कुनै पनि सामाजिक संघसंस्थामा राम्रो काम गरेपछि दुई/चार पटक समाजले नै उसैलाई पुनः नेतृत्व दोहोर्याउन बाध्य पार्छ। राम्रो गर्दागर्दै अर्कोले नेतृत्व लिन खोजे समाजमा विरोध उठ्छ। राम्रो काम गरिरहेकालाई नै अगाडि सारिन्छ। हो, त्यसैगरी समाजलाई राम्रो बाटोमा डोर्याएको भन्दै धनगढीमा ३० औँ पटक पनि थारू समुदायले 'भलमन्सा' को बागडोर सरोज चौधरीलाई नै सुम्पेका छन्।
धनगढी उपमहानगरपालिका वडा नम्बर ८, धनगढी गाउँस्थित थारू बस्तीमा २९ वर्षदेखि भलमन्सा दोहोर्याउँदै आएका सरोज चौधरीलाई थारू समाजले भलमन्साको बागडोर सम्हाल्नका लागि ३० औँ पटक पनि नेतृत्वदायी भूमिकामै छोडिदिएका छन्। २०५२ सालदेखि लगाता रूपमा हरेक माघीमा हुने भलमन्सा छनोटमा थारू समाजले उनलाई नै दोहोर्याउँदै आएको छ।
गाउँभरिको छलफलले सरोजलाई नै यसपटक पनि भलमन्साको नेतृत्व दिएको थारू समाजसेवी सूर्यप्रसाद चौधरीले बताए। उनले भने, ‘सरोजले विगत २९ वर्षदेखि नै समाजलाई सकारात्मक दिशातिर डोर्याएकै कारण यो बेला पनि ३० औँ पटक उहाँलाई नै समाजले भलमन्साको जिम्मेवारी दिएको हो।’ सरोजले राम्रै काम गरेकाले उनको विरुद्धमा भलमन्साको उम्मेदवारी कसैले दिनै नचाहेको उनी बताउँछन्। ‘राम्रो काम गरिरहेको मान्छेलाई कसले हटाउँछ र?’ उनले भने, ‘त्यसैले विगत ३० वर्षदेखि नै धनगढी गाउँको थारू समाजले उहाँलाई नै भलमन्सामा दोहोर्याउँदै र स्वीकार्दै आएका छौँ।’
सरोजले प्रशासनदेखि गाउँसम्मको सहजीकरण राम्रो गर्नुका साथै कसैलाई पनि पीरमर्का र अन्याय नपर्ने गरी काम गरिरहेकाले समाज उनीविरुद्ध नजाने गरेको उनले बताए।
आफूलाई यस वर्ष ३० औँ पटक पनि भलमन्साको जिम्मेवारी समाजले दिएको बताउँदै भलमन्सा सरोजले भने, ‘मलाई विगत ३० वर्षदेखि नै लगातार समाजले भलमन्साको जिम्मेवारी दिएको छ। छोड्छुभन्दा पनि थारू समाजले मान्दैन।’ थारू समुदायमा भलमन्सा र चौकीदारलाई काम गरेवापत वार्षिक रूपमा धान, गहुँ तथा अन्नपात संकलन गरेर दिने प्रचलन छ। तर, भलमन्सा भएदेखि नै विगत ३० वर्षदेखि सरोजले समाजबाट कुनै अन्नपात संकलन गरेर लिएका छैनन्।
उनले निःशुल्क रूपमा भलमन्साको जिम्मेवारी बहन गरेको बताए। उनले भने, ‘मैले ३० वर्षदेखि भलमन्सा भएवापत कुनै कर लिएको छैन, निःशुल्क रूपमा समाजका लागि काम गर्दै आएको छु।’ गाउँ समाजको नेतृत्वको जिम्मेवारी पाएपछि भलमन्साले विकास निर्माण, आपसी मेलमिलाप, सरोकारवालासँग समन्वय लगायतको काममा प्रभावकारी भूमिका निर्वाह गर्ने गर्दछ। पदमा बसेर काम गर्न नसक्नेलाई पदमुक्त गरेर अर्को व्यक्तिलाई भलमन्साको जिम्मेवारी दिइने गरिन्छ भने कतै स्वइच्छाले छाडेमा पनि जिम्मेवारी अर्कोलाई सुम्पिने गरिन्छ। तर, आफूले भने छाड्छुभन्दा पनि समाजले छाड्न नदिने गरेको उनले बताए।
थारू गाउँमा भलमन्साले गाउँको बिहे, मर्दापर्दा तथा विवाद हुँदा अगाडि सरेर समस्या सुल्झाउने काम गर्छन्। गाउँमा अंश बण्डाको झैझगडा भएमा पनि समस्याको समाधानमा भलमन्साको ‘आखिरी बोली’ नै रहन्छ। थारू बस्तीको न्यायमूर्तिकै रूपमा भलमन्सालाई लिइने गरिन्छ। भलमन्साले कसैलाई पाखा र कसैलाई काखा गर्दैनन् भन्ने रही आएको विश्वासलाई नै आफूले विगत ३० वर्षदेखि जोगाउँदै आएको सरोज बताउँछन्।
गाउँको संरक्षण गर्ने, विकास निर्माणका काम गर्ने, कुलोपानी, बिजुली बत्तीको व्यवस्था गर्ने, गाउँघरमा आइपर्ने दुःख सुखमा सामूहिक रूपमा सहयोग गर्ने गराउने जस्ता काममा भलमन्सा नै अगाडि सर्नुपर्ने हुन्छ। भलमन्साको आदेशमा गाउँका विभिन्न काम गर्न जानुपर्ने कामलाई ‘बेगारी’ जाने भनिन्छ। गाउँको विकास निर्माणमा भने पहिले पहिले निःशुल्क रूपमा काम गर्ने गरिन्थ्यो।
यस्तै सरोजसँगै यस पटक पनि ‘चौकिदार’ का रूपमा ४ औँ पटक कन्हैयालाल चौधरीले जिम्मेवारी पाएका छन्। उनलाई समाजले चौथो वर्षका लागि गाउँको चौकीदारका रूपमा जिम्मेवारी दिएको हो। गाउँठाउँमा कुनै कामका लागि भेला बोलाउनुपरेमा गाउँका मान्छेलाई बोलाउने तथा जम्मा पार्ने काम ‘अघरिया’ ले भलमन्साको सहायकको रूपमा काम गर्ने गर्दछन्।
प्रकाशित: ९ माघ २०८१ ०९:३० बुधबार