१६ फाल्गुन २०८१ शुक्रबार
image/svg+xml २:४७ पूर्वाह्न
राजनीति

माओवादीमा थपिँदै गुट, दबाबमा दाहाल

अध्यक्ष पुष्पकमल दाहाल डा. बाबुराम भट्टराई, मोहन वैद्य, रामबहादुर थापाहरू पार्टी छाडेर हिँडेपछि माओवादी केन्द्रमा कुनै गुट नै नभएको बताउँथे। तर, पार्टीको विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) को निर्वाचनसम्म आइपुग्दा भने अवस्था ठीक उल्टो देखियो, माओवादीमा नेतैपिच्छेका गुट बन्न थालेका छन् । 

यो कुरा माओवादी उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटा नै स्वीकार्छन्। गत मङ्गलबार काठमाडौंमा आयोजित प्रेस सेन्टर नेपालको बैठकलाई सम्बोधन गर्दै उनले भने, 'विद्यार्थी निर्वाचनसम्म आइपुग्दा पार्टीभित्र स्पष्ट गुटगत स्वार्थ देखियो।'

हुन पनि गुट हाबी नभएको भए क्रान्तिकारीले झन्डै चार महिनाअगावै नेतृत्व पाइसकेको हुन्थ्यो। तर, गुट हाबी भएपछि हेडक्वार्टर (अध्यक्ष पुष्पकमल दाहाल) ले नै प्रक्रिया रोके।

नेतृत्व चुन्नका लागि क्रान्तिकारीको २३औं सम्मेलन गत असोज १० गते सुरु भएको थियो। तर, त्यो सम्मेलन सङ्गठनभित्र ३२ वर्षे उमेरहद लागू गर्ने बहससम्म मात्रै पुग्यो। अन्तत: सङ्गठनमा ३२ वर्षे उमेरहद लागू भयो। यसपछि अघिल्लो समितिका अध्यक्ष, उपाध्यक्ष र महासचिवसम्मका विद्यार्थी नेताहरू स्वत: बाहिरिए। त्यसपछि नेतृत्वका लागि अघिल्लो समितिका उपमहासचिव र सचिवहरू अगाडि आए।

अहिले अध्यक्ष निर्वाचित भएका विजयप्रकाश सापकोटा अघिल्लो समितिका सचिव हुन्। र, उनी नयाँ गुटबाट निर्वाचित भएका हुन्। जुन गुटलाई हेडक्वार्टरकै समर्थन प्राप्त थियो।

माओवादी उपमहासचिव शक्ति बस्नेतको नाममा थपिएको नयाँ गुटलाई इन्चार्ज हिमाल शर्मा, अघिल्लो समितिकी अध्यक्ष पञ्चा सिंहलगायतको समर्थनसमेत प्राप्त थियो। हेडक्वार्टरकै चाहनामा बनेको यो गुटलाई उपाध्यक्ष अग्निप्रसाद सापकोटालगायतका नेताहरूको गुटले पनि स्वत:स्फूर्तरूपमा समर्थन जनाएका थिए।

पुष्पकमल दाहाल।

यो गुट थपिएसँगै माओवादीमा स्पष्ट रूपमा चारवटा गुट सक्रिय हुन पुगेका छन्। वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तथा उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनका गुट पार्टीभित्र यसअघि नै सक्रिय अवस्थामा थिए।

यी सबै गुटहरूले क्रान्तिकारीको निर्वाचनमा उम्मेदवार खडा गरेका थिए। नारायणकाजी श्रेष्ठ गुटले उपदेश यादव र उपमहासचिवद्वय जनार्दन शर्मा गुट र वर्मान पुन गुटले क्रमश: हेमन्त राई र सुदिन पौडेललाई अध्यक्षको उम्मेदवार बनाएका थिए।

तर, अध्यक्षमा भने नयाँ गुटकै विजयप्रकाश सापकोटा निर्वाचित भए। उनले जनार्दन शर्मा गुटका उम्मेदवार हेमन्त राईले भन्दा ७३ मत बढी मत ल्याए। नारायणकाजी श्रेष्ठ गुटका उम्मेदवार उपदेश यादव तेस्रो हुँदा वर्षमान पुन गुटका उम्मेदवार सुदिन पौडेल भने चौथोमा खुम्चिए। जबकि, ३२ वर्षे उमेर हदको प्रमुख वकालतकर्ता उनै सुदिन पौडेल थिए। त्यसबेला उनले हेडक्वार्टरको आश्वासन पाएका थिए तर, पछि अवस्था उनको बसमा रहेन।  

बलियो जनार्दन, कमजोर वर्षमान 

माओवादीले पार्टीका प्राय: कमिटी/समितिहरूमा सर्वसम्मत रूपमै नेतृत्व छान्ने प्रयास गर्दछ।

क्रान्तिकारीको अध्यक्ष निर्वाचनमार्फत आएको पनि यो बल्ल दोस्रोपटक हो। पहिलोपटक रञ्जित तामाङ निर्वाचनमार्फत आएका थिए। त्यसपछि विजयप्रकाश सापकोटा नै हुन्। त्यसबाहेक सबै अध्यक्षहरू हेडक्वार्टरले नै चुन्दै आएको थियो। 

तर, उपमहासचिव जनार्दन शर्माले भने पार्टीका हरेक कमिटी/समितिहरू निर्वाचित भएर नै आउनुपर्ने पक्षको वकालत गर्दै आएका छन्। यसअघि उनले पार्टीमा यही व्यहोराको प्रस्तावसमेत पेस गरेका छन्।

यो पनि पढ्नुहोस्

अखिल(क्रान्तिकारी) चुनाव: प्रभाकारको प्रचण्ड प्रहार!

गत पुस २१ गतेको केन्द्रीय समिति बैठकमा पनि उनले अध्यक्ष पुष्पकमल दाहाललाई 'निर्वाचित भएर आउन किन डराएको...?'भनेर प्रश्नसमेत गरेका थिए। 

जनार्दन शर्मा र वर्षमान पुन।

क्रान्तिकारीको सन्दर्भमा पनि उनले नै जिते। र, निर्वाचन भयो। तर, अध्यक्ष हातमा परेन। ७१ मतको झिनो मतान्तरले यो पक्षका उम्मेदवार हेमन्त राई पराजित हुन पुगे। तर, अध्यक्ष गुमाए पनि नवनिर्वाचित समितिमा जनार्दन शर्माको पल्लाभारी छ। नवनिर्वाचित समितिमा ९ मध्ये ५ उपाध्यक्ष, महासचिव, ९ मध्ये ७ उपमहासचिव र ११ मध्ये ६ सचिव र कोषाध्यक्ष पनि जनार्दन शर्मा गुटले नै जितेको छ।

यसरी हेर्दा माओवादीमा जनार्दन शर्मा बलियो बन्न पुगेका छन्। वर्षमान भने कमजोर देखिएका छन्। कुनै बेला ३५ भन्दा बढी जिल्लामा पार्टीको नेतृत्व उनी पक्षीय नेताहरूले गरेका छन् भनिन्थ्यो। तर, अहिले आएर भने उनी विद्यार्थीमा समेत कमजोर बन्न पुगेका छन्।

पहिलोपटक निर्वाचनमार्फत क्रान्तिकारी अध्यक्ष बनेका रञ्जित तामाङ वर्षमान पुन पक्षीय थिए। त्यसपछि हेडक्वार्टरले नै जनार्दन शर्मा पक्षीय पञ्चा सिंहलाई अध्यक्ष बनायो। 

गुट बन्न नहुने भन्दै फेरि 'गुट'

शक्ति बस्नेतको नाममा बनेको नयाँ गुट हेडक्वार्टरकै चाहनामा बनेको गुट हो। गुट बन्न नहुने भन्दै हेडक्वार्टरले अरु गुटको मुकाबिलाका लागि फेरि नयाँ गुट बनाएको हो।

शक्ति बस्नेत।

माओवादीका एक नेताका अनुसार यसपटकको क्रान्तिकारी निर्वाचनमा हेडक्वार्टरले कुनै गुट विशेषको भन्दा समग्रतमा पार्टीकै हुनेगरी अध्यक्ष चुन्न प्रयास गरेको हो। अध्यक्षका रूपमा एकले अर्कोलाई स्वीकार्नसमेत सकस देखेपछि 'तेस्रो निर्णय'अनुरूप यसो गरिएको ती नेताको भनाइ छ। 'गुट विशेषबाट भन्दा समग्रमा पार्टीकै हुनुपर्छ भन्नेमा ध्यान रह्यो,' ती नेता भन्छन्, 'यसपछि यसो गरिएको हो।' 

यो पनि पढ्नुहोस्

माओवादीमा बन्यो 'शक्ति गुट'

त्यसो त यसअघि मातृपार्टीको सन्दर्भमा पनि यसै गरिएको थियो। पार्टी महासचिव को हुने भन्ने विषयले माओवादीभित्र ठूलै खैलाबैला मच्चिएको थियो। जनार्दन शर्मा र वर्षमान पुनबीच यसमा लामै सङ्घर्षसमेत चलेको थियो। शर्मा र पुनले महासचिवका रूपमा आपसको 'अस्तित्व' नै नस्वीकार्ने अवस्था देखेपछि अध्यक्ष पुष्पकमल दाहालले 'तेस्रो निर्णय'अनुसार एकपटक पार्टी छाडेर पुन: फर्किएका देव गुरुङलाई महासचिव बनाए। यसपछि शर्मा र पुन दुबै उपमहासचिव बने। 

यसपटकको क्रान्तिकारीको निर्वाचनमा पनि पनि यही सूत्र प्रयोग गरिएको नेताहरू बताउँछन्। शक्ति बस्नेतको नाममा बनेको नयाँ गुट हेडक्वार्टरकै चाहना भएको स्रोत बताउँछ।

माओवादीमा चार गुट

शक्ति बस्नेतको नाममा नयाँ गुट बनेसँगै अब माओवादीमा स्पष्ट रूपमा चारवटा गुट सक्रिय हुने भएका छन्। 

शक्ति बस्नेतको नाममा बन्नुअघि नै त्यहाँ नारायणकाजी श्रेष्ठ गुट, जनार्दन शर्मा गुट र वर्षमान पुन गुट थिए। तर, अब भने चारवटा पुगेका छन्।

प्रकारान्तरले माओवादीमा जनार्दन शर्मा गुट र शक्ति बस्नेत (हेडक्वार्टरसमर्थित) गुट रहने विश्लेषणसमेत हुन थालेको छ।

उपाध्यक्ष कृष्णबहादुर महरा, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देव गुरुङलगायतका नेताहरूका गुट भने हेडक्वार्टरकेन्द्रित भइसकेको बताइन्छ।

प्रकाशित: १७ माघ २०८१ १७:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App