मानव अधिकारकर्मी तथा नागरिक समाजका अगुवाहरूले पूर्वराजा ज्ञानेन्द्र शाहले राजगद्दीमा पुनः स्थापित हुन भारतको नेतृत्वसँग पहल गरेको कतैबाट नलुकेको बताएका छन्।
सोमबार (आज) आठ अधिकारकर्मी तथा नागरिक समाजका अगुवाहरूले विज्ञप्ति नै जारी गरेर यस्तो बताएका हुन्।
'ज्ञानेन्द्र शाहले राजगद्दीमा पुनः स्थापित हुन भारतको नेतृत्वसँग पहल गरेको कतैबाट लुकेको छैन,' विज्ञप्तिमा भनिएको छ, 'नयाँ दिल्लीले छिमेकका साना मुलुकमाथि आफ्नो हैकम लाद्न निरन्तर प्रयास गर्दै आएकोमा नेपालमाथि त एक दशकअघि झन्डै ६ महीनाको नाकाबन्दीसमेत लगाएको स्मृतिमा छँदै छ।'
विज्ञप्तिमा नयाँ दिल्लीको संस्थापन नेपालको संविधानसँग बेखुस रहेको र नेपाललाई हिन्दू राष्ट्रतर्फ धकेलेर त्यसको श्रेय भारतीय जनता र मतदातासामु आफूले लिन चाहेको पनि उल्लेख छ।
'यता, उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले भने सार्वजनिक रूपमै राजतन्त्र फर्काउने चाहना व्यक्त गर्दै आएका छन् र ज्ञानेन्द्रको उनीसँग पटक-पटक लखनऊमा भेट भएको छ,' त्यहाँ भनिएको छ।
केही उग्रवाम, दक्षिणपन्थी तथा दर्शनहीन अवसरवादी तप्का पूर्वराजाको साथमा हिँड्न उत्साहित रहेको पनि त्यहाँ उल्लेख गरिएको छ।
विज्ञप्ति जारी गर्नेहरूमा मोहना अन्सारी, राजन कुइँकेल, कनकमणि दीक्षित, दिने त्रिपाठी, रिता परियार, सुशील प्याकुरेल, चरण प्रसाईं र हिरा विश्वकर्मा छन्।
प्रकाशित: ११ चैत्र २०८१ १९:१० सोमबार