दोस्रोपटक नेकपा (एमाले) त्यागेका वामदेव गौतमलाई फेरि एमालेकै मायाले सताइरहेको छ। उनलाई एमाले 'आज नै जाउँ, भोलि नै जाउँ' भएको छ। तर, त्यसका अध्यक्ष केपी शर्मा ओलीले उनलाई उतिसाह्रो 'भाउ' दिएका छैनन्।
नेकपा (एकीकृत समाजवादी)ले समेत गौतमलाई अब पत्याउला जस्तो छैन! पार्टी एकताको प्रक्रियालाई बिचमै छाडेर हिँडेको भन्दै एकीकृत समाजवादीले अब कुनै सर्त बिना नभित्र्याउने बताइसकेको अवस्था छ।
यस्तो सन्दर्भमा गौतमसँग पछुताएर बस्नुको विकल्प छैन। एमाले र एकीकृत समाजवादी दुबैले नपत्याइदिएपछि अब के गर्ने भन्नेबारे उनले ठोस निर्णय लिनसमेत सकेका छैनन्।
अब के गर्नुहुन्छ ? भन्ने पत्रकारहरूको प्रश्नमा उनले अक्सर 'के गर्ने गर्ने, थाहा नै छैन' भनेर भन्ने गरेका छन्। हक्की स्वभावका उनले निराशासमेत दर्साइहाल्छन्। नागरिकसँग पनि उनले त्यही भने। 'यता न उताको भएँ, अब के गर्ने थाहा छैन,' उनले भने।
थप कुराकानी हेरौँ।
तपाईं एमालेमा जाने कुरा थियो, त्यो के भयो ?
त्यो एमालेलाई नै थाहा होला। एमालेबाट थप कुरा मैले प्राप्त गरेको छैन। उसैलाई सोध्नुस्।
माघ ८ गते बसेको एमालेको सचिवालय बैठकले तपाईंसँग सहकार्य गर्ने भनेर निर्णय नै गरेको थियो त ?
थियो। तर, त्यसयता केही भएको छैन। मलाई केही, कुनै जानकारी आएको छैन।

भनेपछि एमालेले तपाईंलाई भुलाउन मात्रै खोजेको रहेछ है ?
त्यस्तै देखियो।
खै अब एकीकृत समाजवादीले पनि तपाईंलाई पत्याउला जस्तो छैन ?
खै, त्यसबारे थाहा भएन। संवाद होला नि पछि। एमालेसँग बढी संवाद गरेकाले ऊ पनि सन्तुष्ट छैन होला। त्यही त होला नि।
अब एमाले र एकीकृत समाजवादी दुबैले नपत्याए के गर्नुहुन्छ ?
के गर्ने र, आफ्नै पार्टी छ। निर्वाचन आयोगमा दर्ता छँदैछ। त्यसलाई बलियो बनाउने हो। अगाडि बढ्ने हो। नभए खेतीकिसानी गरेर बस्छु, जग्गा लिजमा पाइहालिन्छ, सुर्ता नै छैन नि।
एमालेले नबोलाए तपाईं खेतीकिसानी गर्ने ?
हो, पार्टी साथीहरूलाई जिम्मा लगाएर म खेतीकिसानीमा लाग्छु।
एमालेले बोलायो भनेचाहिँ तपाईं खेतीकिसानीतिर लाग्नुहुन्न ?
एमालेले बोलायो भने अझै केही वर्ष सक्रिय राजनीति गर्छु। जे जिम्मेवारी दिन्छ, निभाउन सक्छु। पहिले पनि मैले भन्दै नै आएको हुँ। पाएको जिम्मेवारी कुनै नेताभन्दा कम गर्दिनँ। मेरो विगत पनि त्यस्तै छ।
भनेपछि तपाईं किसान बन्ने कि नबन्ने भन्ने कुरा एमालेमा भर पर्ने भयो ?
हो।
अनि तपाईंहरूको उद्देश्य त नेकपा एकता हो, माओवादी केन्द्र पनि नेकपा नै हो, तपाईंहरू एउटै पार्टीमा पनि हुनुहुन्थ्यो पहिले, उसँग चाहिँ संवाद गर्नुहुन्न ?
त्यसबारे केही निर्णय गरिसकेका छैनौँ। यद्यपि, पहिले हामीले केही संवाद गरेकै हौँ। केही माओवादीका साथीहरू हाम्रो पार्टीमा पनि हुनुहुन्थ्यो, उहाँहरू माओवादी नै चाहिने भनेर हिँड्नुभयो। त्यसयता थप संवाद भएको छैन। आवश्यकताका आधारमा संवाद गर्छौँ। एमाले, एकीकृत समाजवादी र माओवादी केन्द्र नै मुख्य हुन्। त्यसबाहेक मुद्दा र विचार मिल्ने दलसँग पनि संवाद गर्ने हो। तर, तत्काल सम्भव छैन।
यो पनि पढ्नुहोस्
वामदेव भन्छन्- एमालेले मलाई गम्भीर रूपमा लिएन, यता न उताको भएँ
प्रकाशित: १८ माघ २०८१ १९:५१ शुक्रबार