना झुन्ड्याइएको छ। 

उनीहरूले घरमा तीनवटा कोठा घरबासका लागि छुट्याएका छन्। बाहिर घरआँगन मात्र होइन गुरुङ दम्पतीले पाहुनाका लागि छुट्याएका कोठा पनि सजाएर राखेका छन्। कोठामा प्रयोग गरिने सिरकडसना पनि सफा छन्। उनका एक छोरा र एक छोरी वैदेशिक रोजगारीमा छन् भने दुई छोरा र एक छोरी पोखरामा बस्छन्। 

छोराछोरी बाहिर भए पनि उनीहरू होमस्टेका माध्यमबाट पर्यटकलाई स्वागत गरिरहेका छन्। यहाँ आउने पाहुनालाई राख्ने पालो आएसँगै अतिथिलाई न्यानो आतिथ्यता प्रदान गर्दै आइएको गुरुङले बताए। होमस्टेको नियम अनुसारका ‘प्याकेज’ मा कुनै कमी नहुने गरी उनीहरूले बेलुकाको खाजा नास्तादेखि खाना र बिहानको खाजा खुवाउने गरेका छन्। प्याकेजका लागि प्रतिव्यक्ति एक हजार २०० निर्धारण गरिएको छ।

कतिपय सुन्दर गाउँ रोजगारी तथा सुविधाको खोजीका नाममा खाली हुँदै गइरहेको अवस्थामा गुरुङ दम्पतीले गरेको यो प्रयास अरूका लागि पनि अनुकरणीय देखिन्छ। पेसाले भारतीय सेनामा रोजगारी गरी निवृत्त भएर गाउँ फर्किएका गुरुङ ५१ सालपछि यहाँ बस्दै आएका छन्। गाउँको स्वच्छ हावपानी छोडेर सहरतिर जान मन नलाग्ने बताउँदै उनले पछिल्ला समयमा गाउँमा सबै किसिमका सेवा सुविधा आइसकेको बताएका छन्।

‘पहिला गाउँमा खानेपानीको ठूलो दु:ख थियो, अहिले भने घरघरमा खानेपानीको सुविधा आएको छ’, उनले भने, ‘पानीसँगै गाउँमा बाटो कलोपत्र भइसकेको छ, यहाँ सुविधा सबैजसो आइसकेको छ।’ पानीको चरम असुविधाका बखत सबैभन्दा पहिले वल्र्ड भिजन भन्ने संस्थाबाट वर्षाको पानी संकलन गर्ने गरी घरघरमा घैंटो निर्माण गरिदिएको भन्दै उनले त्यसपछि स्थानीय खानेपानी आयोजनाबाट पानीको सुविधा प्राप्त भइरहेको जानकारी गराए।

गाउँको पर्यटकीय सुन्दरता र सम्भावनालाई दृष्टिगत गरी विगत एक वर्षयता यहाँका चिसापानी र भिरचोक गाउँको संयुक्त प्रयासमा चिसापानी भिरचोक सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको जानकारी होमस्टेका अध्यक्ष धनबहादुर गुरुङले दिए। 

होमस्टे सञ्चालनको सुरुवातसँगै विगतमा गाउँ छोडेका पनि क्रमश: फर्कन थालेका बताउँदै उनले आफूहरू होमस्टेका माध्यमबाट गाउँको पर्यटकीय सम्भावनालाई उजागर गर्ने अभियानमा जुटेको बताए।

यहाँस्थित चिसापानी गाउँ करिब एक हजार तीन सय ६५ मिटर उचाइमा रहेको छ भने नजिकै १० मिनेटको पैदलयात्रापछि भिरचोक गाउँ पुगिन्छ। समुद्री सतहबाट करिब एक हजार दुई सय ३३ मिटर उचाइमा भिरचोक गाउँ रहेको छ। चिसापानी र भिरचोक गाउँको संयुक्त प्रयासमा यहाँका ३० घरमा होमस्टे सञ्चालन भइरहेको अध्यक्ष गुरुङले बताए।

उनका अनुसार भिरचोकका ११ घर र चिसापानीका १९ घरमा होमस्टे सञ्चालन गरिएको छ। यहाँका होमस्टेमा पाहुनाका लागि सकेसम्म आफ्नै खेतबारीमा उत्पादन भएको प्रांगारिक खाना खुवाउने गरिन्छ। त्यस्तै सांस्कृतिक रूपमा उनका स्थानीयले पाहुनालाई गुरुड संस्कृति अन्तरगतका सोराठी, घाटु, चरित्र, चुड्का, झोरा जस्ता विभिन्न नृत्य देखाउने गरिएको जानकारी अध्यक्ष गुरुङले दिए।

पर्यटकले यहाँस्थित हात्तीमता भ्यु प्वाइन्टसँगै नेपालको सबैभन्दा अग्लो झण्डाको साथमा रूपाकोट काल भैरवको मन्दिर, दुर्गादेवी मन्दिर, शिव, कमलादेवी, सरस्वती बराज्यु आदि धार्मिक एवं ऐतिहासिकस्थल अवलोकन गर्न पाउँछन्। रासस

प्रकाशित: २२ वैशाख २०८२ १०:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App