१० पुस २०८२ बिहीबार
image/svg+xml
समाज

महायज्ञमा एक करोड २० लाख सङ्कलन

शिव पुराण महायज्ञमा बिहीबारसम्म रु एक करोड २० लाख सङ्कलन भएको छ । नगरकोट भ्रमण वर्ष–२०८२ का अवसरमा धार्मिक पर्यटनको विकास गर्ने तथा १०८ फिट अग्लो कल्पेश्वर महादेवको मूर्तिसहित कल्पेश्वरधाम निर्माणका लागि उक्त महायत्र आयोजना गरिएको हो ।

चाँगुनारायण नगरपालिका–८ कलमसीमा कालिका कल्पेश्वरधाम निर्माण गर्ने र त्यही महादेवको मूर्ति स्थापना गर्ने सङ्कल्पका साथ यही वैशाख २ गतेदेखि महायज्ञ आरम्भ भएको हो । चाँगुनारायण–८ का वडाअध्यक्ष एवं महायज्ञ आयोजक समितिका संयोजक जनक खत्रीका अनुसार कलमसीमा करिब ८० रोपनी क्षेत्रफलमा महादेवको मूर्तिका साथै त्यस वरिपरि एक हजार आठ शिवलिङ्ग स्थापना गर्न लागिएको जानकारी दिए।

उनले भने, “यस स्थानमा कल्पेश्वरधाम निर्माणका लागि गुरुयोजना निर्माण गरी करिब रु ६ करोडको लागतमा विभिन्न संरचना निर्माण भइसकेका छन् । महादेवको मूर्ति निर्माण गर्न दाताको सहयोग प्राप्त भइरहेको छ ।”

कल्पेश्वर महादेव मन्दिर नगरकोट भ्यू टावरबाट नजिकै रहेको छ । यहाँबाट काठमाडौँ उपत्यकालगायत काभ्रको नाला, बनेपा धुलिखेलसम्मको दृश्यावलोकन गर्न सकिन्छ । कलमसी क्षेत्र चाँगुनारायण–८, ९ र बनेपा नगरपालिका–१ को सङ्गमस्थल हो । यस क्षेत्रमा नागकुण्ड, गोसाइँकुण्ड, २७ धारा, नारायण कुण्डलगायतका धार्मिक संरचना रहेका छन् । यस क्षेत्र आसपास पूर्वमा पुण्यवती नदी, सपनेश्वर महादेव मन्दिर, दक्षिणमा ठूली ब्रह्मायणी मन्दिर, बालकुमारी मन्दिर, पश्चिममा सरस्वती मन्दिर, मणिकर्णिका धाम, वाल्मीकेश्वर महादेव, बागेहिणी महादेव, थाकलमोठस्थित लोकेश्वर महादेव मन्दिर र उत्तरमा रजपुरेश्वर महादेव मन्दिर रहेको छ ।

प्रकाशित: १२ वैशाख २०८२ १७:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App