भारतको ओडीसा राज्यको भुवनेश्वरस्थित कालिंगा ईन्सिटच्युट अफ ईन्डष्ट्रीयल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयकी छात्रा प्रकृति लम्साललाई मृत्युअघि निर्घात कुटपिट भएको दाबी उनका साथीहरुले गरेका छन् ।
ओडीसाबाट भागेर नेपाल आएका केआईआईटीमा अध्ययरत नेपाली विद्यार्थीहरुले प्रकृतिको शरीरका विभिन्न भागमा चोट देखिएको बताएका हुन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले उनको मृत्यु अपराह्न भएपनि सोअघि नै आरोपित भारतीय युवा अद्भिक श्रीवास्तव भाग्न खोज्नु शंकास्पद भएको बताए ।
होस्टेलको कोठा फुटाएर प्रकृति भएको ठाउँसम्म पुग्दासमेत केटी साथीहरुले श्रीवास्तवसँग भिडियोमा कुराकानी गरिरहनुले पनि उनको मृत्युपछि धेरै कारण रहेको नेपाली विद्यार्थीहरुको दाबी छ ।
पत्रकार सम्मेलनमा उनीहरुले भने, 'ढोका फोडेर दिदीको शवसम्म पुग्दा पनि केही केटीहरुले अद्भिक श्रीवास्तवसँग भिडियोमा कल गरिरहेका थिए । दिदी साँझ मृत भेटिनुभयो तर उसले कसरी दिउँसो नै बाहिर भाग्नका लागि प्लेनको टिकट बुक गर्यो ? यसमा अनुसन्धान हुनु पर्दैन ?'
पाँचजना छात्राहरुसँगै नेपाल आएका एक विद्यार्थीले प्रकृतिको शब, उनको शरीरमा भएको चोट, पासो लगाउनुअघि विष सेवन गरेको कुरा आफूलाई भनेको उल्लेख गरे । दिदीसँगै पढ्ने र होस्टेल बस्ने अन्य नेपाली छात्राहरु मानसिकरुपमा विक्षिप्त रहेको बताउँदै प्रहरीलाई खबर नगरी होस्टेलका वार्डेनसहित मिलेर गोप्य बाटोहुँदै प्रकृतिलाई आफ्नै अस्पताल किम्स लगेर उपचारको बहाना गर्नु शंकास्पद भएको दाबी गरे ।
उनले भने, 'ठ्याक्कै भन्न त म सक्दिँन तर ढोका फुटाएर भित्र छिर्दा प्रकृति दिदी जिउँदै हुनुहुन्थ्यो रे । दिदीलाई उपचारका लागि लैजान छाडेर वार्डेनहरुले भिडियो बनाउन थाले । डोरी खोल्न दिएनन् । पछि त्यहाँ उपस्थित सबैलाई आआफ्नो कोठामा पठाएर, होस्टेलभरी धुँवा लगाएर मात्र दिदीको पासो खोलेर चोर बाटो हुँदै आफ्नै अस्पताल लगियो । सफा नियत थियो भने त प्रहरीलाई बोलाइन्थ्यो होला नि ? घटना लुकाउन वार्डेनहरु माहिर देखिए ।'
प्रकृतिलाई अस्पताल लैजानेक्रममा अर्की नेपाली दिदी जबरजस्ती सँगै गएको र एम्बुलेन्समा बसेका समय उनले प्रकृतिको शरीरभरी चोट देखेको ती विद्यार्थीको भनाइ छ । प्रकृतिमाथि मानसिक तनाव उच्च रहेको दाबी गर्दै उनले डिसेम्बरमा केटासाथीसँगको सम्बन्ध टुटेपनि अद्भिक श्रीवास्तवले लगातार ब्लाकमेल गर्ने गरेको बताए ।
प्रकाशित: ९ फाल्गुन २०८१ १६:१७ शुक्रबार