उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बिच पार्टी एकता गर्ने सहमति भएको छ।
लामो समयदेखिको अनौपचारिक संवादपछि आइतबार काठमाडौंमा बसेको दुवै पार्टीका शीर्ष नेताहरूको संयुक्त बैठकले एकताको औपचारिक निर्णय गरेको हो।
आइतबार सम्पन्न बैठकपछि जारी संयुक्त प्रेस विज्ञप्तिमा दुवै पार्टीका अध्यक्षहरू उपेन्द्र यादव र महन्थ ठाकुरले हस्ताक्षर गरेका छन्।
जसपा नेपालका प्रवक्ता मनीष सुमनका अनुसार देशको समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्दै मधेश केन्द्रित यी दुई ठुला शक्तिहरू एक ठाउँमा उभिने निष्कर्षमा पुगेका हुन्।
सहमति पत्रमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई संस्थागत गर्न र अग्रगामी परिवर्तनका मुद्दाहरूलाई बलियो बनाउन एकता अपरिहार्य रहेको उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्याङ्कन तथा विश्लेषण गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई संस्थागत गर्दै संघीयता, पहिचान, समानुपातिक समावेशिता, सामाजिक न्याय लगायतको अग्रगामी परिवर्तनका मुद्दाहरूलाई मजबुत गर्दै न्यायपूर्ण समाज निर्माण गर्ने आवश्यकतालाई आत्मसात गरी जसपा, नेपाल र लोसपा नेपाल पार्टी एकीकरण गर्ने निर्णय गरियो।’

प्रकाशित: १३ पुस २०८२ २१:०७ आइतबार





