१४ माघ २०८१ सोमबार
image/svg+xml
समाज

पाथीभरा झडप : तीन घाइतेलाई थप उपचारका लागि विराटनगरबाट काठमाडौँ लैजाने तयारी

पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध गरिरहेको समूह र सुरक्षाकर्मीबीच भएको झडपका क्रममा घाइते भएका तीन जनालाई थप उपचारका लागि संघीय राजधानी लगिने भएको छ।

केबलकार निर्माणको विरोध गरिरहेको समूहका घाइतेलाई हेलिकोप्टरमार्फत बिएण्डबि हस्पिटल लगिने पहिचानवादी नेता सरु सिंघकले जानकारी दिइन्। घाइतेको अहिले विराटनगरस्थित नोवेल अस्पतालमा उपचार भइरहेको छ। 

ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) रवि रावलले विराटनगरबाट हेलिकोप्टरमार्फत काठमाडौँ लैजाने गृहकार्य भइरहेको जानकारी आफूलाई प्राप्त भएको बताए। ‘यहाँबाट सिडिओ साबले समेत समन्वय गरिरहनु भएको छ, विराटनगरबाटै प्रशासनिक समन्वय हुन्छ,’ रावलले भने।

घाइते याम लिम्बू, सगुन लावती र धर्मान पालुङ्वालाई काठमाडौँ लैजाने तयारी रहेको छ। पाथीभरा क्षेत्रको बलुडाँडामा शनिबार अपरान्ह र साँझ गरी केबलकार निर्माणको विरोध गरिरहेको समूह र सुरक्षाकर्मीबीच झडप भएको थियो। सो क्रममा गम्भीर भएका तीन जनालाई थप उपचारका लागि शनिबार राति नै विराटनगरतर्फ पठाइएको थियो।

सुरक्षाकर्मीले चलाएको गोली लागि ‘नो केबलकार पक्षधर’ गम्भीर घाइते भएको मुक्कुमलुङ संघर्ष समितिका संयोजक श्री लिङखिमले बताए। जिल्ला प्रहरी प्रमुख रावलले झडपका क्रममा घाइते नेपाल प्रहरीका ३ र सशस्त्र प्रहरीका ४ गरी ७ जना सुरक्षाकर्मीको ताप्लेजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको जानकारी दिए।

झडपका क्रममा दुवै पक्षका गरी करिब २५ जना घाइते भएको जिल्लास्थित सुरक्षा स्रोतले जनाएको छ।

प्रकाशित: १३ माघ २०८१ ११:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App