समृद्ध दैलेखको लागि गुरुयोजना निर्माण गरिने भएको छ। जिल्ला समन्वय समितिको अगुवाईमा शनिबार आम भेला गरी गुरुयोजना निर्माणबारे छलफल चलाइएको हो।
गुरुयोजनाका लागि दैलेखबाट प्रतिनिधित्व गर्ने वर्तमान र पूर्व मन्त्री, पूर्व र वर्तमान संघीय सांसद, पूर्व र वर्तमान प्रदेश सांसद्, मन्त्री, जिल्लामा क्रियाशील राजनीतिक दल, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र विकास निर्माणसम्बद्ध कार्यालय प्रमुख लगायतको सहभागितामा बृहत् छलफल गरिएको छ।
जिल्लाको आर्थिक, सामाजिक र पूर्वाधार विकास गर्न, तत्कालीन, मध्यकालीन र दीर्घकालीन विकास योजना तथा कार्यक्रमको पहिचान र प्राथमिकता दिन गुरुयोजनाले महŒवपूर्ण भूमिका खेल्ने जनाइएको छ।
गुरुयोजनामा जिल्ला अस्पताललाई आगामी १५ वर्षमा दुई सय शैयामा सञ्चालन गर्नेदेखि मेडिकल कलेज खोल्नेसम्म रहेका छन्। शिक्षामा लोपोन्मुख राउटे समुदायको मातृ भाषा संरक्षण, उनीहरूका लागि विद्यालय सञ्चालनदेखि सबै पालिकाहरूमा पाँच वर्षभित्र क्याम्पस स्थापना गरी सक्नेसम्म रहेको छ।
त्यस्तै खानेपानीका बृहत् योजना, कृषि, पर्यटन, उद्योग, शहरी विकासदेखि सडक यातायातसम्मका दर्जनौं गुरुयोजनाहरू समावेश गरिएको छ।
जिल्लाभित्रदेखि अन्तरजिल्लासम्मका सडक योजना गुरुयोजनामा राखिएका छन्। १५ वर्षभित्र सम्पन्न गर्नेगरी समृद्ध दैलेख गुरुयोजनाको खाका तयार पारिएको छ। योजनामाथि शनिबार बृहत् छलफल भएको छ।
गुरुयोजना कार्यान्वयन निर्देशन समितिको परिकल्पनासमेत गरिएको छ। समृद्ध दैलेखको गुरुयोजनाबारे बृहत् जनप्रतिनिधि, राजनितिक दल, विकाससँग सम्बन्धित निकायहरूबीच राम्रो छलफल भएको दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए।
प्रकाशित: १४ माघ २०८१ ०९:२४ सोमबार