उत्तरी गोरखाको चुम्चेत, चुम्लिङ, सिप्चेतलगायतका हिमाली गाउँहरू लघुजलविद्युत् आयोजना मर्मत भएसँगै पुनः उज्यालो बनेका छन्। पहिरोले गाउँको लघुजलविद्युत् आयोजना बगाएपछि चुमनुब्री गाउँपालिका–६ का चुम्चेत, चुम्लिङ, सिप्चेत, खारोङ, ताज्यू, डुम्जे, रेञ्जम, घो, यार्चो र खारगुम्बा बस्तीका करिब २०५ घरधुरीका बासिन्दा गत भदौदेखि दाउराको उज्यालोमा जीवन बिताउन बाध्य थिए।
स्थानीय लोप्साङ धार्के लामाले गाउँमा बिजुली नहुँदा अन्धकारमा बस्नुपरेको बताए। “गत साउन १२ गतेको पहिरोले चुम्लिङ, चुम्चेत लघुजलविद्युत् आयोजना बगायो। त्यतिबेला गाउँले मिलेर अस्थायी मर्मत गरी बिजुली बालेका थियौँ। तर, भदौमा आएको अर्को पहिरोले फेरि आयोजना बगायो,” उनले भने, “भदौयता बीचबीचमा अस्थायी रूपमा बिजुली आए पनि नियमित थिएन। अहिले मर्मत सम्पन्न भएर एक हप्तादेखि नियमित बिजुली बलेको छ।”
चुमनुब्री–६ का वडाध्यक्ष सरोज लामाले बिजुली नहुँदा बत्ती मात्र नभई दैनिक छाक टार्ने अन्न कुटानी-पिसानीमा समेत समस्या भएको बताए। “अहिले बिजुली बलेपछि तोरी, मकै, गहुँलगायत खाद्यन्न कुटानी-पिसानी गर्न गाउँलेलाई सहज भएको छ,” उनले भने। उनले थपे, “यहाँ रुख खासै पाइँदैनन्। बिजुली नहुँदा दाउरा बालेर बस्नुपर्थ्यो, जसले अलिअलि भएका रुख पनि फँडानी भए।”
यी गाउँमा केन्द्रीय प्रसारणको बिजुली पुगेको छैन। गाउँलेले विसं २०७९ जेठ १५ मा निर्माण सम्पन्न भएको ७५ किलोवाटको चुम्चेत, चुम्लिङ जलविद्युत् आयोजनाको बत्ती प्रयोग गर्दै आएका थिए। तर, गत भदौमा चुम्चेत खोला (ताम्जाखोला) मा आएको पहिरोले आयोजनाको मुहान, कुलो र ट्याङ्की सबै बगायो। आयोजनाका अध्यक्ष गोपाल लामाले पहिरोले करिब एक करोड रुपैयाँ बराबरको क्षति पुर्याएको बताए।
कादुरी एग्रिकल्चरल एड एशोसिएशन ब्रिटिस गोर्खाले निर्माण गरेको यो आयोजना भत्किएपछि गाउँहरू अन्धकारमा डुबेका थिए। “साउनको पहिरोले खासै क्षति गरेको थिएन, त्यतिबेला सामान्य मर्मत गरेर बिजुली बालेका थियौँ,” अध्यक्ष लामाले भने, “तर भदौको पहिरोले आयोजना पूरै बगायो। अहिले पूर्ण मर्मतपछि झन्डै एक हप्तादेखि नियमित बिजुली वितरण भइरहेको छ।” उनका अनुसार भदौयता बीचबीचमा अस्थायी रूपमा बिजुली बालिएको थियो। कादुरी संस्थाले नै मर्मत गरेर गाउँलाई पुनः झिलिमिली बनाएको उनले बताए। रासस
प्रकाशित: २५ चैत्र २०८१ ११:०६ सोमबार