राष्ट्रिय मानव अधिकार आयोगले यही चैत १५ गते काठमाडौँको तीनकुनेलगायतका स्थानमा घटेको घटनाको छानबिन जारी रहेको जनाएको छ।
आयोगले विभिन्न टोली बनाई घटनाको अनुगमन गरी तत्काल प्राप्त भएका जानकारीका आधारमा विज्ञप्तिमार्फत आफ्नो प्रारम्भिक धारणासमेत सार्वजनिक गरिसकेको स्पष्ट पारेको छ।
उक्त घटनाका सन्दर्भमा मानव अधिकारको अवस्था र आयोगको भूमिकाका सन्दर्भमा सामाजिक सञ्जाल र केही समाचार माध्यममा आएका टीकाटिप्पणीप्रति आयोगको ध्यानाकर्षण भएको प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिए।
घटना घटेको दिन र त्यसपछि पनि आयोगले क्षति र मानव अधिकारको उल्लंघनका विषयलाई लिएर थप उजुरी र ज्ञापनपत्रसमेत लिएको बताएको छ। घटनाको गाम्भीर्यता र उजुरी समेतलाई मध्यनजगर गरी आयोगले घटना भएकै दिनदेखि अनुसन्धान टोली परिचालन गरी छानबिन/अनुसन्धान गरिरहेको प्रवक्ता पोखरेलको भनाइ छ।
आयोगका सदस्य मनोज दुवाडी सम्मिलित टोलीले नजरबन्दमा राखिएको भनिएका संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई शुक्रबार भेटेको छ। त्यसैगरी प्रहरी हिरासतमा रहेका विभिन्न व्यक्तिको अवस्था र घटनामा परी घाइते भएकाको उपचारको अवस्था बारे पनि टोलीले विभिन्न अस्पतालमा पुगी जानकारी लिएको छ।
आयोगको छानबिन एवं अनुसन्धान कार्यलाई सहयोग पुर्याउनसम्बद्ध सबैलाई आग्रह गरेको प्रवक्ता पोखरेलले उल्लेख गरे।
प्रकाशित: २३ चैत्र २०८१ ०७:३१ शनिबार