प्रतिनिधिसभा सदस्य निर्वाचन आउन १८ दिन बाँकी हुँदा उज्यालो नेपाल पार्टीले आइतबार आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। पार्टीले आर्थिक रूपान्तरण, रोजगारी सिर्जना, ऊर्जा निर्यात र गरिबी न्यूनीकरणलाई मुख्य एजेण्डा बनाएको छ। उसले सन् २०३५ सम्म नेपाललाई उच्च मध्यम आय भएको मुलुकमा रूपान्तरण गर्ने प्रतिबद्धता समेत गरेको छ।
घोषणापत्रमा पार्टीले कुल गार्हस्थ्य उत्पादन सन् २०३० सम्म ७० अर्ब डलर र २०३५ सम्म १११ अर्ब डलर पुर्याउने लक्ष्य लिएको छ। साथै ऊर्जा क्षेत्रमा पार्टीले २०३५ सम्म २५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ भने विद्युत भारत, बंगलादेश र चीनमा निर्यात गरी वार्षिक ५ अर्ब डलर राजश्व आर्जन गर्ने योजना रहेको उल्लेख गरेको छ।
पार्टीले निर्यात क्षेत्रलाई सुदृढ बनाउँदै २०३० सम्म १० अर्ब डलर र २०३५ सम्म २० अर्ब डलर पुर्याउने लक्ष्य लिइएको छ भने जलविद्युत, जडीबुटी, सिमेन्ट, पर्यटन र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखेर व्यापार घाटा घटाइने बताइएको छ।
रोजगारीमा २०३० सम्म वार्षिक ९ लाख र २०३५ सम्म १५ लाखलाई रोजगारी दिने र ४० वर्षमुनिका युवाका लागि सीप विकास कार्यक्रम सञ्चालन गर्दै नेपालमा परिवारसँग बस्ने वातावरण बनाउने प्रतिबद्धता उल्लेख गरेको छ ।
त्यसैगरी पर्यटन क्षेत्रमा २०३० सम्म २० लाख र २०३५ सम्म ५० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राख्दै पर्यटकीय पूर्वाधार, हवाई सेवा विस्तार, कलात्मक वस्तु उत्पादन र सूचना प्रविधिको प्रयोग गरी वार्षिक १० अर्ब डलर राजश्व आर्जन गर्ने दाबी गरेको छ ।
बेरोजगारी दर २०३० सम्म ८ प्रतिशतभन्दा कम र २०३५ सम्म ५ प्रतिशतमा झार्ने लक्ष्य राख्दै प्राविधिक तथा व्यावसायिक तालिम र वैदेशिक लगानी विस्तारबाट रोजगारी दिने बताएको छ ।
वर्तमान समयमा २० दशमलव १ प्रतिशत रहेको गरिबी दरलाई २०३० सम्म १५ प्रतिशत र २०३५ सम्म १० प्रतिशतमा लक्ष्यसहित पार्टीले निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको हो।
प्रकाशित: ३ फाल्गुन २०८२ १७:०८ आइतबार





