संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडिपी)ले नेपालका दुई युवा पर्वतारोहीलाई जलवायु अभियन्ताका रूपमा मनोनीत गरेको छ। नेपाल जलवायु न्यायप्रति जनचेतना अभिवृद्धि गर्न ख्यातिप्राप्त युवा पर्वतारोहीद्वय पूर्णिमा श्रेष्ठ र निमा रिन्जी शेर्पालाई युएनडिपीले जलवायु अभियन्ता मनोनीत गरेको हो।
पूर्णिमा फोटो पत्रकार तथा पर्वतारोही हुन् । उनले हिमाल आरोहणमा महिला सहभागिता र अधिकारका पक्षमा वकालत गर्दै आएकी छन्। उनी आठ हजार मिटरभन्दा अग्ला नेपालका सात वटा शिखर सफलतापूर्वक आरोहण गर्ने पहिलो महिला पर्वतारोही पनि हुन्।
यस्तै निमा आठ हजार मिटरभन्दा अग्ला विश्वका सबै १४ वटा शिखर सफलतापूर्वक आरोहण गर्ने कान्छा पर्वतारोही हुन्। उनलाई जेन–जेड पुस्तासँग सशक्त संवाद र सजिलैसँग जोडिन सक्ने गरी कथा प्रस्तुत गर्ने क्षमता भएको व्यक्तिका रूपमा युएनडिपीले लिएको छ।
लैङ्गिक उत्तरदायी जलवायु न्यायमा क्रियाशील युवाहरूको नयाँ पुस्ताको प्रतिनिधित्वका रूपमा दुवै जनालाई मनोनीत गरेको युएनडिपीले जनाएको छ। यस अभियानको मुख्य उद्देश्य महिला र आदिवासी समुदायजस्ता संवेदनशील समुदायमा जलवायु परिवर्तनले परिरहेको असमान प्रभावहरूलाई उजागर गर्नु रहेको युएनडिपीले भनेको छ।
‘नेपालको विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा नगण्य प्रभाव भए तापनि, यहाँका उच्च पहाडी र हिमाली क्षेत्रका बासिन्दाहरूले गम्भीर जलवायु असरहरूको सामना गर्नुपरेको छ,’ विज्ञप्तिमा युएनडिपीले भनेको छ, ‘यो क्रमशः बढ्दै जाँदा हिमनदी खुम्चिने र जैविक विविधताको ह्रास आउने देखि कृषि, स्वास्थ्य, खानेपानी, पूर्वाधार, शिक्षा र मानिसको जीवनयापनलाई समेत असर पर्ने हुन्छ।’
सन् २०२० मा युएनडिपी र इसिमोडले तीन वर्ष लगाएर गरेको एक अध्ययनअनुसार नेपालमा दुई हजार ३२३ हिमताल छन्। जसमध्ये ४७ वटा हिमताल अति नै जोखिममा रहेको देखाएको छ। विश्वका हिमनदी प्रणालीको महत्त्वपूर्ण स्थान ओगटेका नेपाली हिमाललाई भविष्यका पुस्ता लागि सुरक्षित राख्न तत्काल सामूहिक प्रयास आवश्यक रहेको युएनडिपीले भनेको छ।
‘जलवायु परिवर्तन केवल वातावरणीय मापदण्डसम्म सीमित विषय होइन–यो मौलिक रूपमा सामाजिक न्यायको विषय हो,’ युएनडिपीकी नेपालस्थित आवासीय प्रतिनिधि क्योको योकोसुकाले भनिन्, ‘पूर्णिमा र निमाजस्ता प्रभावशाली व्यक्तित्वसँगको सहकार्यमार्फत हामी जलवायु प्रभावित समुदायहरूको आवाजलाई अझ सशक्त रूपमा प्रस्तुत गर्न र भावी पुस्तालाई क्रियाशील जलवायु संवादमा संलग्न गराउन चाहन्छौँ।’
युएनडिपीले सगरमाथा संवादमार्फत नेपाली आवाजलाई विश्वसामु अझ बुलन्द बनाउन चाहेको पनि उनले बताइन्।
यस्तै जलवायु अभियन्तामा मनोनीत पूर्णिमाले जलवायु परिवर्तनका प्रभाव हिमालमा स्पष्ट देख्न सकिने बताइन। उनले भनिन्, ‘पर्वतारोहण पहिलेभन्दा निकै खतरापूर्ण भएको छ। हाम्रा उपकरणहरू बरफ र हिउँका लागि बनाइएका हुन्, तर अहिले हामीले भेटिरहेको सबै चट्टान मात्र हो।’
यस्तै निमाले धेरै हिमालहरूमा हिउँ अपेक्षाभन्दा छिटो पग्लिरहेको बताए । ‘जसले थप चट्टानको सतहलाई बाहिर ल्याउँदै चढ्न कठिन बनाइरहेको छ,’ उनले भने, ‘सुरुको चरणमा पग्लिएको हिउँले वरपरका गाउँहरूलाई खानेपानी उपलब्ध गराएता पनि, भविष्यमा ती समुदायहरू हिमताल विस्फोटजन्य बाढीको विनाशकारी जोखिममा पर्न सक्छन्।’
मनोनीत अभियन्ताले सामाजिक सञ्जाल अभियानअन्तर्गत आफ्ना अनुभवका कथाबाट जलवायु न्याय सम्बन्धी सार्वजनिक संवादलाई प्रभावकारी बनाउने युएनडिपीको अपेक्षा छ।
प्रकाशित: ९ वैशाख २०८२ १९:३७ मंगलबार





