सुक्खायाम सुरु भएसँगै देशका विभिन्न भूभागमा रहेका वन क्षेत्रमा डढेलो गएको छ। डढेलोले विकराल रूप लिँदा ठाउँठाउँमा ठुलो जनधनको क्षति भइरहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मुलुकका अढाइ सयभन्दा बढी स्थानमा डढेलो लागिरहेको छ। डढेलोकै कारण वायु प्रदूषण बढ्दा जनस्वास्थ्य प्रभावित भएको छ। अस्पतालमा आँखा, मुटु, फोक्सो, मिर्गाैलालगायतका बिरामी बढेका छन्।
रौतहट संवाददाता मदन ठाकुरका अनुसार मधेस प्रदेशमा लगातार आगो लाग्ने क्रम रहिरहँदा क्षति पनि बढ्दै गएको छ। आगलागी तथा डढेलोले जनधनको क्षति गरिरहेको छ। डढेलो मुख्य रूपमा चैतदेखि जेठसम्म लाग्ने गर्छ। चैतको मध्यदेखि यो वर्ष पनि घरगोठ तथा जंगलमा भयावह रूपमा आगलागी हुन थालेको छ।
२०८१ साउनदेखि फागुनसम्म मधेस प्रदेशमा आगलागीका ६ सय १३ घटना भए। आगलागीबाट एक हजार तीन सय ६१ परिवार प्रभावित भई २८ करोड पाँच लाख आठ हजार चार सय ८५ रुपैयाँ बराबरको क्षति भएको छ। मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख डिआइजी लालमणि आचार्यले आगलागीका घटनाबाट यस प्रदेशमा १२ जनाको मृत्यु तथा ६७ जना घाइते भएको तथ्यांक दिए। मधेसमा सबैभन्दा बढी आगलागीका घटना सप्तरीमा भएका छन्। गत फागुनसम्म सप्तरीमा आगलागीका एक सय १५ घटना भएका छन्।
यसैगरी सिरहामा पाँच, धनुषामा ६६, महोत्तरीमा ६५, सर्लाहीमा ६८, रौतहटमा आठ, बारामा ६५ र पर्सामा ५१ वटा आगलागीका घटना भएका प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
आगलागीबाट सबैभन्दा बढी कच्ची घर प्रभावित हुने गरेको देखिएको छ। मधेसमा आगलागीबाट पक्की घर एक सय ३२, कच्ची घर एक सय ४८ तथा गोठ एक सय २१ गरी चार सय एक घरमा आगलागी तथा क्षति भएको छ। कतिपय घर पूर्णत: सखाप भएका छन् भने कतिपय घर आंशिक जलेका छन्। मधेस प्रदेशमा आगलागीका घटनाबाट एक सय ६४ पशु चौपायाको मृत्यु भएको छ भने ६१ चौपाया घाइते भएको प्रदेश प्रहरी कार्यालयको जनाएको छ। प्रदेश प्रहरी प्रमुख डिआइजी आचार्यले आगलागीको घटनाबाट जोगिन र भइसकेपछि तुरुन्तै निभाउन समाजका सबै पक्ष एक भई तदारुकता देखाउनुपर्ने बताउँछन्।
गर्मी चर्किएसँगै रौतहटको वन क्षेत्रमा डढेलोका घटनामा पनि वृद्धि भएको छ। हरेक वर्ष डढेलोबाट वन क्षेत्रमा ठुलो क्षति हुने गरेको भए पनि नियन्त्रणको पूर्वतयारी नहुँदा यस्तो क्षति न्यूनीकरण हुन सकेको छैन। चालु आर्थिक वर्षमा रौतहटको लमाहा वन क्षेत्रमा डढेलोले ठुलो क्षति पुर्याएको छ। घाट गदी गरेर राखेको अवस्थामा चार चट्टा दाउरा जलेर नष्ट भएको जिल्ला वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख हेमन्तप्रसाद साहले बताएका छन्।
जिल्लामा रहेको तीस हजार हेक्टर वन क्षेत्रमध्ये अहिलेसम्म धेरै ठाउँमा सानोतिनो र एकपटक ठुलो डढेलो लागिसकेको छ। राष्ट्रिय वनमा पशु चौपाया चरिचरन गराउने तथा घाँस दाउरा लिन जानेहरूले नयाँ घाँस पलाओस् भनेर जानीजानी आगो लगाउने गरेको प्रमुख साहको भनाइ छ। रंगपुर साझेदारी वन उपभोक्ता समूह रौतहटका अध्यक्ष अशोकप्रसाद यादवले वन क्षेत्रमा जथाभाबी बिँडी, चुरोट सेवनकर्ताको हर्कतबाट वनमा डढेलो लाग्ने गरेको बताएका छन्। डढेलो रोक्न स्थानीय नै बढी सजग तथा सचेत हुनुपर्ने यादवको सुझाव छ।
दाङ संवाददाता देवेन्द्र बस्नेतका अनुसार गर्मी मौसम सुरु भएयता लुम्बिनी प्रदेशको तीन हजार बढी हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ। प्रदेश वन निर्देशनालयको तथ्यांकअनुसार तीन हजार एक सय ८१ हेक्टर वन क्षेत्रमा डढेलो लागेको हो। अहिलेसम्म प्रदेशका १२ जिल्लाका एक सय ९३ स्थानमा डढेलो लागेको छ। डढेलोमा परी एक जनाको मृत्युसमेत भएको छ भने दुई जना घाइते भएका छन्। यसैगरी सयौं बोटबिरुवा जलेर नष्ट भएको निर्देशनालयको तथ्यांकले देखाएको छ।
जिल्लागत रूपमा हेर्दा सबैभन्दा बढी डढेलो रुकुम पूर्वमा लागेको छ। यहाँ एक हजार एक सय २० हेक्टर वन क्षेत्रमा डढेलो लागेको निर्देशनालयले जनाएको छ। ६ स्थानमा आगो लागेको र तीन हजार दुई सय ७६ बोटबिरुवा जलेर नष्ट भएको निर्देशनालयका सूचना अधिकारी डिलाराम पौडेलले जानकारी दिए। उनका अनुसार आगो निभाउने क्रममा ढुंगाले लागेर एकजना घाइतेसमेत भएका छन्। वनमा आगो लगाउने दुई जनालाई कानुनी कारबाही गरिएको पनि सूचना अधिकारी पौडेलले जानकारी दिए।
यसैगरी पाल्पामा सात सय २६ हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ। वन निर्देशनालयले सोमबार तयार पारेको तथ्यांकअनुसार पाल्पामा ६५ स्थानमा डढेलो लागेको र आगलागीमा परी एक जनाको मृत्युसमेत भएको छ। आगलागीमा परी केही दिनअघि पाल्पाको रिब्दीकोटका टेकबहादुर सुर्तुंगे मगरको मृत्यु भएको निर्देशनालयका सूचना अधिकारी पौडेलले जानकारी दिए। यसैगरी आगो निभाउने क्रममा एकजना घाइते भएका छन् भने एउटा गोठसमेत जल्नुका साथै सयौं बोटबिरुवा जलेर नष्ट भएका छन्। यसैगरी दाङ (देउखुरी डिभिजनअन्तर्गतको क्षेत्र) मा तीन सय ९४ हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ। १५ स्थानमा भएको आगलागीबाट बोटबिरुवामा सामान्य क्षति भएको निर्देशनालयले उल्लेख गरेको छ।
यसैगरी नवलपरासीमा दुई सय ५० हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ। २० स्थानमा भएको आगलागीबाट साना बोटबिरुवा जलेर नष्ट भएका छन्। दाङ (दाङ डिभिजनअन्तर्गतको वन क्षेत्र) मा एक सय ५९ हेक्टर वन क्षेत्रमा आगलागी भएको छ। नौ स्थानमा भएको आगलागीबाट पाँच हजार बिरुवा जलेर नष्ट भएको वन निर्देशनालयका सूचना अधिकारी पौडेलले जानकारी दिए। आगाबाट एउटा गोठ र तीन वटा परालका टौवासमेत जलेका छन्। अर्घाखाँचीमा एक सय १२ हेक्टर वन क्षेत्र डढेलोबाट सखाप बनेको छ। १६ स्थानमा लागेको आगोबाट बोटबिरुवा जलेर नष्ट भएका छन्। रूपन्देहीमा एक सय १० हेक्टर वन क्षेत्रमा आगलागी भएको छ। निर्देशनालयका अनुसार १८ स्थानमा भएको आगलागीबाट एक हजार सात सय बोटबिरुवा जलेर नष्ट भएका छन्।
यस्तै गुल्मीका ११ स्थानमा भएको आगलागीबाट ५७ हेक्टर वन क्षेत्र नासिएको छ। आगलागी भएको स्थानमा बोटबिरुवा जलेर नष्ट भएका छन् भने तीन वटा घरगोठसमेत जलेका छन्। कपिलवस्तु (गौतम बुद्ध डिभिजन वन क्षेत्र) मा ७० हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ। नौ स्थानमा भएको आगलागीबाट तीन घर र दुई गोठ जलेका छन् भने बोटबिरुवासमेत नष्ट भएको वन निर्देशनालयले जनाएको छ। कपिलवस्तु (कपिलवस्तु डिभिजनको क्षेत्र) मा ६२ दशमलव ७५ हेक्टर वन क्षेत्रमा डढेलो लाग्दा बोटविरुवा जलेर नष्ट भएका छन्। यहाँ अहिलेसम्म पाँच स्थानमा आगलागी भएको निर्देशनालयले जनाएको छ।
यसैगरी बर्दियामा ३९ दशमलव ५ हेक्टर वनक्षेत्रमा आगलागी भएको छ। पाँच स्थानमा भएको आगलागीबाट यो जिल्लामा पनि साना बिरुवा जलेर नष्ट भएको निर्देशनालयको तथ्यांकले देखाएको छ। बाँकेमा ६ स्थानमा लागेको आगोले २५ हेक्टर वन क्षेत्र सखाप भएको छ। यहाँ पनि आगलागीबाट बोटबिरुवा जलेका छन्। रोल्पामा ३९ हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ भने डढेलोले सयौं बोटबिरुवा जलेका छन्। यो जिल्लामा अहिलेसम्म ६ स्थानमा आगलागी भएको छ। प्युठानमा १५ हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ। दुई स्थानमा भएको आगलागीबाट एक घर र एक गोठ जल्नुका साथै एक जना घाइतेसमेत भएका छन्। यहाँ पनि साना बोटबिरुवा जलेर नष्ट भएको प्रदेश वन निर्देशनालयले जनाएको छ।
निर्देशनालयका अनुसार वनमा आगलागी हुनुको प्रमुख कारण मानवीय त्रुटि देखिन्छ। चोरीसिकार गर्नेहरूबाट वन क्षेत्रमा बढी आगलागी हुने गरेको वन निर्देशनालयका सूचना अधिकारी पौडेलले जानकारी दिए। ‘मूलत: जंगलमा चोरीसिकार गर्नेहरूले आगो बाल्ने र त्यहीँबाट वनमा फैलिने गरेको पाइन्छ,’ सूचना अधिकारी पौडेलले भने, ‘आगलागीको प्रमुख कारण भनेकै मानवमा चेतको विकास नहुनु नै हो।’ यसैगरी कतिपयले घाँस पलाउने भन्दै जानीजानी वनमा आगो लगाउने गरेको समेत पाइन्छ। ‘कतिपयले वनमा आगो लगायो भने हरियो घाँस पलाउँछ भनेर पनि जानीजानी आगो लगाएको पाइन्छ,’ सूचना अधिकारी पौडेलले भने, ‘वनमा आगो लगाउनुहुँदैन भनेर जतिसुकै सचेतना बढाउन खोजिए पनि परिणामत: परिवर्तन भएको देखिन्न।’
यसैगरी वनमा डढेलो फैलिनुको कारण भनेको सुक्खा याम बढी हुनु हो। पानी परेको खण्डमा वनमा लागेको आगो निभ्ने भएकाले क्षति कम हुने भए पनि पानी नपर्दा आगो नियन्त्रणभन्दा बाहिर गएर ठुलो क्षति निम्तने गरेको पौडेलले बताए। अहिलेसम्मकोे पछिल्लो आगलागीको तथ्यांक गत वर्षको भन्दा बढी नभएको तर पानी नपरेको खण्डमा डढेलो फैलने पनि उनले बताए। ‘अहिलेसम्मको तथ्यांकलाई हेर्ने हो भने यो त्यति भयावह होइन,’ उनले भने, ‘तर पानी परेन भने सुक्खा बढ्यो भने आगो वनमा फैलन्छ, यसले बढी क्षति निम्त्याउँछ।’ विराटनगर संवाददाता विनोद सुवेदीका अनुसार सुक्खायाम सुरु भएसँगै कोसी प्रदेशका विभिन्न जिल्लामा आगलागीका घटना बढ्न थालेका छन्। कोसी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय विस्थापन शाखाका अनुसार पछिल्ला १० दिनमा कोसीका विभिन्न जिल्लामा दुई सय १८ वटा आगलागीका घटना भएका छन्।
सामुदायिक तथा निजी वनहरूमा आगलागी हुने क्रम अत्यधिक बढेको देखिएको छ। डढेलोका कारण कतिपय स्थानका बस्तीहरूसमेत जलेर नष्ट भएको पाइएको छ। यस्तै व्यक्तिका घर, गोठ, गुवालीलगायतमा समेत आगलागी हुने गरेको पाइएको छ। आगलागीबाट भएको क्षतिको पूर्ण विवरण उपलब्ध भइनसके पनि प्रारम्भिक विवरणअनुसार सुक्खा मौसम सुरु भएसँगै भौतिक सम्पत्तिको ठुलो क्षति भइरहेको देखिन्छ। विगत १० दिनको तथ्यांक हेर्दा कोसीमा चैत २२ गते सबैभन्दा बढी ३७ वटा आगलागीका घटना भएका छन्। यस्तै चैत २३ गते ३५, २१ गते २९ वटा, २७ गते २७ वटा यस्ता घटना भएका छन्।
आगलागीका घटनामा परेर विगत एक वर्षमा कोसी प्रदेशमा मात्रै १० जनाको मृत्यु भइसकेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तथ्यांकमा उल्लेख छ। गत वर्षको चैत १५ देखि चालु आर्थिक वर्षको चैत १५ सम्मको जिल्लागत तथ्यांक हेर्दा कोसीको मोरङमा दुई सय ६६ वटा आगलागीका घटना भएका छन्। त्यस्तै सुनसरीमा एक सय ९३, झापामा एक सय ५९ वटा आगलागीका घटना भएका छन्। यस्ता घटना उदयपुरमा ७२, खोटाङमा ५८, भोजपुरमा ५२, इलाममा ५०, सोलुखुम्बुमा ४३ र संखुवासभामा ४३ वटा भएका छन्।
यसैगरी आगलागीका घटना धनकुटा, ओखलढुंगा र पाँचथरमा ३८/३८ वटा भएका छन्। कोसीअन्तर्गत ताप्लेजुङ जिल्लामा सबैभन्दा कम २६ वटा र तेह्रथुममा २७ वटा आगलागीका घटना भएका छन्। प्रदेश सरकारको तथ्यांकअनुसार कोसी प्रदेशमा कुल विपद्का घटनामध्ये सबैभन्दा बढी आगलागीकै देखिएका छन्। २०८० सालमा कोसी प्रदेशमा विपद्का घटनामध्ये ७२ प्रतिशत आगलागीका छन्। यस्तै २०८१ को चैत १५ सम्म कुल विपद्का घटनामध्ये ५७ प्रतिशत आगलागीका छन्।
प्रदेशका विभिन्न स्थानबाट आगलागी भएका सूचनाहरू मन्त्रालयमा आइरहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता कमलबहादुर थापाले जानकारी दिए। उनका अनुसार प्रदेश स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले जिल्ला विपद् व्यवस्थापन समितिहरूलाई आगलागीका घटना नियन्त्रणका लागि कार्ययोजना बनाएर निर्देशनसमेत दिइसकेको थापाले बताए। उनले भने, ‘प्रदेशमा आगलागीका घटना धेरै देखिएकाले त्यसको न्यूनीकरणका लागि कार्ययोजना बनाएर जिल्ला विपद् व्यवस्थापन समितिहरूलाई निर्देशन दिएका छौँ।’
सुक्खा मौसम र विद्युत् सर्ट आगलागी हुनुका मुख्य कारण देखिएको थापाले जानकारी दिए। वन डढेलो र आगलागीका कारण वायु प्रदूषण पनि बढेको थापाले बताए। वनमा डढेलो मानवीय हेलचक्र्याइँका कारण मात्रै नभई कतिपय ठाउँमा जानीजानी पनि डढेलो लगाउने गरेको पाइएको थापाले बताए। आगलागी नियन्त्रणका लागि प्रदेश सरकारले जनचेतनामूलक सामग्रीहरू सञ्चारमाध्यमबाट प्रसारण गरिरहेको थापाले बताए। आगलागी नियन्त्रण र पीडितहरूलाई राहत वितरणको काम पनि प्रदेश सरकारले गरिरहेको थापाले जानकारी दिए।
राससका अनुसार चितवनको वन क्षेत्रमध्ये पाँच हजार चार सय २० हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ। डिभिजन वन कार्यालयको क्षेत्र, चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती वन क्षेत्रमा उक्त डढेलो लागेको हो। डिभिजन वन कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार यस कार्यालय मातहतमा चार हजार दुई सय २० हेक्टर वनमा डढेलो लागेको छ। वनको मातहतमा रहेको करिब ५७ हजार हेक्टर वनमध्ये सो क्षेत्रफलमा डढेलो लागेको हो। समुदायले वनमा झाडी भयो भनेर डढेलो लगाउने गरेको उनले बताए।
सूचना अधिकारी पौडेलले भने, ‘डढेलो लगाइरहेका छन् तर नियन्त्रणमा आएको छैन।’ डढेलो नियन्त्रणका लागि सचेतना जगाउने काम भइरहे पनि अझै डढेलो लगाउने चलनमा कमी आउन नसकेको उनले बताए। वन क्षेत्रमा लगाइएको डढेलोका कारण वन्यजन्तुलाई समेत असर पारेको उनले बताए। निकुञ्ज र मध्यवर्ती क्षेत्रमा एक हजार दुई सय हेक्टरभन्दा बढी क्षेत्रमा डढेलो लागेको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए। उनका अनुसार निकुञ्ज क्षेत्रमा आठ सय हेक्टर र मध्यवर्ती क्षेत्रमा चार सय हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ। डढेलो लागेको सूचना आएलगत्तै निकुञ्ज र नेपाली सेनाको टोलीले आगो निभाउने काम गरे पनि दाउराघाँस काट्न जाने समुदायले आगो लगाउने गर्दा समस्या हुने गरेको उनले बताए।
प्रकाशित: २६ चैत्र २०८१ ०६:३३ मंगलबार